अनिश बचाउन देश–विदेशबाट सहयोग बढ्दै

२९ फाल्गुन २०७०, बिहीबार ०६:१२ मा प्रकाशित

काठमाडौं, २९ फागुन । दुबईमा मृत्युदण्ड सजाय सुनाइएका अनिश खालिङ राईलाई बचाउन ब्लडमनीअनुरूप ८६ लाख रुपैयाँ उठाउन सबभन्दा ठूलो चुनौती देखियो । 

डेढ महिने अवधिमा ८६ लाख रुपैयाँ उठाउनु अनिश खालिङ राई बचाउ अभियान समितिका लागि फलामको चिउरा चपाउनुसरह थियो । तर, हाल अनिशलाई बचाउन देश/विशेदमा रहेका नेपालीले आर्थिक सहयोग गरी १ करोड ८० लाख रुपैयाँभन्दा बढी पैसा संकलन भएपछि समिति संयोजक नारदकुमार राई दंग छन् ।
‘यति धेरै पैसा उठ्छ भन्ने सोचेको थिइनँ,’ उनले आश्चर्य प्रकट गरे, ‘८६ लाख रुपैयाँ उठाउनु नै हाम्रा लागि ठूलो चुनौती थियो ।’ संखुवासभा मत्स्यपोखरी–३ का अनिश खालिङ राई वैदेशिक रोजगारीका लागि दुई वर्षअघि दुबई आबुधाबी पुगेका थिए ।
श्रीमती र दुई वर्षको छोरी छोडेर श्रम खोज्दै दुबई पुगेको डेढ वर्षमै उनलाई पाकिस्तानी नागरिकको हत्या अभियोगमा दुबई अदालतले मृत्युदण्ड सजाय सुनायो । ‘तोकिएको रकम बराबर ब्लडमनी बुझाए बचाउन सकिने भएपछि समिति गठन गर्‍यौं,’ समिति संयोजक राईले भने, ‘अनिशकी श्रीमती र बाबुआमाको विलाप देख्न नसकेरै पैसा उठाउन अभियान थाल्यौं ।’
अनिशको गाउँघर, छरछिमेक र आफन्तबाट २२/२५ हजार रुपैयाँ संकलन पनि भयो । तर, ८६ लाख रुपैयाँ उठाउन असम्भव देखेपछि समितिले किरात राई यायोक्खालाई आग्रह गर्‍यो । ‘राई समुदायको साझा संस्था यायोक्खासँग आग्रह गर्‍यौं,’ संयोजक राईले भने, ‘यायोक्खा पनि लागि परेपछि अहिले करिब १ करोड रुपैयाँभन्दा बढी पैसा जम्मा भएको छ ।’ यायोक्खाले बुधबार ५१ लख ४० हजार ४ सय ९४ रुपैयाँ समितिलाई हस्तान्तरण गरेपछि अनिशलाई बचाउन १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको हो ।
‘एकजना राईलाई मृत्युदण्डबाट बचाएर नेपाल फर्काउन सकिन्छ भने सक्दो सहयोग गरौं, हामीले पनि पैसा संकलन गर्न थाल्यौं,’ यायोक्खा अध्यक्ष यशोदा राईले भनिन्, ‘हामीले देश–विदेशमा भएका यायोक्खाका शाखासहित मातहतका सबै संस्थालाई पैसा संकलन गरी सहयोग गर्न सर्कुलर नै जारी गर्‍यौं ।’
यायोक्खाको सर्कुलरसँगै देश–विदेशमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचार हुन पुग्यो । अनिशलाई बचाउन विभिन्न कार्यक्रमसमेत सम्पन्न भयो । यायोक्खा शाखा बेलायत, अमेरिका, यूएई, हङकङ, अस्ट्रेलिया, दक्षिण कोरिया, युरोप र इजरायलबाट ठूलो बजेट सहयोग प्राप्त हुन पुग्यो । यसमा लिम्बूहरूको साझा सस्था याक्थुङ चुम्लुङ र याक्खाको जातीय संस्था किराँत याक्खा छुम्मा र नेपाल आदिवासी जनजाति महासंघ बसमिति संयोजक राईले अनिशका लागि लागेको पैसाबाहेक संकलन हुन आएको पैसा सदुपयोग गरिने बताए ।
अनिशको अदालती प्रक्रिया चलिरहेको छ । अदालती कारबाही सकिएलगत्तै ‘ब्लडमनी’ बुझाएर उनलाई नेपाल ल्याइनेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण