मन्त्रीहरू काम छाडी उद्‌घाटनमा

१९ चैत्र २०७०, बुधबार ०७:०८ मा प्रकाशित

काठमाडौं, १९ चैत । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई एक कार्यकर्ताको भाइको बिहेको निम्ता आयो । बिहेका लागि मात्रै काठमाडौंबाट दमौलीसम्म जाँदा अप्ठ्यारो हुने भन्दै गौतमले तत्कालै पार्टी कार्यकर्तालाई फोन गरेर कार्यक्रम राख्न लगाए । उनी फागुन २९ गते दिउँसो साढे २ बजे फिस्टेलको हेलिकप्टरबाट दमौली उत्रिए र सीधै बिहेमा सहभागी भए । अनि नाटकीय शैलीमा आयोजित युवा संघ भेलालाई सम्बोधन गरे । त्यसपछि त्यही हेलिकप्टरबाट राजधानी फिरे ।

कार्यक्रममा गौतम सहभागी हुँदासम्म सरकारले मन्त्रीहरूको आचारसंहिता बनाइसकेको थिएन । त्यही भएर मन्त्रीहरूबीच देश दौडाहा र औपचारिक कार्यक्रममा प्रमुख अतिथि बन्ने होडबाजी चलिरहेको थियो । सरकारले त्यही होडलाई रोक्न चैत ४ मा साझा न्यूनतम कार्यक्रमसँगै मन्त्रीका लागि १३ बुँदे अलग्गै आचारसंहिता जारी गर्‍यो । आचारसंहिताको ९ नं. बुँदामा ‘मन्त्रीहरूले अनावश्यक, औचित्यहीन, महँगा भ्रमण नगर्ने तथा कसैबाट महँगा उपहार र आर्थिक लाभ नलिनेु उल्लेख छ । तर सबैजसो मन्त्रीले त्यसको धज्जी उडाइरहेका छन् ।

प्रधानमन्त्री र मन्त्री सरकारको प्रतिनिधित्व अत्यावश्यक हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका कार्यक्रममा मात्र सहभागी हुने आचारसंहिताको मर्म हो । आचारसंहिताविपरीत मन्त्रीहरू जिल्ला भ्रमण र सामान्य कार्यक्रममा सहभागी भइरहेका सम्बन्धमा जिज्ञासा राख्दा कानुनमन्त्री नरहरि आचार्यले प्रतिक्रिया दिन चाहेनन् ।

गौतम मन्त्रालयसँग साइनो नजोडिएका सामान्य कार्यक्रममा सहभागी हुन छाडेका छैनन् । १७ चैतमा उनी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको राजयोग सभाहलु शिलान्यास गर्न बुटवल गए । १६ गते रक्षा नेपालु को दसौं वाषिर्कोत्सवको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनेर समय बिताए । त्यसो त, मन्त्री नियुक्त भएको तीन दिनपछि नै उनी जस्तोसुकै कार्यक्रममा दौडिन थालेका हुन् । मन्त्रीहरूको भ्रमण निर्देशिकामा एक महिनामा बढीमा तीन पटकमात्र जिल्ला जान पाइने व्यवस्था छ ।

संविधान निर्माणको काममा प्रतिकूल प्रभाव पर्ने कुनै गतिविधि नगर्ने, समयमै संविधान निर्माणमा सहयोग पुर्‍याउन रचनात्मक सहयोग गर्नेलगायतका बुँदाहरू भएको आचारसंहितालाई मन्त्रीहरूले ख्याल गरेको देखिन्न । दिनहुँ सामान्य कार्यक्रममा सहभागी भएर प्रधानमन्त्रीदेखि मन्त्रीहरूले समय बिताइरहेका छन् ।

१५ फागुनमा रिपोर्टस् क्लबको स्वागत कार्यक्रममा सहभागी गौतम १७ फागुनमा रामेछापको गौरीशंकर उच्च माविको स्वर्ण महोत्सवमा प्रमुख अतिथि बन्न पुगे । आफ्नो मन्त्रालयसँग सम्बन्ध नजोडिएका धेरै कार्यक्रममा सहभागी हुने मन्त्रीमा उनी नै अगाडि छन् । २४ फागुनमा उनी तराई यातायात व्यवसायी संघको नवौं साधारणसभा उद्घाटन गर्न बारा गए । भोलिपल्टै रमेश विकलको एकल चित्रकलाको उद्घाटनमा प्रमुख अतिथि बने । यसै साता मानव अधिकार प्रतिष्ठानको सातौं सम्मेलनमा प्रमुख अतिथि बने । १ चैतमा एमाले धादिङ क्षेत्र नम्बर १ को अधिवेशन उद्घाटन गर्न सल्यानकोटमा तीनवटा हेलिकप्टरसहित गएको विषयमा आलोचित भए । त्यसले पार्टी र संसद्सम्मै हल्लीखल्ली मच्चियो ।

अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह यो मामलामा गौतमकै हाराहारीमा पर्छन् । उनी १७ चैतमा बागलुङ महोत्सवमा प्रमुख अतिथि भए । महोत्सव सिंहको मन्त्रालयसँग सम्बन्धित होइन ।

१५ चैतमा सिंह मन्त्रालयसँग साइनो नजोडिएको यशोदादेवी भगवान् केसी मेमोरियल ट्रस्टु को छात्रवृत्ति बाँड्न नुवाकोट सदरमुकाम विदुर पुगे । मन्त्री नियुक्त भएको तेस्रो दिनदेखि नै सिंह अनावश्यक कार्यक्रममा प्रमुख अतिथि बन्ने दौडमा छन् ।

१५ फागुनमा उनी ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको प्रवचन उद्घाटनमा प्रमुख अतिथि बने । भोलिपल्टै ग्याल्बो ल्होछारको औपचारिक कार्यक्रममा समय बिताए । १ चैतमा मध्यबानेश्वरस्थित रत्न पुस्तकालय उद्घाटन गरेर सिंहले ताम्रपत्रमा नाम लेखाए ।

सिंह आफ्नोबाहेक अर्को मन्त्रालयबाहेकका औपचारिक कार्यक्रममा समेत प्रमुख अतिथि बन्न दौडिने गरेका छन् । २२ फागुनमा बेलनदीको पुल उद्घाटन गर्न कपिलवस्तु गए । १० चैतमा कास्कीको सैभराङ भगवतीटार, हर्पन खोला र कालीखोलामा बनेका तीन पक्की पुल उद्घाटन गरे । मन्त्री भएपछि उनी कञ्चनपुर, ललितपुर, पाल्पा, रूपन्देही, बाँके, बारालगायत जिल्ला परिषद्मा प्रमुख अतिथि बनेका छन् । गोरखाको जिल्ला विकास परिषद् उद्घाटनमा प्रधानमन्त्री सुशील कोइराला नै पुगे ।

धेरै जिल्ला भ्रमण गर्ने, औपचारिक कार्यक्रममा प्रमुख अतिथि बन्ने सूचीमा सञ्चारमन्त्री मिनेन्द्र रिजाल पनि अगाडि छन् । सरकारका तर्फबाट आचारसंहिता घोषणा गर्ने उनी आधा दर्जनभन्दा बढी औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनिसकेका छन् । उनी अहिले अन्तर्राष्ट्रिय दूरसञ्चार सम्मेलनका लागि दुबईमा छन् ।

गौतम, सिंह र रिजालको तुलनामा अरू मन्त्रीहरू थोरै औपचारिक कार्यक्रममा सहभागी भएका देखिन्छन् । अर्थमन्त्री रामशरण महतमा पनि उद्घाटनमोह देखिन्छ । मन्त्री भएलगत्तै उनी मन्त्रालयअन्तर्गत र त्यसबाहिरका धेरै औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनेका छन् । गत साता गृहजिल्ला नुवाकोटको चौघडामा सोलार कार्यक्रम उद्घाटन गर्न पुगे भने १७ चैत सोमबार वालिङ उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन गर्न स्याङ्जा पुगे ।

कानुनमन्त्री नरहरि आचार्य पनि उद्घाटनलगायत कार्यक्रममा बाक्लै उपस्थित हुने गरेका छन् । आफ्नै पार्टीकी चित्रलेखा यादवले नेतृत्व गरेको शिक्षा मन्त्रालयका धेरै कार्यक्रममा उनी प्रमुख अतिथि बनेका छन् । २४ फागुनमा कानुनमन्त्री आचार्य ग्लेनवर्ड माविको रजतउत्सव तथा अभिभावक समारोहमा प्रमुख अतिथि बने भने ३० फागुनमा नेपाल जाइका अल्मुनाईको ४० औं वाषिर्कोत्सवमा पुगे ।

सहरी विकासमन्त्री नारायण खडा पनि यो सूचीमा माथि चढै छन् । उनी ८ चैतमा मर्कज् अल इस्लामीु ले गरेको धार्मिक कार्यक्रममा प्रमुख अतिथि बने ।

वनमन्त्री महेश आचार्य औपचारिक कार्यक्रममा प्रमुख अतिथि बन्न रुचि राख्दैनन् तर सोमबार प्रधानमन्त्री सुशील कोइरालाको आग्रहमा उनी पूर्वको कुम्भभेला उद्घाटनमा सहभागी भए । निजी सचिव नवराज काफ्लेले प्रमुख अतिथिका लागि धेरै ठाउँबाट निम्ता आए पनि त्यस्ता कार्यक्रममा सहभागी हुन आचार्यले खासै रुचि नराख्ने बताए । मन्त्री भएपछि आचार्य २६ फागुनमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको सामुदायिक वन विकासम्बन्धी सिन्धुलीमा भएको कार्यक्रममा सहभागी भए ।

भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि, शिक्षामन्त्री चित्रलेखा यादव, सिँचाइमन्त्री एनपी साउद र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ मन्त्रालयसँग सम्बन्धितबाहेक खासै औपचारिक कार्यक्रममा सहभागी भएका देखिन्नन् । एमाले मन्त्रीहरूमा गौतमबाहेक सबैजसो लो प्रोफाइलका भएकाले उद्घाटनलगायत कार्यक्रममा प्रमुख अतिथिका लागि आकर्षणमा पर्दैनन् ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पर्यटनमन्त्री भीम आचार्य, स्वास्थ्यमन्त्री खगराज अधिकारी, ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, कृषिमन्त्री हरि पराजुली र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आफ्नै मन्त्रालयका गतिविधिमा व्यस्त छन् । यसबीचमा खेलकुदका गतिविधि बढी भएकाले खेलकुदमन्त्री पुरुषोत्तम पौडेल खेलसम्बन्धी औपचारिक कार्यक्रममा व्यस्त भएको देखिन्छन् ।

एकै दिन प्रधानमन्त्रीसहित ५ मन्त्री बाहिर

संयोगले १७ चैत सोमबार प्रधानमन्त्री सुशील कोइरालासहित दुई उपप्रधानमन्त्रीद्वय गौतम, सिंहसहित अर्थ र वनमन्त्रीसमेत राजधानीबाट बाहिरिए । संवैधानिक परिषदो बैठकपछि प्रधानमन्त्री कोइराला वनमन्त्री महेश आचार्यसमेतलाई लिएर कुम्भमेला उद्घाटन गर्न सोमबार पूर्वको बराहक्षेत्र गए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र