एमाओवादी कमिटीमा लेखापरीक्षण सुरु

९ चैत्र २०७०, आईतवार ०७:१४ मा प्रकाशित


काठमाडौं, ९ चैत । एकीकृत माओवादीको केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी कमिटीका हिसाबकिताबको लेखापरीक्षण सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको परीक्षण चैत मसान्तसम्ममा सबै राज्यमा पुर्‍याउने आयोगको तयारी छ ।

आयोगले शुक्रबार कोचिला राज्य समितिको कार्यालयबाट आफ्नो काम सुरु गरेको थियो । आयोगका संयोजकसमेत रहेका माओवादी सभासद् डोरप्रसाद उपाध्यायले पहिलो चरणमा अहिलेसम्म राखेको लेखा–प्रणाली हेर्ने र मापदण्ड पुर्‍याएर लेखा–प्रणाली राख्न सिकाउन आफूहरूले यस्तो अभियान थालेको बताए । अहिले प्रक्रिया पुर्‍याएर लेखा–प्रणाली राख्न लगाए वार्षिक लेखापरीक्षण सजिलो हुने उनको भनाइ छ ।

एकीकृत माओवादीभित्र आर्थिक प्रणाली पारदर्शी नभएको विषय उठेपछि गत वर्ष हेटौँडा महाधिवेशनमा माओवादीले उपाध्यायको संयोजकत्वमा सिए टेकनाथ आचार्य र रामानन्दन महतो सदस्य रहेको केन्द्रीय लेखापरीक्षण आयोग गठन गरेको थियो । गठनलगत्तै आयोगले सुरुमा केन्द्रीय कार्यालयको लेखा–प्रणाली व्यवस्थित गर्न लगाएको थियो । आयोग केन्द्रीय कार्यालयको लेखा–प्रणालीलाई एउटा प्रक्रियामा ढालेपछि राज्य र जिल्ला तहमा पुगेको हो । राज्य तथा जिल्लाहरूको लेखापरीक्षणका लागि आयोगका तीन सदस्य नै गएका छन् ।

संयोजक उपाध्यायका अनुसार आयोगले शुक्रबार कोचिला राज्य कार्यालय र शनिबार त्यसअन्तर्गतका केही जिल्ला कार्यालयको लेखाप्रणालीको परीक्षण गरेको थियो । आयोग लिम्बुवान र मिथिला राज्य तथा तीअन्तर्गतका केही जिल्लाको लेखा–प्रणाली हेरेर फर्कनेछ । काठमाडौं फर्केपछि आयोगले नेवास् तथा नजिकका अन्य केही राज्यको लेखा–प्रणाली हेर्नेछ । त्यसपछि पश्चिम नेपालका जिल्ला तथा राज्यमा लेखा–प्रणाली परीक्षण गर्ने आयोगको योजना छ ।

लेखापरीक्षण आयोगका संयोजक उपाध्यायले अहिले कतिपय राज्यले आयव्ययको हिसाब राखेको तर प्रचलित मापदण्डअनुसार कागजातको प्रक्रिया पुर्‍याएर कारोबार नगरेको देखिएको बताए । लेखा–प्रणालीसम्बन्धी ज्ञानको अभावले यस्तो देखिएको भन्दै आयोग संयोजक उपाध्यायले केन्द्रले तयार पारेको निर्देशिका तथा लेखा–प्रणालीको मापदण्डअनुसार कारोबार राख्न निर्देशन दिएको बताए । ‘अहिलेको हाम्रो भ्रमण एक किसिमको प्रशिक्षण हो, यसले व्यवस्थित लेखा–प्रणालीमा जान मद्दत पुर्‍याउँछ,’ संयोजक उपाध्यायले भने ।

यसअघि माओवादीले आर्थिक अनुशासनविपरीत काम गरे नेता–कार्यकर्तालाई कारबाही गर्ने गरी आर्थिक विभागलाई शक्तिशाली बनाइसकेको छ । पार्टीको केन्द्रीय कार्यालयले तयार पारेको ‘केन्द्रीय आर्थिक विभागको कार्यादेश’मा आर्थिक विभागलाई शक्तिशाली बनाउने बुँदा समेटिएका छन् । माओवादीको २९ फागुनमा बसेको केन्द्रीय कार्यालय बैठकले तयार पारेको २५ बुँदे कार्यादेशमा पार्टीका नेता तथा कार्यकर्ताले आर्थिक अनियमितता, दुरुपयोग, अपचलनलगायतका आर्थिक अनुशासनविपरीतका काम गरेको पाइए कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने उल्लेख छ । पार्टी केन्द्रका सबै खाता आर्थिक विभागद्वारा सञ्चालन गर्ने गरी अधिकार दिइएको छ ।

एमाओवादीले प्रत्येक तहका पार्टी कमिटीलाई आत्मनिर्भर बन्न आर्थिक एवं उत्पादनको नीति पनि बनाउने भएको छ । २ देखि १८ माघसम्म चलेको बैठकले लीलामणि पोखरेलको संयोजकत्वमा केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डे, पूर्वपोलिटब्युरो सदस्य नवराज सुवेदी, प्रह्लाद बुढाथोकी र पूर्णाकुमारी सुवेदी सदस्य रहेको आर्थिक विभाग बनाएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार