ग्रामीण लमजुङमा अझै पुगेन आयोडिनयुक्त नुन

२९ फाल्गुन २०७०, बिहीबार ०५:५२ मा प्रकाशित

लमजुङ, २९ फागुन । जिल्लाका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन नपुगेपछि बाध्यतावश स्थानीयवासी ढिकेनुन प्रयोग गर्दै आइरहेका छन् । आयोडिनयुक्त नुन प्रयोग गर्न विभिन्न अभियान चले पनि नुन नै नपुगेपछि बाध्य भई ढिकेनुन उपभोग गर्नुपरेको स्थानीयवासी बताउँछन् ।
आयोडिनयुक्त दुई बालबालिकाको चिह्न भएको नुनको बिक्रीवितरणका लागि सरकारले २०५५ सालमा छुट्टै नीति र ऐन ल्याएर सर्वसाधारणमा आग्रह गरे पनि गाउँगाउँका बासिन्दाले बाध्य भई ढिकेनुन प्रयोग गर्नुपरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले लमजुङका १२ प्रतिशत नागरिकले अझै पनि ढिकेनुन प्रयोग गरिरहेको जनाएको छ ।
आयो नुन पुगेका प्रायः गाउँघरमा पनि ढिकेनुनलाई तरकारीमा राख्ने र आयोडिनयुक्त धुलो नुन बस्तुभाउलाई दिने गरिएको पाइएको छ । बजार तथा नजिकैको पसलबाट खरिद गरिएको ढिकेनुन बस्तुभाउलाई दिन फेरि धुलो पार्नुपर्ने भएकाले धुलोको रूपमा आउने आयोडिनयुक्त नुन बस्तुभाउलाई दिने गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
मानिसले आयोडिनविहीन ढिकेनुन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनमात्रै प्रयोग गर्न आग्रह गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले जिल्लाका ८८ प्रतिशत नागरिकले आयोडिनयुक्त नुन प्रयोग गर्ने गरेको र १२ प्रतिशत नागरिक अझै आयोडिनयुक्त नुनको प्रयोग नगरी ढिकेनुनको प्रयोग गर्ने गरेको दाबी गरे । ढिकेनुन बढी प्रयोग गर्नेमा सहरबजारमा बस्नेभन्दा गाउँघरमा बस्नेको संख्या बढिरहेको जनस्वास्थ्यले जनाएको छ ।
शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भपतन हुने, गर्भवती महिलाले मृत वा अंगभंग शिशु जन्माउने, शिशु मृत्युदर बढ्ने, गलगाँड, पुड्कोपन हुने र मानसिक समस्या देखिनेलगायतका समस्या देखापर्ने भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको जनस्वास्थ्य निरीक्षक त्रिलोकचन्द्र गुरुङले बताए । सरकारले दुई बालबालिकाको चिह्न अंकित आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै यसको प्रचारप्रसारका लागि बर्सेनि लाखौं रुपैयाँ खर्च गरेको छ । तर, पनि ग्रामीण भेगमा अझै पनि चेतना पुग्न सकेको छैन । मानिसलाई दैनिक औसत १ सय ५० माइक्रो ग्राम आयोडिनको आवश्यकता पर्ने जिल्ला स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
चेतनाको अभाव तथा गरिबीका कारण लमजुङका ग्रामीण भेगमा मात्रै नभई सहरबजारमा समेत ढिकेनुनको प्रयोग भइरहेको बताइएको छ । आयोडिनयुक्त नुन प्रयोग गर्नेहरू कमै मात्रामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । मानिसको बौद्धिक, शारीरिक तथा संवेगात्मक विकासमा आयोडिनयुक्त नुनको प्रयोग जरुरी भए पनि धेरैजसो ग्रामीण भेगका बासिन्दा यसबारे अनभिज्ञ रहेका छन् ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन गाउँगाउँमा पु-याउन जिम्मा दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,