अध्यागमनमा नयाँ टिम राख्ने तयारी

१८ चैत्र २०७०, मंगलवार ०७:३१ मा प्रकाशित


काठमाडौं, १८ चैत । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रहरी टोली र सबै कर्मचारी फेर्ने गृहकार्य थालेको छ । अध्यागमनमा तत्काल ‘क्राइसिस म्यानेजमेन्ट’ गर्न भन्दै गृहले ६० अधिकृत उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले केही समयअघि लोकसेवा उत्तीर्ण गरी तालिम सक्न लागेका स्वच्छ छविका र ‘फ्रेस’ अधिकृत पठाउन सामान्यलाई आग्रह गरेको छ । मुख्यसचिव लीलामणि पौडेलले पनि गृहले मागेअनुसारका अधिकृत पठाउन सामान्यसचिव दुर्गानिधि शर्मालाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

अध्यागमन कार्यालयका हालका कर्मचारीबाट प्रभावकारी काम हुन नसक्ने निष्कर्षसहित सबै कर्मचारी र प्रहरी नयाँ पठाउने गृहकार्य गृह मन्त्रालयले गरेको हो । गृह मन्त्रालयले सोमबार मात्रै मन्त्रालयका विभिन्न शाखामा कार्यरत १५ जना शाखा अधिकृतलाई अध्यागमन कार्यालयमा काजसरुवा गरेको छ । यसअघि लापरबाही गरेको भन्दै गृहले अध्यागमनमा कार्यरत १४ जना अधिकृतलाई एक महिनाका लागि निलम्बन गरेको थियो ।

हाल अध्यागमन कार्यालयमा निजामतीतर्फका झन्डै एक सय ८० जना कर्मचारी र प्रहरीतर्फ झन्डै चार सय प्रहरी कार्यरत छन् । मन्त्रालयले क्रमशस् सबै कर्मचारीलाई परिवर्तनको तयारी गरेको स्रोतले बतायो । ‘केही कर्मचारी राम्रा पनि छन्, त्यसैले केही राम्रा कर्मचारी रहन सक्छन्, तर अधिकांशलाई परिवर्तन गरिनेछ,’ मन्त्रालयका एक अधिकारीले भने । स्रोतका अनुसार गृहले अध्यागमनमा कार्यरत प्रहरीलाई पनि क्रमशस् परिवर्तन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

केही दिनअघि विमानस्थलस्थित अध्यागमन डेस्क ६ मिनेटसम्म खाली भएपछि अध्यागमन कार्यालयको अस्तव्यस्तता सार्वजनिक भएको थियो । लगत्तै गृहले मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख सहसचिव यादव कोइरालाको संयोजकत्वमा छानबिन टोली गठन गरी अनुसन्धान थालेको थियो ।

छानबिन टोलीले अध्यागमनमा लापरबाही भएको निष्कर्षसहित विभिन्न कर्मचारीलाई कारबाही र निलम्बनको सिफारिस गरेको थियो । सोहीअनुसार १४ जना कर्मचारी निलम्बनमा परेका थिए । गृहले अध्यागमनमा लापरबाही गरेको भन्दै कार्यालय प्रमुख सहसचिव वीरेन्द्र यादवलाई मन्त्रालयमा र डिआइजी गोपाल भण्डारीलाई प्रहरी हेडक्वाटरमा तानेको थियो । उनीहरू दुवैलाई जगेडामा राखिएको छ । मन्त्रालयले अध्यागमन कार्यालयको प्रमुखमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र डिआइजीमा यादव अधिकारीलाई पठाएको छ ।

सहसचिव कोइराला नेतृत्वको छानबिन टोलीले विमानस्थल सुधारका लागि एक दर्जनभन्दा बढी सुझाब दिएको छ । टोलीले अध्यागमनका सबै कर्मचारी र प्रहरी नयाँ सेट पठाउनुपर्ने, श्रम डेस्कभित्र नराख्न, एस लेखिएको विशेष पास लगाएका जोसुकैलाई पनि सुरक्षाघेराभन्दा भित्र जान दिन नहुने सुझाब दिएको छ । त्यस्तै, विमानस्थलको रि–इन्जिनियरिङ गर्नुपर्ने, कर्मचारीका लागि छुट्टै क्यान्टिनको व्यवस्था गर्नुपर्ने, राति गाडीको व्यवस्था गर्नुपर्नेलगायत सुझाब टोलीले दिएको छ ।

‘प्रहरी र निजामती कर्मचारीबीच द्वन्द्व’

गृह मन्त्रालयका अनुसार विमानस्थलको अध्यागमनमा खटिएका निजामती कर्मचारी र प्रहरीबीच द्वन्द्व छ । ‘प्रहरीले कर्मचारीलाई बढी असहयोग गर्ने गरेको पाइयो जुन गलत हो,’ गृहका एक अधिकारीले भने । प्रहरी र कर्मचारीबीचको द्वन्द्व कम गर्ने विषयमा गृह मन्त्रालयमा आन्तरिक छलफल भएको छ । प्रहरीमा बढी कमजोरी देखिएकाले सचेत गराइएको पनि ती अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन