किन बढ्छ तेलको मूल्य ?

१ चैत्र २०७०, शनिबार ०७:४० मा प्रकाशित


काठमाडौं, १ चैत । दूधको मूल्य बढेको एक साता नबित्दै सरकारले अर्को अत्यावश्यक दैनिक उपभोग्य वस्तु पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले चालू वर्षमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको यो तेस्रोपटक हो ।

शनिबार उपभोक्ता अधिकार दिवस मनाउने तयारी भइरहेका वेला आयल निगम सञ्चालक समितिले खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य शुक्रबारबाट लागू हुने गरी वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टीतेलमा समान ६ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ । वृद्धिपछि उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४० र डिजेल तथा मट्टीतेलको मूल्य समान एक सय नौ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आन्तरिक हवाई इन्धनमा ६ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा सय डलर प्रतिकिलोलिटर मूल्यवृद्धि भएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । वृद्धिपछि आन्तरिक हवाई इन्धनको मूल्य एक सय ४३ र बाह्य हवाई इन्धनको मूल्य एक हजार चार सय डलर प्रतिकिलोलिटर पुगेको छ ।

यसअघि चुनावी सरकार रहेका वेला निगमले २७ साउन र २६ भदौमा एक महिनामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमको दबाब भए पनि चुनावी सरकारले तेस्रोपटक मूल्य बढाउन नमानेपछि नयाँ सरकार आएलगत्तै पेट्रोलियमको मूल्य बढेको हो ।

मूल्य बढेपछि पनि मासिक घाटा एक अर्ब

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरे पनि आयल निगमको मासिक घाटा एक अर्बभन्दा बढी नै छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मूल्य समायोजनपछि मार्चमा निगमलाई एक अर्ब पाँच करोड ४७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । ‘मूल्यवृद्धिपछि निगमको मार्च महिनामा अर्बभन्दा बढी नोक्सानी छ । नोक्सानी कम गर्न मात्रै मूल्यवृद्धि गरिएको हो,’ घिमिरेले भने, ‘आज ९शुक्रबार० पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णयबाट यो महिना बजारबाट ६४ करोड रुपैयाँ थप उठ्नेछ, यसले निगमको घाटा रकम कम गर्न मद्दत गर्छ ।’

निगमका अनुसार मूल्यवृद्धिपछि पेट्रोलबाट मासिक २२ करोड ३८ लाख रुपैयाँ नाफा हुनेछ । मट्टीतेलमा दुई करोड ८५ लाख, आन्तरिक हवाई इन्धनमा १० करोड र बाह्य हवाई इन्धनमा २८ करोड ३९ लाख रुपैयाँ मासिक नाफा हुनेछ । तर, खाना पकाउने एलपी ग्यासमा एक अर्ब २९ करोड र डिजेलमा ३९ करोड ३४ लाख रुपैयाँ निगमलाई अहिले नोक्सान छ ।

कार्यदलका सुझाबको बेवास्ता

लागत घटाउन आयल निगमलाई हालसम्म ६ वटा कार्यदलले सुझाब दिएका छन् । तर, निगमले सुझाबको बेवास्ता गर्दै मूल्यवृद्धिको विकल्पलाई प्रयोग गर्ने गरेको छ ।

‘निगमको लागत खर्च उच्च छ, त्यसलाई कसरी कम गर्ने भनेर सुझाब दिए पनि कार्यान्वयन गरेको छैन,’ निगम सुधारका लागि सुझाब दिन गठित भीम आचार्य संयोजक रहेको कार्यदलका सदस्य ज्योति बानियाँले भने, ‘सुझाब कार्यान्वयन नगरी एकोहोरो मूल्य बढाउनु व्यावहारिक होइन ।’ घाटा थेग्न भन्दै पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर निगमले उपभोक्तालाई सास्ती दिएको उनले बताए ।

निगमले प्रशासनिक खर्चबापत महिनामै पाँच करोड रुपैयाँ उपभोक्ताबाट उठाउँछ । त्यसलाई घटाउन ०६८ वैशाखमा प्रतिवेदन बुझाउँदै आचार्य संयोजकत्वको टोलीले सुझाब दिएको थियो । प्रतिवेदनले महिनामा डेढ करोड रुपैयाँसम्म प्रशासनिक खर्च घटाउन सकिने देखाए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

त्यस्तै, चुहावट, ढुवानी व्यवसायीको सिन्डिकेट र कार्टेलिङलाई समेत नियन्त्रण गर्न प्रतिवेदनले सुझाएको थियो । प्राविधिक नोक्सानीको नाममा टयांकरचालकले बढी तेल झिक्ने र निगमलाई नोक्सानी हुने औँल्याएर सुधार गर्न भने पनि निगमले चासो दिएको छैन ।

नेपाल आयल निगम ११ वर्षदेखि निरन्तर घाटामा छ । भारतको रक्सौल नाकामा खरिद गरेको मूल्यमा भन्सार मूल्य, डिलर कमिसन, डिलरको बिमा खर्च, ढुवानी खर्च, प्रशासनिक खर्च, ऋणको ब्याजसहित लागत खर्च जोडेर मूल्य निर्धारण गर्ने गरेको छ । तर, डिजेल र खाना पकाउने ग्यास भने लागत मूल्यभन्दा कममा निगमले बिक्री गर्दै आएको छ ।

‘मूल्यवृद्धि नसच्याए आन्दोलन’

नेकपा–माओवादीले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने सो पार्टीले चेतावनी दिएको छ ।

सचिव देव गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । उनले मूल्यवृद्धि फिर्ता नभए सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा निगमभित्र अनियमितता, अनावश्यक कर्मचारी भर्ना र व्यवस्थापनको असमर्थताका कारण निगम घाटामा गएको उल्लेख छ ।

यसैगरी, विद्यार्थी संगठनहरूले पनि मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले निगमलाई मूल्यफिर्ता गर्न आग्रह गरेको उल्लेख गर्दै भने, ‘निगमलाई तत्काल मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेका छौँ, सुनुवाई नभए के गर्ने भन्ने विषयमा शनिबार छलफल गरेर अगाडि बढ्छौँ ।’

उपभोक्तावादीहरूले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि अराजक प्रवृत्ति भएको आरोप लगाएका छन् । ‘एकैपटक भारी मूल्य बढाउनु अराजक प्रवृत्ति हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र