मुसर्रफलाई देशद्रोहको अभियोग लगाउने तयारी

१८ चैत्र २०७०, मंगलवार ०७:२७ मा प्रकाशित


इस्लामावाद, १८ चैत । पाकिस्तानको अदालतले सोमबार पूर्वराष्ट्रपति एवं सैनिक जर्नेल परवेज मुसर्रफलाई देशद्रोहको अभियोग लगाउने तयारी गरेको छ । अदालतको कारबाही प्रतीक्षा गरी बसेका मुसर्रफले आफूमाथि लगाइने देशद्रोहको आरोप अन्याय भएको बताएका छन् । अदालतले पूर्वराष्ट्रपति मुसर्रफसँग सम्बन्धित विभिन्न पाँचवटा अभियोगहरूमाथि छानबिन गरिरहेको छ । सो छानबिनका क्रममा मुसर्रफमाथि देशद्रोहको अभियोग लगाउने तयारी भइरहेको पाकिस्तानी एजेन्सीले जनाएका छन् ।

सन् २००७ मा सत्तामा रहँदा मुसर्रफले लगाएको संकटकालका कारण राज्यविरुद्ध अपराध हुन पुगेको ठहर अदालतले गरेको छ । अदालतले सोही अपराधको आधारमा उनलाई देशद्रोहको अभियोग लगाउन लागेको पाकिस्तानी एजेन्सीले जनाएका छन् । गत वर्ष आमचुनावका क्रममा मुसर्रफ निर्वासित जीवन त्यागी दुवईबाट पाकिस्तान आएका थिए ।

पाकिस्तानमा चुनावी अभियानका क्रममा सरकारले मुसर्रफलाई पक्रेको थियो । गत वर्षदेखि उनी सरकारको थुनामा रहेका छन् । पाकिस्तान फर्किएपछि उनलाई सुरुमा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्याको आरोपमा पक्राउ गरिएको थियो । यस विषयमा अदालतले फैसला गरेको छैन । भुट्टोको सन् २००७ मा भएको हत्याको समयमा मुसर्रफ पाकिस्तानका राष्ट्रपति थिए ।

भुट्टो हत्याकाण्डको विषयमा सुनुवाइ भइरहेको छ । अनुसन्धानका क्रममा सरकारले लगाएका पाँचवटै अभियोगमा मुसर्रफको संलग्नता नदेखिएको न्यायाधीश ताहिर सफदारले जनाएका छन् । ‘न्यायाधीश ताहिरले सबै पाँच अभियोगमा मुसर्रफको संलग्नताको सम्भावना निकै कम रहेको देखाएका छन्,’ पाकिस्तानी एजेन्सीले उल्लेख गरेका छन् ।

मुसर्रफ पाँच अभियोगमा निर्दोष सावित भए पनि देशद्रोहको अभियोग लाग्ने निश्चित भएको एजेन्सीले दाबी गरेका छन् । सन् १९९९ मा सत्ता हत्याएका तत्कालीन सैनिक जर्नेल मुसर्रफले पाकिस्तानमा सन् २००८ सम्म शासन गरेका थिए । सन् २००८ को आमनिर्वाचनमा पराजय भोगेपछि उनी स्वनिर्वासनमा बेलायत गएका थिए ।

यता, मुसर्रफले आफूमाथि लगाइएका सबै आरोपको प्रतिकार गरेका छन् । तर, आफूले अदालतको सम्मान गर्ने उनले बताए । ‘म अदालतको फैसलाको सम्मान गर्छु, अदालतको फैसला जे–जस्तो भए पनि स्वीकारयोग्य हुनेछ,’ आफू राष्ट्रभक्त रहेको जनाउँदै मुसर्रफले भने, ‘म पहिले पनि राष्ट्रसेवकै थिएँ, मेरो राष्ट्रभक्ति पछिसम्म पनि रहिरहनेछ ।’

राजनीतिक प्रतिशोधका कारण आफूलाई फसाएको उनको धारणा छ । ‘ममाथि राजनीतिक प्रतिशोधको भावले गम्भीर षड्यन्त्र भयो,’ उनले भने, ‘मैले पाकिस्तानमा एकजना सिपाहीका रूपमा ४५ वर्षसम्म सेवा गरेको छु र यसबापत मलाई देशद्रोही ठहर गरिँदै छ ।’ सैनिक प्रमुखका लागि राष्ट्रका निमित्त दुई ठूला युद्ध लडेको उनले बताए । ‘सैनिक प्रमुखका रूपमा सात वर्षसम्म राष्ट्रको सेवा गरेको छु, देशका लागि दुईवटा ठूलाठूला लडाइँ पनि लडेँ, त्यसैले मलाई देशद्रोही बनाउने तयारी गरिएको होला रु’ पछिल्लो समय अदालत पनि आफूमाथि एकोहोरो रूपमा पछि लागेको मुसर्रफले दाबी गरेका छन् ।

आफू अदालतमा उपस्थित हुँदासमेत मुसर्रफ अदालतमा नआएको समाचार बाहिर आइरहेको प्रति उनले गुनासो गरेका छन् । ‘अदालतले बोलाएको समयमा म उपस्थित भएको छु । तर, अदालतको आदेश अवहेलना गरी मुसर्रफ नआएको भन्ने सुनियो, म यसवर्ष मात्र अदालतमा १६ पटकसम्म उपस्थित भएको छु,’ दुस्ख व्यक्त गर्दै ७० वर्षीय मुसर्रफले भने, ‘कराची, इस्लामावाद तथा रावलपिन्डीका अदालतमा हाजिर हुने गरेको थिएँ ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष