रहस्यमयी १० विमान दुर्घटना

२ चैत्र २०७०, आईतवार ०७:५३ मा प्रकाशित

गत शनिबार मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको मलेसियाली विमान एमएच–३७० हराइरहेको छ । शनिबारबाट सुरु भएको खोजी अभियान बिहीबारसम्म पनि चलिरहेको छ । खोजी अभियान बढाइएको छ, विभिन्न देशले बेपत्ता विमान खोज्न सहयोग गरिरहेका छन् । तर, बिहीबारसम्म पनि विमान कर्मचारीसहित दुई सय ३९ जनालाई लिएर उडेको विमानको कुनै पत्तो लागेको छैन । बेपत्ता विमानबारे विभिन्न अनुमान बाहिर आएका छन् । लामो समयसम्म विमान बेपत्ता भएपछि विश्वमै आश्चर्य मानिएको छ । तर, विमान बेपत्ता भएको यो पहिलोपटक भने होइन । यसअघि पनि कैयौँ विमान बेपत्ता भएका छन्, विमान दुर्घटना रहस्यमयी बनेका छन् । प्रस्तुत छ, तीमध्ये रहस्यमयी १० विमान दुर्घटना :

१. एमिलिया इअरहार्ट

आजसम्मको सबैभन्दा रहस्यमयी विमान दुर्घटना महिला विमान चालक एमिलिया इआरहार्टसँग सम्बन्धित छ । उनले चलाएको विमानले विश्व भ्रमण गर्ने योजना थियो । विश्व भ्रमण गर्ने सिलसिलामा नै १९३७ मा प्रशान्त महासागरमाथिको आकाशमा अन्तिमपटक सम्पर्कमा आएको थियो । महासागरमाथिको आकाशबाट सम्पर्कमा आएको विमान केही समयपछि भने बेपत्ता भयो । दुई इन्जिन भएको सो विमानकाृ खोजी कार्यमा खोजकर्ताले वर्षांै खर्चिए । तर, विमानबारे कुनै जानकारी पत्तो लागेन । दुई वर्षपछि एमिलियालाई मृत घोषणा गरियो, तर विमानको खोजी कार्य जारी राखियो । आजसम्म पनि सो विमानबारे कुनै सूचना प्राप्त भएको छैन ।

२. एयर फ्रान्स फ्लाइट ४४७

सन् २००९ मा रियो दी जेनेरियोबाट पेरिसका लागि उडान भरेको विमान एयर फ्रान्स फ्लाइट ४४७ को भग्नावशेष पनि बेपत्ता भएको पाँच दिनपछि मात्र पाइएको थियो । सो विमानको ब्ल्याकबक्स भने सन् २०१२ को अन्त्यमा मात्र पाइयो । चार हजार मिटरको सामुद्रिक गहिराइमा पाइएको सो ब्लयाकबक्सको अध्ययनपश्चात् खोजकर्ताले सो विमानको गति नियन्त्रण गर्ने उपकरण चिसिएर काम गर्न नसकेपछि सो दुर्घटना भएको बताएका छन् । तर, एयर फ्रान्सले सो आरोप स्वीकार गरेको छैन । सो विमानमा दुई सय २८ यात्री सवार थिए । सबैको दुर्घटनामा मृत्यु भएको थियो ।

३. इजिप्ट एयर फ्लाइट ९९०

न्युयोर्कको जेएफके विमानस्थलबाट इजिप्टको कायरोका लागि सन् १९९९ अक्टोबरमा उडेको इजिप्ट एयर फ्लाइट ९९० एटलान्टिक महासागरमा डुबेको थियो । सो विमानमा दुई सय १७ जना सवार थिए । लामो समय उक्त विमान पनि भेटिएन । सो विमान दुर्घटनाको कारण पनि रहस्यमयी नै छ । अन्तर्राष्ट्रिय जल क्षेत्रमा परेकाले सो विमानबारे अनुसन्धान अमेरिकाले सुरु गर्‍यो । अमेरिकाको निष्कर्ष थियो– विमानका चालकलाई यौनदुव्र्यवहारको आरोप लागेकाले सो विमान दुर्घटना गराए । तर, पछि इजिप्टका जाँचकर्ताले विमान दुर्घटनाको कारण इन्जिनको खराबी भएको बताए ।

४. ‘एलियनले लग्यो विमान’

सन् १९४७ मा स्टार डस्ट नामको बेलायती एक विमान सेन्टियागोदेखि अर्जेटिनासम्मको आफ्नो नियमित उडानका क्रममा अर्जेन्टिनाको एन्डिज पहाडमा दुर्घटना भयो । उक्त समयमा विमानको खोजी भए पनि केही पत्ता लाग्न सकेन । त्यतिवेला विभिन्न अनुमान गरियो । कतिले भने– एलियनले लग्यो विमान । तर, ५० वर्षपछि पहाड चढ्न गएका मानिसले सो विमानको भग्नावशेष भेट्टाए ।

५. बरमुडा त्रिकोण

बरमुडा, फ्लोरिडा तथा प्युत्रो रिकोको समुद्री क्षेत्रमा एक काल्पनिक त्रिकोणीय बिन्दु छ जसलाई बरमुडा त्रिकोण भनिन्छ । बरमुडालाई कैयौँ पानीजहाज तथा विमानको दुर्घटनाको कारण पनि मानिन्छ । सन् १९४० मा ब्रिटिस साउथ अमेरिकन कम्पनीका दुई विमान सोही क्षेत्रमा बिलाएका थिए । त्यतिवेला हराएका दुवै विमानबारे विभिन्न अनुमान भए पनि तिनको दुर्घटनाको कारण आजसम्म पत्तो लागेको छैन ।

६. उरुग्वे एयरफोर्स फ्लाइट ५७१

अर्जेन्टिनाको पहाडमा नै ठोक्किएर भएको दोस्रो विमान दुर्घटना थियो– उरुग्वे एयरफोर्स फ्लाइट ५७१ को । उरुग्वेबाट सेन्टियागोका लागि उडेको विमानको दुर्घटना अर्जेन्टिनाको एन्डिज पर्वतमा ठोक्किएर भएको थियो ।

सो दुर्घटनामा विमानमा सवार ४५ जनामध्ये आधा मानिस ७२ दिनसम्म पनि जिउँदै पहाडमा फसेका थिए । तर, पछि उद्धारकर्ताले १६ जनालाई मात्र जीवितै उद्धार गर्न सके । उद्धार गरिका मानिसले बाँच्नका लागि आफूहरूले मरेका मानिसको मासु खाएको बताएका थिए । सोही दुर्घटनामा बाँचेका मानिसको भनाइमा आधारित रहेर सन् १९९३ मा ‘अलाइभ’ नामक चलचित्र पनि बनेको थियो ।

७. टिडब्लुए ८००

१७ जुलाई १९९६ मा ट्रान्सवल्र्ड एयरलाइन्सको विमान ८०० न्युयोर्कको जेएफके विमानस्थलको रनवेबाट टेक अफ लिनेबित्तिकै विस्फोट भयो । विमानमा सवार दुई सय ३० यात्रुको घटनास्थलमा नै मृत्यु भयो । जाँचकर्ताले सो विमान दुर्घटना हुनुको कारण विद्युत् सर्किटमा खराबी आएको बताए । तर, अमेरिकी राष्ट्रपति केनेडीका सञ्चार संयोजक रहेका पत्रकार पियरे सेलिंगरले सो दुर्घटनाको कारण अमेरिकाले गरेको मिसाइल परीक्षण भएको बताएका थिए । उनले दिएका तर्क तथा सम्बन्धित प्रमाणलाई अमेरिकाले अविश्वसनीय बतायो । तर, सो विमान दुर्घटना अझै पनि रहस्यमै छ ।

८. युएस आर्मी एयर कप्र्स बी–२४ डी

दोस्रो विश्वयुद्धताका अमेरिकी बमवर्षक विमान सन् १९४३ को अप्रिलमा इटालीमा एक मिसनका लागि गयो । तर, त्यो विमान गन्तव्यमा पुग्न पाएन । विमानमा सवार नौजनाको मृत्यु भयो । विमानलाई लामो समय खोजी गरियो । १५ वर्षपछि मात्र विमान फेला पर्‍यो । १५ वर्षपछि फेला परे पनि विमानमा रहेको बमवर्षक उपकरण तथा मेसिनगनमा भने कुनै खराबी देखिएको थिएन ।

९. स्टिभ फोसेटको दुर्घटना

अमेरिकी साहसिक यात्री स्टिभ फोसेटले दोस्रोपटक इन्धन नभरी एक्लै विमान चलाएर विश्व परिक्रमा गर्ने रेकर्ड त बनाएका थिए, तर सन् २००७, ३ नोभेम्बरमा उनले भरेको एक उडान कहिल्यै जमिनमा फर्केन । ६३ वर्षीय स्टिभको विमान २००७ को नोभेम्बरमा बेपत्ता भए पनि २००८ मा मात्र भेट्टाइयो । त्यो पनि व्यापक मानिस तथा प्रविधि परिचालन गरेर । त्यसका लागि ‘गुगल अर्थ’को पनि सहयोग लिइएको थियो ।

१०. फेसन बोसको प्राइभेट प्लेन

इटालीका फेसन डिजाइनर तथा निर्देशक मिसोनीको प्राइभेट प्लेन सन् २०१३ को जनवरीमा भेनेजुएलाको समुद्रमा खस्यो । मिसोनी र उनकी पत्नीसहित ६ जना सवार रहेको सो विमान पनि राडार सम्पर्कबाट अचानक हराएको थियो । ६ महिनासम्म पनि सो विमानबारे केही पत्तो लागेन । ६ महिनापछि सबै यात्रुको मृत्यु भएको घोषणा गरियो । भेनेजुएलाको उक्त सामुद्रिक क्षेत्रमा विमान हराएको यो दोस्रोपटक हो । त्यसपछि सो क्षेत्रलाई ‘नयाँ बरमुडा त्रिकोण’ भनिन्छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् ।

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

आजको प्रमुख समाचार