बमकाण्डका आरोपी साहका सहयोगी पनि फरार

५ चैत्र २०७०, बुधबार ०७:१८ मा प्रकाशित

जनकपुर, ५ चैत । जनकपुर बमकाण्डमा संलग्नको आरोपमा सभासद् सञ्जय साह टक्लालाई वारेन्ट जारी भएपछि उनका सहयोगी पनि फरार भएका छन् । साहका व्यापार तथा अन्य कारोबारमा संलग्न मुख्य व्यक्ति मानिएका रामविनोद यादव तीन दिनदेखि सम्पर्कविहीन छन् ।

साहनिकट रहेका राजकुमार यादव र छेदी यादवसमेत फरार भएका छन् । राजनीतिक रूपमा उनीहरू संविधानसभा निर्वाचनअघि नै साहको साथ छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । तर, प्रहरीले साहलाई पक्राउ पुर्जी जारी गरेपछि उनीहरू पनि सम्पर्कमा छैनन् ।

बमकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि साहको विषयमा उनको पार्टीले केही निर्णय गरेको छैन । उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका उपाध्यक्ष हुन् । सद्भावना पार्टीका धनुषाका एक पुराना नेताले केन्द्रबाट कुनै निर्देशन नआएकाले साहका विषयमा कुनै निर्णयमा नपुगेको बताए । ‘अहिलेसम्म कुनै निर्देशन आएको छैन, निर्देशन आएपछि निर्णय गर्छौँ,’ ती नेताले भने, ‘पाँचजनाको ज्यान जाने गरी भएको बमकाण्डमा संलग्न जो–कोहीमाथि पनि कारबाही हुनुपर्छ । तर, घटनाको अनुसन्धान कसैको दबाब वा प्रलोभनमा हुनुहुँदैन ।’

जनकपुरको रामानन्दचोकमा १८ वैशाख ०६९ मा भएको बम विस्फोटमा पाँचजनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए । सो घटनाका मुख्य नाइके अर्जुन सिंह भनिने मुकेश चौधरीले विस्फोटक पदार्थ साहले दिएको बताएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

साह मंगलबारसम्म पक्राउ नपरेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । बमकाण्डका नाइके मुकेश चौधरी र साहकै तत्कालीन सहयोगी ओमप्रकाश यादव पक्राउ परेपछि विस्फोटमा साहको संलग्नता पुष्टि भएको सुवेदीको भनाइ छ ।

‘चौधरी र यादवको बयानका साथै अन्य प्रमाणका अधारमा साह नै विस्फोटका मुख्य योजनाकार देखिएको छ,’ प्रहरी उपरीक्षक सुवेदीले भने, ‘चौधरीको पोलिग्राफ परीक्षण तथा अन्य अनुसन्धानले साहको संलग्नता पुष्टि भएको छ । उनलाई चाँडै पक्राउ गरी प्रमाणसाहित अदालतमा उपस्थित गराउँछौँ ।’

बमकाण्डको अनुसन्धानका क्रममा जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका धेरै रहस्य खुलेको पनि प्रहरी उपरीक्षक सुवेदीले दाबी गरे । सञ्चारकर्मीसँग उनले भने, ‘सिंघानिया घटनाको अनुसन्धान भइरहेकाले तत्काल थप उल्लेख गर्न मिल्दैन, केही दिनमै तपाईंहरूलाई सबै जानकारी गराउँछु ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र