एसएलसी परीक्षार्थीलाई पोसाक अनिवार्य

२९ फाल्गुन २०७०, बिहीबार ०६:२३ मा प्रकाशित

काठमाडौं, २९ फागुन । परीक्षा नियन्त्रण कार्यालय (पनिका) भक्तपुरले यो वर्षदेखि एसएलसी परीक्षार्थीका लागि विद्यालयले तोकेको पोसाक अनिवार्य गरेको छ । विद्यालय पोसाक लगाएर नआएका विद्यार्थीलाई परीक्षा हलमा प्रवेश नै गर्न नदिने सो कार्यालयले जनाएको छ । 

एसएलसी परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन विद्यालय पोसाकको भूमिका महŒवपूर्ण हुने भन्दै पनिकाले नियमित र एक्जाम्टेड दुवै परीक्षार्थीलाई यस्तो व्यवस्था गरेको हो । पनिकाका अनुसार अन्य पोसाकमा जस्तो चिट, गेसपेपर राख्न त्यति सहज नहुने भएकाले पनि विद्यालय पोसाक अनिवार्य गरिएको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षार्थीलाई विद्यालय पोसाक अनिवार्य गरिएको जानकारी दिए । उनले विद्यालय पोसाक नलगाउने परीक्षार्थीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिन जिल्ला परीक्षा समितिलाई निर्देशन दिएको समेत जनाए ।
यो वर्ष एसएलसी परीक्षा ६ चैतमा सुरु भई १४ चैतमा सम्पन्न गर्ने जानकारी पनिकाले यसअघि नै दिइसकेको छ । एसएलसी परीक्षामा ५ लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
कुल परीक्षार्थीमध्ये नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ परीक्षार्थी रहेको पनिकाले जनाएको छ । परीक्षाका लागि १ हजार ८ सय ३६ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष कायम गरिएको छ । परीक्षाका लागि २ लाख ७ हजार ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार ५ सय ९३ निरीक्षक, ७ हजार ५ सय ३० सहयोगी र १८ हजार ३ सय ६० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
यो वर्ष परीक्षाका लागि ३५ बुँदे आचारसंहिता तयार पारिएको छ । परीक्षामा आचारसंहितालाई विगतका वर्षमा भन्दा यस वर्ष थप व्यवस्थित र वैज्ञानिक बनाउने उल्लेख छ । परीक्षार्थीलाई परीक्षा सञ्चालन अवधिभर मोबाइल फोनलगायत कुनै पनि किसिमका विद्युतीय उपकरण निषेध गरिएको छ । यसै वर्षदेखि एउटै बेन्चमा एकै विद्यालयका विद्यार्थीलाई राख्न नपाउने व्यवस्था पनि पनिकाले गरेको छ । एकै बेन्चमा एउटै विद्यालयका विद्यार्थी पर्ने अवस्था आए क्रमसंख्यालाई छ्यासमिस गरेर राख्न परीक्षा केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ । विगतका वर्षमा केन्द्र परेका विद्यालयहरूलाई यस वर्ष अर्को केन्द्रमा राखिएको पनि पनिकाले जनाएको छ ।
परीक्षा समितिको मंगलबार बसेको बैठकले शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनीयता भंग गरेमा, परीक्षा केन्द्रमा केन्द्राध्यक्षको स्वीकृतिविना प्रवेश गर्ने प्रयत्न गरेमा, अन्यको नाममा परीक्षा दिएमा र परीक्षाको मर्यादाविपरीत कार्य गरे त्यस्ता व्यक्तिलाई कसुरको मात्रा हेरी १ लाख जरिवानादेखि ६ महिना कैद सजाय हुने व्यवस्था गरेको छ ।
यस वर्षदेखि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षक राख्न नपाउने व्यवस्था कायम गरिएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकले कुनै अनियमित कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिलाई तत्काल परीक्षाबाट हटाई विभागीय कारबाही गरिने परीक्षाको निर्देशिकामा उल्लेख छ ।
परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, प्रश्नपत्र मुलुकभरका ७५ ओटै जिल्लामा पुगिसकेको र परीक्षाको तयारी करिब–करिब सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र