पश्चिमी देशविरुद्ध युद्ध गर्न रुस तयार

७ चैत्र २०७०, शुक्रबार ०७:४९ मा प्रकाशित

एजेन्सी
मस्को, ७ चैत । रुसले अमेरिकालाई क्रिमिया विवादपछि पश्चिमी देशले रुसमाथि लगाएको प्रतिबन्ध आफूलाई अस्वीकार्य भएको बताउँदै पश्चिमा देशले युद्ध निम्त्याएको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले सो प्रतिबन्ध छिट्टै फुकुवा नभए त्यसको नतिजा अत्यन्तै नराम्रो हुने चेतावनीसमेत दिएका छन् । लाभ्रोभले अमेरिकी विदेशमन्त्री जोन केरीसँगको फोन वार्तामा उक्त चेतावनी दिएका हुन् । यसअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशको प्रतिबन्धले युद्ध निम्त्याएको बताएका थिए । ‘प्रतिबन्ध लगाएर पश्चिमी देश युद्ध गर्न चाहन्छन्,’ पुटिनले भनेका छन्, ‘युद्धका लागि पनि रुस तयार छ ।’

क्रिमियालाई रुसमा गाभिने विषयमा तयार पारिएका विभिन्न दस्ताबेजमा रुसी तथा क्रिमियाली अधिकारीबीच भएको सहमति र हस्ताक्षरपछि रुसले पश्चिमा देशलाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत आइतबार भएको जनमतसंग्रहमा क्रिमियाली जनताले क्रिमियालाई युक्रेनबाट छुट्टयाएर रुसमा गाभ्ने पक्षमा मत दिएका थिए । युक्रेनबाट छुट्टिएर क्रिमियालाई रुसको मातहतमा ल्याउने पक्षमा करिब ९६ प्रतिशत जनताले मतदान गरेको क्रिमियाली अधिकारीले जनाएका छन् । आइतबार क्रिमियामा जनमतसंग्रह सम्पन्न भएपछि सोमबार अमेरिका तथा युरोपेली संघले रुस र युक्रेनका कैयौँ अधिकारीमाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसको अर्थतन्त्र ‘तहसनहस’ पार्न अमेरिकी अधिकारीलाई आदेश दिएका छन् । अमेरिकी उपराष्ट्रपति जो वाइडेनले रुसलाई ‘जमिन हडपेको’ आरोप लगाएका छन् ।

तर, रुसी विदेशमन्त्री लाभ्रोभले अमेरिकी विदेशमन्त्री जोन केरीसँग फोनमा वार्ता गर्दै अमेरिका तथा युरोपेली संघले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वमा नराम्रो असर पर्ने बताएका छन् । उनले ती प्रतिबन्धमाथि छिट्टै छलफल नगरे नराम्रो परिणाम व्यहोर्नुपर्ने बताएका छन् ।

लाभ्रोभ र केरीबीच भएको फोनवार्तापश्चात् रुसी विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा जनाइएको छ, ‘क्रिमिया गणराज्यका नागरिकले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्र चार्टरअन्तर्गत आफ्नो प्रजातान्त्रिक हक प्रयोग गरेका छन्, जसलाई रुस सम्मान गर्दै स्वागत गर्छ । अमेरिका तथा युरोपेली संघले लगाएको प्रतिबन्ध अस्वीकार्य छ र त्यसको नतिजा अत्यन्तै नराम्रो हुने निश्चित छ ।’

क्रिमियामा युक्रेनी सेनाको हत्या

क्रिमियालाई रुसको मातहत लैजाने जनमतसंग्रहको परिणाम सार्वजनिक भएपछि क्रिमियाबाट युक्रेनी अधिकारी तथा सेना धमाधम युक्रेन फर्कंदै छन् । क्रिमियामा रुसी सेनाले विभिन्न चोक र स्थानमा कब्जा लिएका छन् भने क्रिमियाका सरकारी कार्यालयमा रुसी झन्डा फहर्‍याइएका छन् । क्रिमियाको सिम्फेरोपोलमा सैन्य हस्तक्षेप भएको र युक्रेनी तथा रुसी सेनाबीच झडप भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । युक्रेनले क्रिमियामा बुधबार युक्रेनी सेनाको हत्या भएको जनाएको छ ।

उता, क्रिमियाली अधिकारीले युक्रेनी सेनालाई क्रिमिया छाड्न निश्चित समय दिएको बताएका छन् । क्रिमियास्थित युक्रेनको सैनिक मुख्यालयमा रुसी सेनाले कब्जा गरेको र त्यहाँबाट युक्रेनी सेना फिर्ता गएको सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन पनि युद्धका लागि तयार

युक्रेनको राजधानी किभमा युक्रेनी संसद्ले क्रिमियामा भएको राजनीतिक परिवर्तन तथा जनमतसंग्रहको विरोध गरेको छ । केही समयअघि राष्ट्रपति भिक्टर यानुकोभिचलाई संसद्ले अपदस्थ गरेपछि किभमा सुरु भएको राजनीतिक संकट तथा प्रदर्शन जारी छ । केही दिनयता किभमा मस्कोसमर्थकले प्रदर्शन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २२ फेब्रुअरीमा यानुकोभिचलाई अपदस्थ गरेपछि युक्रेनी संसद्ले क्रिमियामा नयाँ सेनाप्रमुख नियुक्त गरेको थियो । तर, क्रिमियाली संसद्ले सो निणर्यलाई मान्यता दिएन । जनमतसंग्रहपश्चात् क्रिमियामा भएको युक्रेनको सम्पत्ति सबै क्रिमियाको हुनेछ । बुधबार क्रिमियामा रुसी सेनाले युक्रेनी सेना मुख्यालयबाट युक्रेनी सेना हटाएपछि युक्रेनले आफ्ना सेनालाई युद्धका लागि तयार रहन बताएको छ ।

युक्रेन सरकारले बुधबारमात्र ४० हजार युक्रेनी सेनालाई युद्धाभ्यासका लागि आदेश दिएको छ । युक्रेनका अन्तरिम राष्ट्रपति अलेक्जेन्डर टर्किनोभले क्रिमियामा भएको चुनावलाई ‘ठूलो रमाइलो’ बताएका छन् । उनले युक्रेनले कहिल्यै पनि सो मतदानलाई नस्विकार्ने बताएका छन् । उनले युक्रेनी सरकारले सेनालाई आपत्कालीन स्थिति तथा युद्धको स्थितिका लागि तयारीस्वरूप अभ्यास गर्न पनि निर्देशन दिएको जानकारी दिएका छन् ।

विश्वका नेताले के भने रुसलाई रु

क्रिमियालाई रसियामा विलय गराउने औपचारिक निर्णयलाई लिएर विश्वका नेताहरूले रुसको निन्दा गरेका छन् । उनीहरूले रुसको कदम विश्वराजनीतिबाट अलग्गिने प्रयास भएको तथा यसरी उक्त प्रायद्वीपलाई आफ्नो देशमा विलय गराउनु रुसको कानुनविपरीतको काम भएको बताएका छन् । उनीहरूले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै रुसको आलोचना गरेका छन् ।

अमेरिकाले रुसी निर्णयको कडा शब्दमा विरोध गरेको छ । अमेरिकाले रुसी कदमले स्वतन्त्र राष्ट्रका रूपमा रहेको युक्रेनको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै हमला भएको बताएको छ । अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले रुसी निर्णयले सिंगो युरोपमै हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।

त्यस्तै, जर्मनीले रुसले एकतर्फी रूपमा गरेको यस घोषणाले युक्रेनको सार्वभौमिकता र अखण्डताको अपमान गरेको बताएको छ । ‘यस्तो एकतर्फी घोषणालाई हामी कदापि स्वीकार गर्नेछैनौँ,’ जर्मन चान्सलर एन्जेला मर्केलले प्रतिक्रिया दिएकी छिन् ।

त्यस्तै, युरोपेली युनियनले पनि यस निर्णयलाई अस्वीकार गर्ने जनाएको छ । क्रिमियामा भएको जनमतसंग्रह जनताको अभिमतबाट भन्दा पनि रुसद्वारा एकतर्फी रूपमा गराइएको युनियनले जनाएको छ । रसियाली सैनिकको हस्तक्षेपमा जनमतसंग्रह गरिएको भन्दै क्रिमियामा गत आइतबार सम्पन्न जनमतसंग्रह गैरकानुनी भएको र त्यसलाई स्वीकार गर्नै नहुने युरोपेली युनियनले विज्ञप्तिमार्फत् जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले पनि क्रिमियाको यो पछिल्लो जनमतसंग्रहले विश्वमा शान्तिको स्थापनामा सघाउने नभई विद्रोह र विग्रह ल्याउन सक्ने भन्दै सबैखालका समस्याको समाधानका लागि शान्तिपूर्ण रूपमा वार्ता थाल्न सबै पक्षलाई आग्रह गरेका छन् ।

फ्रान्सका राष्ट्रपति फ्रास्वाँ होल्यान्डले १६ मार्चमा क्रिमियामा भएको जनमतसंग्रहलाई फ्रान्सले कुनै पनि अर्थमा नस्वीकार्ने भन्दै यसका लागि सिंगो युरोपको सहमति र सहकार्यमात्र आवश्यक भएको बताएका छन् ।

बेलायतका विदेशमन्त्री विलियम हेगले बेलायतले सो जनमतसंग्रहलाई मान्यता नदिने भन्दै रुसले विश्व राजनीतिमा एकलकाटे नीति रोजेकामा दुस्ख लागेको बताएका छन् ।

अस्ट्रेलियाली विदेशमन्त्री जुली विसपले विश्वको कानुनी मान्यताविपरीत जाने क्रिमियालाई आर्थिक नाकाबन्दीका साथै आगामी दिनमा आफ्ना नागरिकको यात्रामा पनि प्रतिबन्ध लगाउने जनाएका छन् ।

जापानले रसियाको यस निर्णयबाट युक्रेनको राष्ट्रियता, एकता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको हनन गरेको भन्दै रसियाविरुद्ध नाकाबन्दी लगाउने बताएको छ ।

युक्रेनले पनि रसियाले क्रिमियालाई विलय गराउन फोहोरी खेल खेलेको मात्र नभई आफ्नो देशको सार्वभौमिकतामाथि नै धावा बोलेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको