अत्यावश्यक खर्च कसरी चलेको थियो ?

२ चैत्र २०७०, आईतवार ०७:१८ मा प्रकाशित

काठमाडौं, २ चैत । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले आफूसित सम्पत्तिका नाममा तीनवटा मोबाइल सेट मात्र रहेको विवरण दिएका छन् । उनले आफूलाई ‘सर्वहारा’का रूपमा चिनाउन खोजेका छन् ।

कुनै लाभको पदमा नरहेका कोइरालासित सम्पत्तिका नाममा फुटेको कौडी नभए अहिलेसम्म गुजारा कसरी गरिरहेका थिए ? प्रधानमन्त्री बन्नुअघि उनको पकेट खर्चदेखि घरखर्च, सचिवालय, यातायातलगायत अत्यावश्यक खर्च कसरी चलेको थियो ? कोइरालानिकटस्थहरू पनि उनीसित सम्पत्ति केही नभएको दाबी गर्छन्, तर खर्चको स्रोत भने प्रस्ट देखाउन सक्दैनन् ।

महाराजगन्जस्थित कोइरालानिवासको घरभाडा पार्टीले तिर्दै आएको चर्चा चल्ने गर्छ । तर, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सभापतिको घरभाडा पार्टीले व्यहोर्नेबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव चीनकाजी श्रेष्ठले पनि त्यसलाई अस्वीकार गरे ।

कोइराला परिवारकै सदस्य र इष्टमित्रले आर्थिक सहयोग गरेको हुनसक्ने मुख्यसचिव श्रेष्ठको भनाइ छ । ‘सधैँ त्यागी नेताको परिचय पेस गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘उहाँको घरायसी खर्च पार्टीले व्यहोरेको जानकारी छैन । पार्टीको खर्च गर्न मान्नुहुन्थेन । गिरिजाबाबुको मृत्यु भएपछि कोइराला परिवारले नै उहाँलाई महाराजगन्जमा सारेका हुन् । उहाँको खर्च पनि शशांक, शेखर र सुजाता कोइरालाले धान्दै आएका छन् ।’ बिपीपुत्र शशांकले सुशीललाई आफ्नै निवासमा सार्न खोजे पनि कोइराला सरेनन् । करिब दुई वर्षअघि कोइरालाले आपैँm घर सर्ने बताए पनि नसरेका हुन् ।

०१७ मा राजा महेन्द्रको ‘कु’सँगै निर्वासित जीवन बिताउन बाध्य भएका कोइरालाले बिपीको सहयोगीका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । पछि स्वर्गीय गिरिजाप्रसादनिकट रहेर उनले काम गरे । गिरिजाले काठमाडौंको बाँसबारीमा खोलेको सम्पर्क कार्यालयमा उनी आठ वर्ष बसे । त्यसपछि बुद्धनगरस्थित भान्जा रमेश शर्माको घरमा बसेपछि उनी गिरिजाप्रसादको निधनपछि महाराजगन्ज सरेका हुन् ।

‘०४८ देखि ०५६ सम्म गिरिजाबाबुले खोल्नुभएको सम्पर्क कार्यालय कुरेर उहाँ बस्नुभयो,’ श्रेष्ठले भने, ‘०५६ पछि गिरिजाबाबुको निधन नहुँदासम्म उहाँ भान्जाको घर बुद्धनगरमा बस्नुभयो ।’ ७ चैत ०६६ मा गिरिजाको निधनको केही समयपछि सुजातासहितका कोइराला परिवारकै आग्रहमा सुशील महाराजगन्ज सरेका थिए । डेराको घरमा सरेपछि दुईजना भान्से र सचिवालयका दुई–तीन सहयोगीका साथ उनी महाराजगन्ज बस्दै आएका थिए । प्रधानमन्त्री भएपछि कोइराला सरकारी निवास बालुवाटार सरेपछि महाराजगन्जको घरमा अहिले सुरक्षाकर्मी मात्र छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार कोइराला महाराजगन्जको घर खाली गराउने पक्षमा छैनन् ।

प्रधानमन्त्री बन्नुअघि कोइरालाले चढ्ने गाडी पार्टीकै नेता तथा शुभेच्छुकले सहयोग गरेका हुन् । कांग्रेस स्रोतका अनुसार सभासद् दीपक खड्काले कोइरालालाई गाडी उपलब्ध गराएका हुन् । ‘खर्चको विषयमा प्रधानमन्त्री निकै सचेत हुनुहुन्थ्यो,’ कांग्रेस स्रोतले भन्यो, ‘सभापति भएपछि दीपक खड्कासहितका नेताले गाडी सहयोग गर्नुभएको थियो । जिल्ला जाँदा पनि स्थानीय नेता र सभासद्लाई गाडी र प्लेनभाडा मिलाइदिन आग्रह गर्नुहुन्थ्यो ।’

अविवाहित कोइराला गृहजिल्ला बाँके जाँदा भाइको घरमा बस्ने गर्छन् । उनी बाँके कांग्रेस सभापति तथा भाइ डा. अरुण कोइराला र विजय कोइरालाको घरमा बस्ने गर्छन् । ‘उहाँले पैतृक सम्पत्ति लिन वास्ता गर्नुभएन,’ भाइ अरुणले भने, ‘राजनीतिमा सक्रियतापूर्वक लागेपछि त्यसमै रमाउनुभयो । बाँके आउँदा हाम्रै घरमा बस्नुहुन्छ ।’ विराटनगर जाँदा भने कोइराला भाइ अशोक र कोइराला परिवारका सदस्यको घरमा बस्ने गर्छन् ।

राजनीतिक विश्लेषक तथा प्राध्यापक कपिल श्रेष्ठले प्रधानमन्त्री कोइराला आर्थिक रूपमा स्वच्छ छविका व्यक्ति भएको बताउँछन् । ‘पहिले त उहाँका कपडा पनि गतिला हुन्थेनन् । दुई–तीन जोर सर्ट–पाइन्ट थिए होलान्, त्यो पनि कार्यकर्ताले दिएको,’ श्रेष्ठले भने, ‘किसुनजी जस्तै उहाँ पनि आर्थिक मामिलामा सफा देखिनुहुन्छ । मैले थाहा पाएसम्म जहान नभएका उहाँसँग नगद र गरगहना छैनन् ।’

तर, राजनीतिक नेतृत्वमा पुगिसकेको व्यक्तिका लागि तीनवटा मोबाइल फोन सेटले मात्रै त्याग र योगदान नहुने श्रेष्ठको भनाइ छ । ‘सम्पत्ति कति छ वा छैन मुख्य विषय होइन,’ उनले भने, ‘उहाँ राजनीतिक नेतृत्वमा पुग्नुभएको छ । जनताप्रति जिम्मेवार भएर राजनीतिक व्यवस्थापनमा काम गर्न सके मात्र उहाँलाई सफल मान्न सकिन्छ । तीनवटा मोबाइल फोन सेट छ भन्दैमा मात्र जनतालाई चित्त बुझ्दैन ।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाले मोबाइलबाहेक सम्पत्तिको नाममा सुन, नगद रुपैयाँ र घर–जग्गा केही नभएको दाबी गर्दै बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पत्ति विवरण बुझाएका थिए । उनको सम्पत्ति विवरणमा तीनवटा मोबाइल फोनमा पनि एउटा नयाँ, एउटा पुरानो र एउटा बिग्रेको भन्ने छ । हातमा लगाएको औँठी र घडीको विषय कोइरालाले विवरणमा उल्लेख गरेका छैनन् ।

कोइरालाको नाममा बैंकखातासमेत नभएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले बताए । ‘उहाँको बैंकखातासमेत छैन । प्रधानमन्त्री भएपछि तलबसुविधाका लागि अबचाहिँ बैंकखाता खोल्ने तयारी छ ।’ उनी २७ माघमा प्रधानमन्त्री चुनिएका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार