काङ्ग्रेसको जड मधेसमै छ :: रामचन्द्र पौडेल (उपसभापति, नेपाली काङ्ग्रेस)

२९ फाल्गुन २०७०, बिहीबार ०५:२७ मा प्रकाशित

० तपाईं मेची–महाकाली अभियानको तयारी गर्दै हुनुहुन्छ, कस्तो अभियान हो यो?
– मतदाता एवम् आमजनताले नेपाली काङ्ग्रेसलाई पहिलो दल बनाइदिएका छन्, त्यसका लागि जनता र पार्टीका सदस्य एवम् कार्यकर्तालाई उनका घर–आँगनमा पुगेरै कृतज्ञता व्यक्त गर्नु आवश्यक छ। यसरी जनताका घरआँगनमा पुगेको बेला जनताका आवश्यकता वा सुख–दुःख बुझ्ने अवसर पनि हासिल हुन्छ। अब अगाडिका दिनमा हामी कसरी जान्छौँ, हाम्रा घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धताहरूलाई कसरी साकार रूप दिन्छौँ भन्नेबारे जनतासँग प्रत्यक्ष अन्तरक्रिया गरेर सुझाव लिने–दिने गर्न पनि यो अभियानले प्रसस्तै सघाउनेछ। पहिलो र दोस्रो चरणमा हामी मूलतः मधेसका जिल्लामा केन्द्रित हुँदै छौँ। विशेषगरी मधेसी जनताका सवाल र जनजातिका मुद्दामा नेपालमा चर्को बहस भइरहेको छ। यसबारे काङ्ग्रेसको दृष्टिकोण आमतप्कामा लगेर प्रस्ट्याउनु आवश्यक छ, जुन मेची–महाकाली अभियानले मद्दत पुर्‍याउनेछ। नेपाली काङ्ग्रेस, मधेस र लोकतन्त्र यी तीन तत्त्व एक–अर्कासँग गाँसिँदै आएको, पर्यायवाचीजस्तै बन्दै आएको सन्दर्भलाई अविच्छिन्न तुल्याउन पनि यस्तो अभियान आवश्यक छ भन्ने हामीलाई लागेको छ। नेपालका जनजातिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि यो अभियान आवश्यक परेको छ। यति मात्र नभई आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका स्थानीय तहका कार्यकर्तालाई त्यसका निम्ति तयार पार्नु पनि यस अभियानको उद्देश्य हो।
० तपाईंले मधेसलाई विशेष फोकस गर्ने कुरा गर्नुभयो, के मधेससँग काङ्ग्रेसको सम्बन्ध बिग्रेको ठहरमा पुगेको हो तपाईंहरू?
– काङ्ग्रेसको जरा नै मधेसमा छ। मधेसबाटै काङ्ग्रेसले आफ्नो आन्दोलन सुरु गरेको थियो। मधेसबाट प्रजातन्त्रको आन्दोलन र क्रान्तिलाई ठूलो तागत या ऊर्जा प्राप्त भएको हो। त्यसैले अहिले पनि मधेस काङ्ग्रेसका लागि एक महत्त्वपूर्ण आधारका रूपमा रहेको छ। तथापि, यदाकदा काङ्ग्रेस र मधेसबीच अनेकखाले मामलामा असमझदारी भएजस्तो अवस्था पैदा हुने वा पैदा गराइने प्रवृत्ति देखिँदै आएको छ। तर, अब त्यस्तो कुनै गलतफहमी रहनुपर्ने आवश्यकता नै छैन भन्ने बुझ्नु र बुझाउनु आवश्यक छ। मधेसमा एकसेएक नेताहरू छन्, जुझारू कार्यकर्ताहरू छन्, उनीहरूले त्यहाँका जनताको सेवा गरिरहेका छन्। यो यथार्थ पाटोलाई बुझाउनुपर्ने देखिएको छ। मधेसी जनताको स्वाभिमान, संस्कृति, स्वपहिचान र विकास–उन्नतिमा काङ्ग्रेसको योगदान रहँदै आएको बुझाउनुपरेको छ।
० सङ्घीयताको कोणबाट काङ्ग्रेसले मधेसलाई हेर्ने दृष्टिकोणचाहिँ के हो नि?
– नेपाली काङ्ग्रेस नै मधेसी जनता र सङ्घीयताको सच्चा पक्षधर हो भन्ने जान्दाजान्दै पनि यहाँ मधेसी तथा आमजनतालाई दिग्भ्रमित तुल्याउने प्रयास हुँदै आएको छ। यहाँ सङ्घीयता दिलाउने नाममा केही पार्टीहरू खुले, तर सङ्घीयता भन्ने कुरा अप्रजातान्त्रिक वातावरणमा कहीँ पनि सम्भव छैन। लोकतन्त्रको पूर्णतामा सङ्घीयता साकार हुन्छ। अधिनायकवादी मुलुकमा कहीँ पनि सङ्घीयता नभएको कारण पनि त्यही हो। बहुलवादमा विश्वास नगर्नेहरू सङ्घीयताका पक्षधर हुनै सक्दैनन्। तर, यहाँ लोकतन्त्रविपरीतको सिद्धान्त लिनेहरूले समेत सङ्घीयताको चर्को नारा लगाएर जनतामा भ्रम छर्न खोजेका छन्, यसबारे पनि जनतालाई सजग गराउनैपर्ने भएको छ। काङ्ग्रेसले अवलम्बन गरेको बहुदलीय प्रजातन्त्र वास्तवमा सङ्घीयताको निम्ति अत्यन्त उपयुक्त र उर्वर रहन्छ। आगामी चैत ७ देखि सुरु हुने मेची–महाकाली अभियानले यी कुराहरू पनि जनतामाझ प्रस्ट पार्ने छ।
० मधेसवादी दलहरू एक मधेस प्रदेशको कुरा गरिरहेका छन्, यसको समाधानचाहिँ कसरी खोज्नुहुन्छ नि तपाईंहरू?
– कतिपय मधेसवादी नेताहरूसँग कुरा गर्दा मेरो मनमा प्रश्न उठ्छ कि सङ्घीयताको मर्म उहाँहरूले कति पक्रिन सक्नुभएको छ? किनकि, लोकतन्त्र–सोकतन्त्रभन्दा पनि हामीलाई सङ्घीयता चाहिएको छ भन्ने कुरा उहाँहरू गर्नुहुन्छ। लोकतन्त्रको अभावमा मधेसी जनताको उत्थान, सम्मान कसरी सुरक्षित हुन्छ, मधेसको पहिचान कसरी स्थापित हुन्छ? हुनै सक्दैन। लोकतन्त्रमा मात्रै मधेसले आफ्नो पहिचान, अधिकार, सम्मानका मुद्दामा मुखरित हुने अवसर पाएका छन्। यो बुझाएपछि सायद एकोहोरो रूपमा उठाइएका वा उठ्ने गरेका त्यस्ता छिटफुट मुद्दामा मधेसवादी दलहरूले पनि धारणा बदल्नेछन्। त्यसो त एक मधेस प्रदेश भन्ने नारामा मधेसका पार्टी वा नेताहरूले पहिलेझैँ कट्टरता प्रदर्शन गरेको मैले पाएको छैन।
० काङ्ग्रेसलाई त अलोकतान्त्रिक र मधेसविरोधी दलको संज्ञा दिन्छन् नि मधेसी नेताहरूले, किन होला?
– मधेसमा मजबुत जनाधार भएको काङ्ग्रेसजस्तो पार्टीलाई कमजोर पार्न पाए आफ्नो दुनो सोझिन्थ्यो कि भन्ने गलत चिन्तन बोकेका छिटफुट नेताले त्यस्तो भने होलान्। काङ्ग्रेसको जरोकिलो उखेल्न पाए आफू बलियो भइन्थ्यो कि भनी ठान्नेहरूले काङ्ग्रेसजस्तो लोकतन्त्रको सच्चा हिमायती दललाई कमजोर बनाउँदा उल्टै आफूलाई घाटा हुन्छ भन्ने बुझ्न नसकेका मात्रै हुन्। माओवादीलाई सङ्घीयतावादी भनी विश्वास गरेर उससँगै सुरमा सुर मिलाउने अनि काङ्ग्रेसको विरोध गर्ने केही मधेसवादी दल वा नेताहरूले के बुझ्नु आवश्यक छ भने नेपालमा सङ्घीयता हुन नदिने अनर्थकारी कुराको जड नै यही हो। हामी यो प्रस्ट्याउन चाहन्छौँ कि सबै नेपालीलाई अधिकारसम्पन्न तुल्याएर राष्ट्रको मालिक बनाउन काङ्ग्रेस कटिबद्ध छ। मेची–महाकाली अभियानको खाँचो यसकारण पनि परेको छ।
० यो अभियान संविधानलेखन कार्य र स्थानीय निकायको निर्वाचनको पक्षमा कति प्रभावकारी हुन सक्ला नि?
– प्रकारान्तरले मूलतः यिनै उद्देश्यपूर्तिका लागि नै त हो यो अभियान। यो अभियान प्रभावकारी हुन्छ भन्नेमा हामी विश्वस्त छौँ।
० स्थानीय निकायको निर्वाचन कहिलेसम्ममा गराउने तपाईंहरूको सोच हो नि?
– आगामी जेठभित्रै गराउनुपर्छ भन्ने सोचका साथ हामी आफ्नोतर्फबाट पहल गरिरहेका छौँ, सरकारलाई पनि यसैअनुरूप घचघच्याइरहेका छौँ। चैतभरमा मेची–महाकाली अभियान सम्पन्न गरेर हामी आमकाङ्ग्रेस कार्यकर्ता, शुभचिन्तक, मतदाता र समस्त नेपाली जनतालाई जेठमा चुनाव गर्ने वातावरण पैदा गर्दै त्यसका लागि तयार रहन अपिल पनि गर्दै छौँ। देशका सबै गाविसका सबै वडासम्म यो अभियान लैजाने हाम्रो सोच र प्रयास रहनेछ।
० संविधान बन्नु कहिले–कहिले तर प्रमाणीकरण र जारी कसले गर्ने भनी प्रमुख दलहरूबीच विवाद किन चलेको होला?
– पार्टीहरूबीच आ–आफ्ना धारणालाई लिएर कहिलेकाहीँ मतमतान्तर, छलफल र विवाद हुनु अनौठो कुरा होइन। यसको समाधान निस्कन्छ। यसलाई ठूलो रूपमा प्रस्तुत गर्न खोज्दा कसैको पनि हित हुँदैन। गणतन्त्रमा गएका छौँ हामी, र यस व्यवस्थाको सर्वोच्च प्रतीक राष्ट्रपति नै हुने हुनाले त्यो ओहोदाको मर्यादा र सम्मान हामीले राख्न सक्नुपर्छ। यस कोणबाट विचार–मन्थन भएपछि छलफलले एउटा निचोड निकालिहाल्छ। गणतन्त्रलाई सम्पूर्णता दिनका लागि हाम्रा क्रियाकलाप उन्मुख हुनुपर्छ।
० अन्त्यमा, मेची–महाकाली अभियान तपाईंले आफूलाई पार्टीमा विशेष तवरले स्थापित गर्नका लागि चाल्न लागेको कदम भनेर कसैले टिप्पणी गरिदियो भने के भन्नुहुन्छ?
– त्यसरी आरोप लगाउनुको कुनै तुक हुँदैन। कुनै व्यक्तिगत मुद्दा लिएर अभियान सुरु गर्न लागिएको होइन र त्यसो गर्नुपर्ने कुनै आवश्यकता पनि छैन। पार्टीको समग्र सोच, योजना र धारणालाई जनतामाझ लैजाने, संविधान निर्माण र स्थानीय चुनावको माहोल थप सुदृढ तुल्याउने, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताका बारेमा काङ्ग्रेसमाथि गरिएका प्रहारलाई निस्तेज तुल्याउनेलगायतका उद्देश्यले मेची–महाकाली अभियान सञ्चालन गर्न लागिएको पुनः म प्रस्ट्याउन चाहन्छु।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको