क्रिमियामा जनमतसंग्रह

३ चैत्र २०७०, सोमबार ०७:२५ मा प्रकाशित

एजेन्सी


क्रिमिया, ३ चैत । युक्रेनको स्वामित्वमा रहेको क्रिमियाका जनताले क्रिमिया युक्रेनबाट पृथक् भएर रसियामा समावेश हुने वा युक्रेनकै मातहतमा रहने भन्ने निष्कर्ष निकाल्न आइतबार जनमतसंग्रहमा भाग लिएका छन् । अमेरिका, फ्रान्स, बेलायतलगायत पश्चिमा देशले विरोध गरेको र रुस तथा चीनले समर्थन गरेको जनमतसंग्रहका कारण युरोपको पूर्वी भागमा अस्थिरता बढेको विश्लेषण छ ।

मस्कोसमर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई युक्रेनी संसद्ले अपदस्थ गरेपछि युक्रेनको मातहतमा रहेको क्रिमियामा व्यापक प्रदर्शन भएको थियो । क्रिमियामा जारी हिंसा तथा संकट अन्त्य गर्न क्रिमियाको संसद्ले जनमतसंग्रहको घोषणा गरेको थियो । युक्रेनी सरकार तथा पश्चिमा देशले जनमतसंग्रह अवैधानिक बताउँदै त्यसको नतिजा अस्वीकार गर्ने बताएका छन् । तर, मस्कोले क्रिमियाली जनताले चुनेको कुरा नै अन्तिम सत्य हुने भन्दै जनमतसंग्रहको स्वागत गरेको छ । आइतबार सम्पन्न जनमतसंग्रहको परिणाम आज ९सोमबार० सार्वजनिक गरिने अनुमान छ । जनमतसंग्रहमा अधिकांश जनताले क्रिमियालाई रुसको हिस्सा बनाउनेमा मतदान गरेको विश्लेषण छ । तर, क्रिमियाको तातर समुदायले भने जनमतसंग्रह बहिष्कार गरेको छ । क्रिमियाली सरकारले १५ लाख नागरिकलाई मतदानमा भाग लिएर आफ्नो भविष्यबारे निर्णय गर्न आग्रह गरेको थियो ।

क्रिमियाको राजधानी सिम्फरोपोलको एक मतदान केन्द्रमा पुगेका बिबिसीका संवाददाताले सो मतदान केन्द्रमा उत्साही रूपमा क्रिमियाली जनताले सहभागिता जनाएको बताएका छन् । ‘मतदान सुरु भएको पहिलो १० मिनेटमा नै सयौँ मानिस मतदान केन्द्रमा पुगेका थिए,’ उनको भनाइलाई बिबिसी अनलाइनको हिन्दी संस्करणमा उल्लेख गरिएको छ ।

क्रिमियामा जनमतसंग्रहलाई समर्थन गरेको आरोपमा अमेरिका तथा युरोपेली संघले रुसी अधिकारीलाई प्रतिबन्ध लागू गर्ने चेतावनी दिएका थिए । तर, रुसी अधिकारीले स्वतन्त्रताका लागि क्रिमियाली जनताले नै निर्णय लिने भन्दै क्रिमियाली संसद्को कदमलाई स्वागत गरेका थिए । शुक्रबार लन्डनमा भएको अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभबीचको छलफलमा कुनै निष्कर्ष ननिस्केपछि क्रिमियाली क्षेत्रमा थप संकट गहिरिने अनुमान गरिएको थियो । तर, आइतबार जनमतसंग्रह भएपछि क्रिमियाली नेताले भने, ‘क्रिमियाको भविष्य अब क्रिमियाली जनताकै हातमा छ । यसले क्रिमियामा व्याप्त संकट समाधान गर्ने अनुमान गर्न सकिन्छ ।’ क्रिमियाले जनमतसंग्रहलाई विदेशी सुपरिवेक्षकले अनुगमन गरेको बताएको छ ।

सन् १९५४ सम्म तत्कालीन सोभियत संघको अधीनमा रहेको क्रिमियालाई युक्रेनको मातहतमा सोभियत संघले दिएको थियो । सन् १९९८ मा स्वतन्त्र संविधान पारित गरेको क्रिमियामा ५८ प्रतिशत रुसी मूलका मानिस छन् । रुसी मूलका मानिसले क्रिमियालाई युक्रेनको मातहतमा सुम्पिनु नै ऐतिहासिक गल्ती भएको बताउँदै आएका छन् । त्यसैले, आइतबार हुने मतदानमा क्रिमियालाई रुससँग मिलाउनुपर्नेमा बहुमत प्राप्त हुने निश्चितप्रायस् छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३