कांग्रेसमा कार्यवाहक सभापतिको किचलो

४ चैत्र २०७०, मंगलवार ०७:०३ मा प्रकाशित

काठमाडौ, ४ चैत्र । कांग्रेसमा कार्यवाहक सभापतिको विवाद बल्झेको छ । सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई कार्यवाहक सभापति दिन नमानेपछि पार्टी उपसभापति रामचन्द्र पौडेल असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्री कोइराला विमस्टेक बैठकबाट फर्केलगतै पौडेलले सहमतिअनुसार कार्यवाहक दिन माग गरेका थिए । त्यतिबेला कोइरालाले मौखिक रूपमा उनलाई पार्टी सञ्चालन गर्न भनेका थिए । पौडेलले लिखित रूपमै माग गर्दा भने कोइराला मौन रहेको स्रोतले बतायो । ‘तपाईं उपसभापति हो, कार्यवाहक सभापतिकै हैसियतमा काम गर्नुहोस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘तर पौडेलजीले लिखित नभई पार्टी सञ्चालन गर्ने अधिकार नहुने बताउँदै आउनुभएको छ ।’

संसदीय दलको नेता निर्वाचनका बेला कार्यवाहक सभापति पाउने सहमतिमा पौडेलले कोइरालालाई सघाएका थिए । पौडेल निकट नेताहरूले कार्यवाहक सभापति दिने, संविधान जारी भएपछि सरकारको नेतृत्व छाड्नेलगायत एघार बुँदे सहमतिपछि मात्र त्यतिबेला कोइरालालाई सहयोग गरेको बताएका छन् ।

महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू महेश आचार्य र दीपकुमार उपाध्यायको पहलमा दलको नेता निर्वाचनको अघिल्लो दिन माघ ११ गते त्यस्तो सहमति भएको थियो । पौडेलले त्यसै दिन सहमतिबारे सार्वजनिक गरेका थिए ।

पौडेलसँगको सहमतिपछि त्यतिबेला वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष चिढिएको थियो । मुख्य पक्षलाई बेवास्ता गरी आफ्नै समूहभित्र सहमति गरेको भन्दै देउवा कोइरालासँग चुनाव लडेका थिए ।

प्रधानमन्त्री भएको पाँच साता नाघिसक्ता पनि कार्यवाहक नदिएपछि पौडेल प्रधानमन्त्री निवास नै बिरलै जान थालेका छन् । विशेष काम हुँदा मात्र जान्छन् । ‘सभापतिले कार्यवाहक दिने प्रतिबद्धता गरेको भनेर दलको निर्वाचन हुने अघिल्लो दिन उपसभापति पौडेलजीले हामीलाई र सार्वजनिक रूपमा बताइसक्नुभएको हो,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘कांग्रेसमा बोल्ने तर नगर्ने विशेष चरित्र नै स्थापित भएको छ ।’

कोइराला निकट केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने यसबारे कुनै सहमति नभएको दाबी गरे । ‘कुनै व्यक्तिले आफैंले घोषणा गरे भनेर त्यसैलाई सहमति भन्न मिल्छ ?’ उनले भने, ‘कसैले प्रधानमन्त्री दिने सहमति भएको थियो भनेर भन्ला, त्यसलाई पनि मान्ने ?’

पौडेललाई कार्यवाहक सभापति दिँदा देउवा पक्ष चिढिने र त्यसको असर सरकारमा पर्ने कोइरालाको चिन्ता छ । ‘पार्टीको शक्ति केन्द्र आफैंमा केन्द्रित गर्ने मनोभावना पनि कोइरालाको देखिन्छ,’ पार्टीका एक नेताले भने, ‘यो विषय अब हुने पार्टी बैठकमा उठ्छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार