राजधानीमा स्वाइनफ्लु परीक्षण गर्नेको भीड

१८ चैत्र २०७०, मंगलवार ०७:३६ मा प्रकाशित


काठमाडौं, १८ चैत । इन्फ्लुएन्जा ‘ए’ पोजेटिभ भाइरस एच वान एन वानको संक्रमण स्वाइनफ्लुको आशंकामा परीक्षण गर्नेको अस्पतालमा भीड बढेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा घाँटीबाट झिकिने र्‍याल  थ्रोट स्वाब परीक्षण गर्नेको संख्या ह्वात्तै बढेको छ ।

तीन महिनायता स्वाइनफ्लुको प्रभाव राजधानीलगायत देशका प्रमुख सहरमा देखापरेपछि त्रास उत्पन्न भएको छ । यसबीचमा झन्डै आठ सयजनाले टेकुको जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएका छन् । सोमबार पनि दिनभर भीड थियो । तर, रोग लागेको आशंकामा परीक्षण गर्न आउनेको भीड भए पनि प्रयोगशालामा कर्मचारी अभावले समस्या भएको छ ।

‘एच वान एन वानको टेस्ट गर्नेहरू निकै बढेका छन्,’ नेसनल इन्फ्लुएन्जा सेन्टरका इन्चार्ज विष्णु उपाध्यायले भने, ‘हामीलाई भ्याइनभ्याई छ ।’ भीडकै कारण आधा घन्टामा तयार हुने ‘रेपिड टेस्ट’को रिपोर्ट लिन घन्टाँै पर्खनुपर्ने अवस्था छ ।

‘चारजना ल्याब टेक्निसियन हुन्,’ प्रयोगशाला स्रोतले भन्यो, ‘दुईजना तालिममा छन्, बाँकी दुईजनाले भीड थेग्नुपरेको छ । त्यसैले रिपोर्ट दिन ढिलाइ भएको हो ।’ थ्रोट स्वाबको ‘रेपिट टेस्ट’ रिपोर्ट आधा घन्टामा तयार हुन्छ । तर, थोरै टेक्निसियन भएकाले समस्या भएको प्रयोगशालाले जनाएको छ । स्वाइनफ्लु लागे–नलागेको स्पष्ट हुने पिसिआर टेस्टको रिपोर्ट भने तीन दिन लाग्छ ।

स्वाइनफ्लुबाट तीन महिनायता चारजनाको ज्यान गएको छ । गम्भीर बिरामी ६ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसबीचमा शंकास्पद आठ सयभन्दा बढीले चिकित्सकको परामर्शपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वाब परीक्षण गराएका छन् ।

इन्फ्लुएन्जा ‘ए’ प्रजातिको एच वान एन वान भाइरस पछिल्लोपटक सन् २००९ महामारीका रूपमा देखापरेको थियो । त्यतिवेला संसारभर १९ हजार बढी व्यक्तिले ज्यान गुमाएका थिए भने आठ लाख बढीमा संक्रमण देखिएको थियो । त्यति नै वेला नेपालमा पनि चारजनाको ज्यान गएको अपुष्ट खबर आएको थियो । अहिले राजधानीमा संक्रमण बढेको आशंकामा परीक्षण गर्नेको भीड बढेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। गीता शाक्यले एच वान एन वान भाइरसको संक्रमण हुनसक्ने शंकामा परीक्षण गर्न आउनेको संख्या आश्चर्यजनक रूपमा वृद्धि भएको बताइन् । स्वाइनफ्लु संक्रमणले केही व्यक्तिको ज्यान लिएपछि चिकित्सक र बिरामीहरू सशंकित भएर परीक्षणमा अग्रसर भएको उनको भनाइ छ ।

प्रयोगशालाले शंकास्पद व्यक्तिको थ्रोट स्वाब संकलन गरी निस्शुल्क रूपमा एच वान एन वान भाइरस परीक्षण गर्दै आएको छ । जनस्वास्थ्य प्रयोगशालाकै दुई कर्मचारी पनि स्वाइनफ्लुको संक्रमणले बिरामी परेका थिए । ‘तर उनीहरू अहिले खतरामुक्त छन्,’ निर्देशक डा। शाक्यले भनिन् ।

एच वान एन वान भाइरसले रोगप्रतिरोधी क्षमता कम भएका दीर्घरोगी, बच्चा र बूढाबूढीमा बढी आक्रमण गर्ने खतरा रहेको डा। शाक्यको भनाइ छ । उनले भनिन्, ‘स्वस्थ र प्रतिरोधी क्षमता भएका व्यक्तिलाई यसले कुनै क्षति बनाउन सक्दैन ।’

सन् २००९ यता एच वान एन वान भाइरसले आफ्नो प्रभाव मौसमी रुघाखोकीका रूपमा मात्रै देखाउँदै आएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीले जाडोमा बढी सक्रिय हुने स्वाइनफ्लुको भाइरस यसपटक गर्मी लाग्दासमेत नहराएको बताए । ‘जाडोमा बढी सक्रिय हुने भाइरस हो, तर अहिले गर्मी सुरु भइसक्दासमेत हराएको छैन,’ डा. मरासिनीले भने, ‘त्यसैले अझै केही समय सतर्क अवस्थामा रहनुपर्छ ।’

डा। मरासिनीले रोग लाग्न नदिन सचेतता अपनाउनुपर्ने बताए । ‘रुघाखोकी लागेका व्यक्तिलाई भीडभाडमा हिँड्दा मास्कको प्रयोग, खोक्दा वा हाच्छिउँ गर्दा रुमालको प्रयोग तथा भेट हुँदा हात मिलाउने वा अंकमाल गर्न हुँदैन र कसैसँग बोल्दा कम्तीमा एक मिटर टाढा रहनुपर्छ,’ सचेत रहन सुझाब दिँदै डा। मरासिनीले भने, ‘यसो गरे एच वान एन वान भाइरस सर्ने सम्भावना कम रहन्छ ।’

महाशाखाका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले एच वान एन वान भाइरसले नेपालमा डरलाग्दो रूप नलिएको बताए । तर, यो रोग लाग्नबाट जोगिनु उपयुक्त हुने उनको सुझाब छ । उनका अनुसार संक्रमण भएका व्यक्तिलाई १००.४ डिग्री वा सोभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बच्चालाई झाडाबान्ता हुनेलगायतका समस्या देखिन्छ । लगातार सात दिन खोकी लागेर श्वास–प्रश्वासमा कठिनाइ आए तत्काल चिकित्सकलाई देखाउनुपर्ने उनको भनाइ छ ।

सरकारले स्वाइनफ्लुका बिरामीलाई ‘टामीफ्लु’ नामक औषधि निस्शुल्क उपलब्ध गराउँदै आएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा उपलब्ध सो औषधिको मूल्य प्रतिट्याब्लेट तीन डलर पर्छ । सामान्य अवस्थामा पाँच दिनको डोज दिए पनि जटिल अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ । ‘हामी साधारणतस् पाँच दिनलाई पुग्ने औषधि दिन्छाँ, तर कतिपय बिरामी भेन्टिलेटरमा रहँदा त्योभन्दा बढी पनि औषधि खर्च हुन्छ,’ डा. मरासिनीले भने । अस्पतालहरूले अहिले फ्लु भ्याक्सिन लगाउने व्यवस्थासमेत गरेका छन् ।

के हो स्वाइनफ्लु ?

स्वाइनफ्लु एकखालको मौसमी रुघाखोकी हो । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अहिले यसको नाम परिवर्तन गरी एच वान एन वान भाइरस संक्रमणबाट सर्ने सरुवा रोग राखेको छ । संगठनले भनेको छ, ‘भाइरल इन्फ्लुएन्जा एच वान एन वान महामारी फैलाउने भाइरसका रूपमा चिनिन्छ । जुनसुकै ठाउँमा सर्ने भए पनि यसको प्रभाव निकै कम हुने गरेको छ ।’

संगठनले एच वान एन वान भाइरसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा प्रमाणित गरिसकेको भन्दै चिकित्सकले पनि साधारण रुघाखोकीमा जस्तै यसमा पनि आराम गर्न र अरूलाई सार्न नदिन संक्रमितलाई मास्क लगाउन सुझाब दिन्छन् । त्यस्तै, भीडभाडमा नजान र घरमै आराम गर्न सुझाब दिने गरेका छन् ।

इन्फ्लुएन्जा एच वान एन वान लाग्दा नाकबाट पातलो सिँगान बग्ने, हाच्छिउँ आउने, खोकी लाग्ने, मासंपेसी तथा जोर्नी दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने, कहिलेकाहीँ बान्ता आउने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुनेजस्तो अवस्था आउँछ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले यसखालको भाइरसबाट रोग प्रतिरोधात्मक क्षमता कमी भएका व्यक्तिहरू भने सजग हुनुपर्ने बताए । ‘दम, मुटु, मिर्गौला, क्यान्सर तथा एड्स रोगीलाई यसले असर गर्न सक्छ । त्यसैले उहाँहरू सतर्क हुनुपर्छ,’ उनले भने, ‘रुघा जसरी नै सर्ने भएकाले यस्ता लक्षण देखिएका व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा रुमालले नाकमुख छोप्ने, मनतातो पानी वा झोलिलो वस्तु खानु फाइदाजनक हुन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार