स्थानीय निकायको चुनाव नगराउन दुई माओवादीको चेतावनी (विज्ञप्ति)

२९ फाल्गुन २०७०, बिहीबार १२:०४ मा प्रकाशित

अध्यक्षद्वय दाहाल र बैद्यद्वारा पहिलो पटक संयुक्त विज्ञप्ति जारी

काठमाडौं, २९ फागुन । एकीकृत माओवादी र नेकपा–माओवादीका अध्यक्षहरुले पहिलो पटक संयुक्त विज्ञप्ति जारी गरेर स्थानीय निकायको निर्वाचन नगराउन सरकारलाई चेतावनी दिएका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आज (बिहीबार) विज्ञप्ति जारी गरेर नयाँ संविधान जारी गरे पछि मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने जनाएका हुन् । उनीहरुले यथाअवस्थामा चुनाव गरिए संयुक्त आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएका छन् । कांग्रेस नेतृत्वको वर्तमान सरकारले स्थानीय निकायको निर्वाचन जेठ महिना भित्र गर्ने जनाई रहेका बेला दुई ठूला माओवादी पार्टीले चुनावको बिरोध गरेका हुन् । बिभाजन भए पछि पहिलो पटक अध्यक्षद्धय दाहाल र बैद्यले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । ‘केही दिनयता सरकारमा रहेका कतिपय मन्त्री र दलका नेताहरुद्वारा जेठ महिनामा स्थानीय निर्वाचन गर्ने भनी दिइएको अभिव्यक्तिका सम्बन्धमा पनि हाम्रो ध्यानाकर्षित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकाय सम्बन्धमा अन्तरिम संविधानको धारा १३८ का अनुसार राज्यको अग्रगामी पुनः संरचना गरी नयाँ संविधान निर्माण भएपछि मात्र सोही अनुरुपको स्थानीय निकायबारे व्यवस्था गर्नु पर्ने देखिन्छ ।’ दुबै माओवादीले सङ्घीय संविधान नबन्दै सङ्क्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ सङ्घीय संविधान निर्माण नगरिने त होइन, भन्ने गम्भीर प्रश्न उठेको जनाएका छन् । उनीहरुले अन्तरिम संविधान २०६३ को धारा १३८ विपरीतसमेत हुने भएकोले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनेका छन् । एमाओवादी र नेकपा–माओवादीले गत केही समययता बृहत शान्ति–सम्झौताको मर्म र भावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँझाई आफ्ना नेता तथा कार्यकर्ताहरुलाई दमन–धरपकड गरी कारागारमा राख्ने काम भइरहेको कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘विस्तृत शान्ति–सम्झौता अनुसार सत्य निरुपण तथा वेपत्ता छानविन आयोग बनाएर समस्या समाधान गर्न तदारुकता देखाउनुको सट्टा युद्धकालीन मुद्दा व्यूँताउने कामको हामी जोडदार विरोध एवम् भत्र्सना गर्दछौं,’ उनीहरुले भनेका छन्, ‘यस प्रकारका कृयाकलाप अबिलम्व रोक्न तथा गिरफ्तार गरिएकालाई रिहाई गर्न हामी सरकारसँग माग गर्दछौं । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी त्यसबारे छानबिन गरेर समाधान गरिनु पर्छ,’ उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘बृहत शान्ति–सम्झौताको मर्म र भावनालाई अविलम्ब लागू गरियोस् भनी सम्बद्ध पक्षसँग हामी विशेष आग्रह गर्दछौं ।’ एमाओवादी अध्यक्ष दाहाल र नेकपा–माओवादीका अध्यक्ष बैद्यले आफूहरुले अघि सारेका माग र विषयहरुलाई गम्भीरतापूर्वक लिई समग्रमा सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले माग सम्बोधन नगरिएमा संयुक्त आन्दोलनमा जानुपर्ने परिस्थिति पैदा हुन सक्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार