परीक्षार्थीभन्दा निरीक्षक धेरै निष्कासन

७ चैत्र २०७०, शुक्रबार ०७:२७ मा प्रकाशित


काठमाडौं, ७ चैत । एसएलसी परीक्षा व्यवस्थित र मर्यादित बनाउन खटिएका निरीक्षक नै निष्कासनमा परेका छन् । परीक्षाको पहिलो दिन बिहीबार तराईका जिल्लामा परीक्षार्थीको तुलनामा निरीक्षक धेरै निष्कासन भएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाको मर्यादा उल्लंघन गर्ने २५ निरीक्षक तथा दुई कार्यालय सहयोगी निष्कासनमा परेका छन् । केन्द्रीय तथा जिल्लास्तरीय अनुगमन टोलीले अनुगमनका क्रममा निरीक्षकहरूलाई निष्कासन गरेको परीक्षा नियन्त्रक विष्णु द्वारेले बताए ।

‘तराईका जिल्लामा धेरै निरीक्षक निष्कासनमा परेका छन्,’ नियन्त्रक द्वारेले भने, ‘विद्यार्थीलाई सहयोग गर्न खोज्ने निरीक्षक निष्कासनमा परेका हुन् । परीक्षामा केही नक्कली र केही परीक्षाको मर्यादाविपरीत गर्ने विद्यार्थीसमेत निष्कासनमा परेका छन् ।’

पनिकाका अनुसार सबैभन्दा धेरै बारामा १२ जना निरीक्षक निष्कासित भएका छन् । सो जिल्लामा एकजना नक्कली विद्यार्थी पक्राउ परेका छन् । त्यस्तै धनुषामा दुई, महोत्तरीमा तीन, सिरहामा दुई, जाजरकोटमा दुई, सप्तरीमा एक, सर्लाहीमा एक, पर्सामा एक, रौतहटमा एक गरी २५ निरीक्षक र जाजरकोटबाट दुईजना कार्यालय सहयोगी निष्कासनमा परेको पनिकाले जनाएको छ ।

देशभरबाट नक्कली तथा परीक्षाको मर्यादा उल्लंघन गर्ने ३९ विद्यार्थी निष्कासनमा परेका छन् । बारा तथा पर्सामा एकरएकजना नक्कली तथा गुल्मीमा आफैँ उत्तरपुस्तिका बोकेर हिँड्ने एकजना विद्यार्थी निष्कासनमा परेका छन् । त्यसैगरी, जाजरकोटमा सात, सप्तरीमा ११, रौतहटमा एक, महोत्तरीमा नौ, सल्यानमा ११ विद्यार्थी निष्कासित भएका छन् । सर्लाहीमा १६ विद्यार्थीलाई सामान्य कारबाही गरिएको पनिकाले जनाएको छ ।

नियन्त्रक द्वारेले केही निरीक्षक, विद्यार्थी पक्राउ परे पनि देशभर शान्तपूर्वक परीक्षा सञ्चालन भएको बताए । काठमाडौं उपत्यकामा उल्लेखनीय घटना नभएको पनिकाले जनाएको छ । पनिकाका अनुसार भक्तपुरमा केही परीक्षार्थी अनुपस्थित भएका छन् ।

परीक्षामा अनियमितता गर्नेलाई शिक्षा ऐन, नियम तथा निर्देशिकाअनुसार कारबाही हुने पनिकाले जनाएको छ । शिक्षा ऐनका दफा १७ अनुसार परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिविना प्रवेश गर्ने प्रयत्न गरेमा वा परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादाविपरीत कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्रा हेरी एक लाखसम्म जरिवाना वा ६ महिना वा दुवै सजाय हुनेछ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ मा परीक्षाको गरिमा र शुद्धता कायम गराउन आफ्नै विद्यालयका परीक्षार्थी रहेका केन्द्रमा सम्बन्धित विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षक राख्न नपाउने व्यवस्था छ । परीक्षामा कुनै परीक्षार्थीले कुनै किसिमको अनियमित वा अनुशासनहीन कार्य गरेमा कुनै विषयको मात्र वा सबै विषयको परीक्षा रद्द गरी बढीमा अर्को एक वर्षसम्मको परीक्षामा सम्मिलित हुन नपाउने गरी कारबाहीको सिफारिस गर्न सकिने पनि निर्देशिकामा छ । परीक्षामा अनियमित वा अनुशासनहीन कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक वा कर्मचारीलाई तत्कालै हटाई विभागीय कारबाहीको सिफारिस गर्नेसमेत निर्देशिकामा उल्लेख छ ।

केन्द्राध्यक्षको निर्देशनमा पनि परीक्षा समयमा कसैले अनियमित कार्य गरे निष्कासन गर्न सकिने उल्लेख छ । परीक्षा केन्द्रमा असर पर्ने र अरू परीक्षार्थीलाई बाधा–व्यवधान हुने सम्भावना देखिएमा परीक्षा सकिएपछि गोप्यरूपले केन्द्राध्यक्षले अनियमित परीक्षार्थीको परीक्षा रद्दको सिफारिस गर्न सक्ने व्यवस्था छ । नक्कली परीक्षार्थीले दिएको परीक्षा पनि रद्द हुनेछ ।

यस वर्षको एसएलसीमा देशभरबाट पाँच लाख ६६ हजार ८५ परीक्षार्थी परीक्षामा सहभागी छन् । नियमिततर्फ चार लाख १९ हजार तीन सय ५२ र एक्ज्याम्टेडतर्फ एक लाख ४६ हजार सात सय ३३ छन् । काठमाडौंबाट ८७ परीक्षा केन्द्रमा सबैभन्दा बढी ३३ हजार ८५ परीक्षार्थी छन् भने मनाङमा सबैभन्दा कम ८८ परीक्षार्थी छन् । यस वर्ष ५६ विषयका प्रश्नपत्र तयार पारिएको छ ।

देशभरमा एक हजार आठ सय ३६ केन्द्राध्यक्ष, दुई हजार सात सय ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार पाँच सय ९३ निरीक्षक, सात हजार पाँच सय ३० सहयोगी र १८ हजार तीन सय ६० सुरक्षाकर्मी खटिएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा