कार्यबाहक नपाएपछि गुट बनाउँदै पौडेल

९ चैत्र २०७०, आईतवार ०७:२२ मा प्रकाशित

काठमाडौं, ९ चैत । कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले कार्यबाहक सभापतिको जिम्मेवारी नदिएपछि उपसभापति रामचन्द्र पौडेल रुष्ट भएका छन् । पौडेल अहिले प्रधानमन्त्रीनिवास बालुवाटार पनि जान छोडेका छन् ।

उपसभापति पौडेल कोइरालासँग असन्तुष्ट नेताहरूलाई समेटेर छुट्टै गुट बनाउने तयारीमा लागेका छन् । आकांक्षी भए पनि मन्त्री बन्न नपाएका अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीसहितका केन्द्रीय नेतालाई सहभागी गराई उनले छुट्टै समूह बनाउन लागेका छन् ।

‘पार्टीमा निरन्तर काम गरे पनि पौडेलजीलाई उचित जिम्मेवारी दिइएको छैन,’ पौडेलनिकट स्रोतले भन्यो, ‘शक्ति देखाउन केही नेता वरिपरि हुनुपर्ने रहेछ । त्यस्तै भए उहाँको पनि छुट्टै शक्ति बन्छ ।’

संसदीय दलको चुनावमा सहयोग गरेपछि आफूले कार्यवाहक पाउने सहमति भएको, तर डेढ महिनासम्म पनि सभापति कोइरालाले बेवास्ता गरेको भन्दै पौडेल असन्तुष्ट बनेका हुन् । ‘संसदीय दलको नेतामा सहयोग गर्दा उपसभापतिलाई कार्यवाहक दिने ११ बुँदे सहमति भएको थियो,’ पौडेलनिकट स्रोतले भन्यो, ‘तर, सभापतिले कार्यवाहक दिन आलटाल गर्दै आउनुभएको छ । त्यसैले उपसभापति आजभोलि बालुवाटार पनि जान छाड्नुभएको छ ।’

सभापति कोइराला तत्काल कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिने पक्षमा छैनन् । पौडेललाई दिँदा वरिष्ठ नेता शेरबहादुर देउवा रिसाउने र देउवालाई दिँदा कोइराला खानदानबाट कांग्रेसको राजनीति टाढिने विश्लेषणमा महाधिवेशनसम्म दुवैलाई कार्यवाहक नदिने मनस्थितिमा उनी छन् ।

यसअघि देउवापक्षसँग ६० र ४० प्रतिशतको भागबन्डाका आधारमा कोइरालाले पार्टी चलाउँदै आएका थिए । तर, संसदीय दलको चुनावमा देउवाले ४६ प्रतिशत शक्ति आर्जन गरेपछि पौडेललाई कार्यवाहक नदिन दबाबमा परेका छन् । संसदीय दलमा उपसभापति पौडेलको पक्षमा करिब १२ सभासद् छन् ।

‘निर्वाचनपछि कसरी पार्टी चलाउने भन्नेमा तीन नेताबीच सहमति हुने गरी ११ बुँदे सहमति गर्ने तयारी थियो,’ कोइरालानिकट नेता दीपकुमार उपाध्यायले भने, ‘तर, देउवाजीले दलको चुनाव लडेपछि सहमति कार्यान्वयन हुनै सकेन ।’

महामन्त्री प्रकाशमान सिंह, नेता उपाध्याय, महेश आचार्यले ११ बुँदे सहमति गराउने पहल गरेका थिए । ११ बुँदामा कांग्रेसका शीर्ष तीन नेताबीच भूमिका बाँड्ने गरी संविधान जारी नहुँदासम्म एक वर्ष कोइराला प्रधानमन्त्री बन्ने, देउवा र पौडेलले पार्टी चलाउने भन्ने थियो । तर, कोइरालाले कुनै न कुनै भूमिका दिने संकेत दिएपछि पौडेलले संसदीय दलको चुनावमा उम्मेदवारी दिएका थिएनन् । अहिले प्रधानमन्त्रीले धोका दिएको पौडेलको बुझाइ छ ।

कोइरालापक्षले भने पौडेलले एक्कासि सहमति गर्ने बुँदाबारे बोलेकाले तीन नेताबीच सहमति हुन नसकेको जनाएको छ । ‘उपसभापति भएपछि उहाँको पार्टी चलाउन पाउनुपर्छ भन्ने माग स्वाभाविक हो,’ नेता उपाध्यायले भने, ‘तर, पौडेलजीले एकपक्षीय रूपमा बोलेपछि सहमतिले आकारग्रहण गर्नै पाएन ।’ सहमति नभएपछि देउवाले पनि दलको चुनाव लडेका थिए ।

म्यान्मारमा भएको बिमस्टेक बैठकबाट कोइराला फर्कनेबित्तिकै पनि पौडेलले आफूलाई कार्यवाहक दिन माग गरेका थिए । तर, देउवापक्षको शक्तिलाई ख्याल गर्दै कोइरालाले यसअघि जस्तै गरी पार्टीमा काम गर्न आग्रह गरेका छन् । तर, पौडेल लिखित रूपमै आफूलाई कार्यवाहक दिनुपर्ने पक्षमा छन् ।

कांग्रेसमा सभापति विदेश गएको अवस्थामा मात्रै उपसभापतिले कार्यवाहक पाउने भन्ने छ । सभापति देशभित्रै रहेको वेला भने केन्द्रीय समितिको स्वीकृतिमा महाधिवेशनबाट विधान पारित गर्ने गरी कार्यवाहक दिन मिल्छ । यसरी कार्यवाहक दिन नहुने देउवापक्षको भनाइ छ । ‘कार्यवाहक त्यत्तिकै दिन मिल्ने विषय होइन,’ देउवापक्षका एक नेता भन्छन्, ‘केन्द्रीय समितिबाट स्वीकृति गराई महाधिवेशनबाट विधान पास गराउने गरी मात्र कार्यवाहक सभापति दिन मिल्छ ।’

कोइराला कोटरीमा नै विधान संशोधन गर्न नहुने पक्षका नेताहरू छन् । कार्यवाहक सभापति दिने नाममा विधान संशोधन गर्दा गलत नजिर बस्ने भन्दै उनीहरूले कोइरालालाई दबाब दिएका छन् । यस्तो दबाब दिनेमा संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, प्रवक्ता दिलेन्द्रप्रसाद बडूलगायतका नेता छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र