फेरि किताब हाहाकार, छापेका पनि गोदाममै

९ चैत्र २०७०, आईतवार ०७:०८ मा प्रकाशित

काठमाडौ, ९ चैत । नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ । बजारमा गइसक्नुपर्ने किताब गोदाममै छ ।

साझा प्रकाशन व्यवस्थापन र कर्मचारीको विवादले विद्यार्थीहरू समयमै किताब पाउनुपर्ने अधिकारबाट वञ्चित हुने देखिएको छ । सरकारले यसप्रति गमभीरता देखाएको छैन ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शुक्रबारसम्म १ करोड ३५ लाख ३५ लाख १० हजार ४ सय ४१ थान किताब छापिसकेको छ । ती किताब सानोठिमी, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, नेपालगन्ज र धनगढीको गोदाममा थन्क्याइएका छन् । यस पटक गत वर्षभन्दा बढी किताब छापिएको केन्द्रले जनाएको छ ।

केन्द्र सरकारी पाठ्यक्रमअनुसार किताब छाप्ने संस्थान हो । साझा छपाइ र वितरणको काम गर्ने सार्वजनिक साझेदारीसमेत रहेको अर्धसरकारी निकाय हो । यसले केन्द्रद्वारा मुद्रित पाठ्यपुस्तकहरूसमेत देशव्यापी सञ्जालबाट बिक्री गर्ने जिम्मेवारी पाएको छ ।

नयाँ शैक्षिक सत्रलाई दृष्टिगत गरी चैत दोस्रो सातासम्म सबै पायक बजारहरूमा पाठ्यपुस्तक पुगिसक्नुपर्छ । साझाको विवाद मिलाउन भन्दै शिक्षा मन्त्रालयलगायत निकायमा दैनिकजसो बैठक र वार्ता भइरहेको छ, टुंगो लागेको छैन । साझाले नसके कसले गर्ने भन्ने पनि निर्णय भएको छैन । पाठ्यपुस्तक बिक्री वितरणमा ढिलाइको समस्यालाई लिएर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसमेत दर्ता भइसकेको छ ।

साझाको विवाद मिलाउन शुक्रबार शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव महाश्रम शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीले काम सुरु गरिसकेको शर्माले बताए ।

सरकारले पाठ्यपुस्तक छपाइ, ढुवानी र बिक्री वितरण प्रणालीलाई व्यवस्थित, चुस्त राख्न नसक्दा हरेक शैक्षिक सत्र किताबकै हाहाकारबाट सुरु हुने गर्छ । ‘यस वर्ष पनि समस्या हुने निश्चित भएपछि शिक्षा सचिवसहितको बैठक बस्ने भनेर माघ ६ गते निर्णय भएको थियो,’ अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘तर किताबको अभावलाई सामान्य विषय ठानी बैठक नै गरिएन ।’

केन्द्रले यस वर्ष २ करोड २५ लाख थान पुस्तक छाप्नुपर्ने छ । यो संख्या अहिले विवादित रहेको झोले विद्यालयु का लागि समेत हो । झोले विद्यालयहरूको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यहीअनुरूप अझै ९० लाख किताब छाप्न बाँकी छ ।

आफ्नो प्रेसले मात्रै छाप्न नसक्ने भएपछि केन्द्रको बोर्ड बैठकले साझा, गोरखापत्र संस्थान र मुद्रण विभागलाई समेत छाप्न दिने निर्णय गरेको थियो । साझामा कर्मचारीको हडताल, गोरखापत्रमा छपाइ गर्न नमिल्ने प्राविधिक कारण र विभागमा महँगो पर्ने भएपछि रोकिएको छ । केन्द्रको सुरक्षित प्रेसमा प्लस टुको प्रश्नपत्रसमेत छपाइ भइरहेकाले विद्यालय पाठ्यपुस्तक दैनिक एक लाखमात्र छाप्ने गरेको महाप्रबन्धक अनिल झाले बताए । ‘छापेको पुस्तक नै गोदाममा थन्किएको छ । साझाको विवादका कारण अब कसले किताब उठाउने भन्ने निर्णय हुन सकेको छैन,’ उनले भने, ‘विगतको अनुभवको आधारमा यस वर्षलाई पुग्ने पुस्तक छापिसकेका छौं ।’

सरकारी नीति र नियतले ढिलाइ भएको भण्डारीले आरोप लगाए । ‘निर्णयकर्ताका छोराछोरी निजीमा पढ्ने भएकाले पुस्तकको समस्या भोग्नु पर्दैन,’ उनले भने, ‘गरिबका छोराछोरी पढ्ने किताबमा जे गरे पनि भयो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,