श्रीलंका सेमिफाइनलमा

१८ चैत्र २०७०, मंगलवार ०७:५५ मा प्रकाशित

एजेन्सी

चट्गाउँ, १८ चैत । रंगना हेराथको घातक बलिङको सरंगना हेराथको घातक बलिङको सहयोगमा श्रीलंकाले न्युजिल्यान्डलाई ५९ रनको भारी अन्तरले हराउँदै आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

श्रीलंकाको जितसँगै सुपर टेनको समूह ‘दुई’बाट अन्तिम चारको समीकरण पूरा भएको छ । श्रीलंका समूह विजेता र दक्षिण अफ्रिका उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका छन् । सो समूहबाट अगाडि नै दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेको थियो । न्युजिल्यान्ड र श्रीलंकाबीचको खेलबाट समूह विजेता निर्णय भएको हो ।

श्रीलंका र न्युजिल्यान्डमध्ये एक टोली सेमिफाइनलमा पुग्ने समीकरण बनेको थियो । चट्गाउँको जहुर अहमेद चौधरी रंगशालामा सोमबार दुवै टोलीका लागि गर् या मर्को स्थिति थियो । पहिलो ब्याटिङ गरेको श्रीलंका १९।२ ओभरमा ११९ रनमा अलआउट भयो । न्युजिल्यान्डले सहजै लक्ष्य पछ्याउने अनुमान थियो ।

तर, हेराथले टी–२० क्रिकेटकै उत्कृष्ट बलिङ गर्दै तीन रन खर्चेर पाँच विकेट लिएपछि न्युजिल्यान्ड १५।३ ओभरमा ६० रनमा समेटियो । सचिथा सेनानायकेले तीन रन खर्चेर दुई विकेट लिए । न्युजिल्यान्डको ब्याटिङमा दुई रनआउट भयो । न्युजिल्यान्डका मुख्य तथा आक्रामक ब्याट्सम्यानका रूपमा चिनिने कोरे एन्डरेसन चोटका कारण ब्याटिङमा अनुपस्थित रहे । ट्रेन्ट बोल्ट १५।३ ओभरमा आउट भएपछि श्रीलंकाली टोलीलाई एन्डरेसन क्रिजमा आउने नसक्ने जानकारी थियो । जसका कारण ट्ेरेन्टको विकेटसँगै श्रीलंकाले विजयी उत्सव मनाए ।

श्रीलंकाको बलियो स्पिन आक्रामणअघि काने विलियम्सले मात्र खरो रूपमा उत्रिएका थिए । विकेटको एकछेउमा विलियम्सले आफ्नो विकेट दिएनन् । हेराथ र सेनानायकेले न्युजिल्यान्डका ब्याट्सम्यानलाई निरन्तर रूपमा क्रिजबाट हटाइरहँदा विलियम्सको केही सीप लागेन ।

उनले ४३ बलको सामना गरी ६ चौका प्रहार गर्दै सर्वाधिक ४२ रनको योगदान दिए । न्युजिल्यान्डका ब्रान्डन म्याककुलम, रोस टेलोर, जिमी निस्मा तथा मिचेल म्याक्लेघमले खातै खोल्न सकेनन् । मार्टिन गुप्टिलले दुई रन, लुक रोन्चीले दुई रन, काले मिल्सले चार रन तथा ट्रेन्टले तीन रनको योगदान दिए ।

यसअघि ब्याटिङ गरेको श्रीलंकाको इनिङमा ओपनर कुसल परेराले १६, महेला जयबद्र्धनेले २५ तथा थहिरु थिरिमानले २० रनको योगदान दिएका थिए । न्युजिल्यान्डको बलिङमा ट्रेन्टले २० रन खर्चेर तीन विकेट लिए । निसिम्माले २२ रन दिएर तीनै विकेट हात पारे ।

इंग्ल्यान्डको कमजोर प्रदर्शन

इंग्ल्यान्डले टी–२० क्रिकेटमा अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको छ । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सोमबार एसोसिएट राष्ट्र नेदरल्यान्डसँग ४५ रनको पराजय बेहोरेको छ ।

नेदरल्यान्डविरुद्धको यो हारले इंग्लिस क्रिकेटरलाई अझ कमजोर अवस्थामा पुर्‍याएको विश्लेषण हुन थालेको छ । नेदरल्यान्डसँग टी–२० विश्वकपमा इंग्ल्यान्डले पराजय बेहोरेको यो दोस्रोपटक हो । यसअघि नेदरल्यान्डसँग सन् २००९ मा आफँैले आयोजना गरेको टी–२० विश्वकप क्रिकेटमा पनि इंग्ल्यान्ड पराजित भएको थियो ।

श्रीलंकासँग ३९ रनमै अलआउट भएको नेदरल्यान्डसँगको पराजयले इंग्लिस प्रशिक्षक एस्ले गिल्सलाई पनि ठूलो धक्का लागेको छ । त्यसमाथि ८८ रनमै अलआउट हुनुले इंग्लिस टोलीको प्रशिक्षण गर्नेरनगर्नेबारे प्रशिक्षक गिल्सकै भविष्य संकटमा परेको छ ।

यसअघि नै बाहिरिसकेको इंग्ल्यान्डले अन्तिम खेलमा कमजोर आँकिएको नेदरल्यान्डविरुद्ध निकै खराब क्रिकेट खेल्यो । इंग्ल्यान्डका लागि नेदरल्यान्डविरुद्ध जोडेको ८८ रनको योगफल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अहिलेसम्मकै कमजोर योगफल बनेको छ । यसअघि इंग्ल्यान्ड सन् २०११ मा वेस्टइन्डिजविरुद्ध पनि ८८ रनमै अलआउट हुन पुगेको थियो ।

टी–२० क्रिकेटमा इंग्ल्यान्डको समग्रमा कमजोर योगफल ८० रन रहेको छ । इंग्ल्यान्ड सन् २०१२ को टी–२० विश्वकपमा भारतविरुद्ध ८० रनमै अलआउट हुन पुगेको थियो ।

नेदरल्यान्डले भने इंग्ल्यान्डलाई पराजित गर्दै महत्त्वपूर्ण उपलब्धि हात पारेको छ । नेदरल्यान्ड टी–२० क्रिकेटमा एउटै टेस्ट टोलीलाई दोस्रोपटक पराजित गर्ने पहिलो एसोसिएट राष्ट्र बनेको छ । नेदरल्यान्डले यसअघि सन् २००९ को टी–२० विश्वकपमा पनि इंग्ल्यान्डलाई पराजित गरेको थियो ।

नेदरल्यान्डले इंग्ल्यान्डविरुद्धको पहिलो ओभरमै तीन चौका प्रहार गरेको थियो । तर, इंग्ल्यान्डले इनिङभरि नै एकमात्र चौका प्रहार गर्न सफल रह्यो । यस्तै नेदरल्यान्डले पावरप्लेको ६ ओभरमा ४७ रन जोड्दा इंग्ल्यान्डले तीन विकेट खर्चेर मात्र २६ रन जोडेको थियो । यस्तै इंग्ल्यान्डले बनाएको ८८ रनको कुल स्कोर पनि एसोसिएट राष्ट्रविरुद्ध टेस्ट राष्ट्रले जोडेको अहिलेसम्मकै कम योगफल बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार