विद्रोहको कार्यदिशामै फर्कने दाहालको संकेत

२८ फाल्गुन २०७०, बुधबार ०६:३८ मा प्रकाशित

काठमाडौं, २८ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू विद्रोहकै राजनीतिक कार्यदिशामा फर्कने संकेत गरेका छन् । २० महिनाअघि आफैंबाट विभाजित नेकपा–माओवादीसँग पार्टी एकीकरणका लागि गरेको विभिन्न चरणको छलफलमा दाहालले त्यस्तो संकेत दिएका हुन् ।

दुई माओवादी एकताको विकल्प नभएको भन्दै दाहालले आवश्यक परे आफू विद्रोहकै कार्यदिशामा जान सकिने प्रस्ताव गरेका छन् । दाहालको त्यस्तो संकेत पालुङटार विस्तारित बैठकको कार्यदिशातर्फ लक्षित देखिएको हो । दुई पार्टी विभाजन हुनुअघि २०६८ मंसिरमा गोरखाको पालुङटारमा बसेको एमाओवादीको विस्तारित बैठकले विद्रोहको कार्यदिशा पारित गरेको थियो ।

संविधानसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि दाहाल पार्टी एकताको प्रयासमा लागेका छन् । यसैका लागि उनले पछिल्लो चरण नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूसँग छलफल गर्दै आएका छन् । दुई पार्टीका शीर्ष नेताबीचको छलफलमा नेकपा–माओवादीले पार्टी एकताका लागि एमाओवादीले अवलम्बन गरेको हेटौंडा महाधिवेशनको कार्यदिशा सच्याउनुपर्ने सर्त तेस्र्याएपछि दाहालले ‘यु टर्न’ गर्ने संकेत देखाएका हुन् ।

आफू पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको जनाउ दिँदै दाहालले आवश्यक परे पालुङटार बैठकले पारित गरेको विद्रोहको कार्यदिशामा नै फर्कने जनाउ दिएको दाहालसँग छलफल गरेका माओवादीका एक नेताले जानकारी दिए । ‘पार्टी विभाजनले कसैलाई पनि फाइदा गरेन, दुवै माओवादीलाई कमजोर बनायो, पार्टी एकीकरण गरौं, त्यसका लागि कसले के गर्नुपर्छ गरौं,’ दाहालको भनाइ उद्धृत गर्दै ती नेताले  भने ।

दाहालले पार्टी कार्यदिशा गलत हुँदा नै निर्वाचन परिणाम आफूहरूको पक्षमा आउन नसकेको माओवादी नेताहरूसँगको छलफलमा स्वीकार गरेका छन् । ‘हेटौंडाको कार्यदिशाबाट आवश्यकता परेमा यु टर्न पनि हुनुपर्छ, त्यसका लागि हामीहरू तयार छौं,’ दाहालको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले राजधानीसँग भने, ‘हामीले बुझेको के हो भने प्रचण्ड (दाहाल) हेटांडाको कार्यदिशा सच्याएर पुरानै कार्यदिशामा फर्कन खोजेका रहेछन्, यो निकै सकारात्मक पाटो हो ।’

एमाओवादीले गत वर्ष सम्पन्न हेटौंडा महाधिवेशनबाट शान्ति र संविधानको कार्यदिशा अपनाउने निर्णय गरेको थियो । संविधानसभाबाटै संविधान निर्माण गर्ने र उत्पादन निर्माणको काममा लाग्ने उसको कार्यदिशा थियो । जसलाई एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पुँजीवादी जनवादी क्रान्तिको चरण समाप्त भई समाजवादी क्रान्तिको रोडम्यापको आधार भनी व्याख्या गर्दै आएका थिए ।

भट्टराईको त्यस्तो विश्लेषणको एमाओवादीभित्रै मतभेद रहेका बेला दाहाल पुनः पालुङटार (विद्रोह) को कार्यदिशामा फर्कन खोजेको माओवादी नेताहरूको भनाइ छ । ‘कुराकानी छलफल रामै्र तरिकाबाट चलेको छ, साँच्चै दाहाल इमानदारीपूर्वक पालुङटारको राजनीतिक कार्यदिशामा फर्कन खोजेका हुन् भने एकीकरणको बाटो खुल्न सक्छ,’ एमाओवादीसँग चलेको छलफलको निष्कर्ष सुनाउँदै माओवादीका ती नेताले भने ।

एमाओवादीका वरिष्ठ नेता पोस्टबहादुर बोगटीले पनि पार्टी एकीकरणको आवश्यकता दुवै पार्टीले महसुस गरेको भन्दै त्यसका लागि छलफल चलेको स्वीकार गरेका छन् । ‘पार्टी विभाजन हुँदा दुवै पार्टीलाई घाटा नै पुगेको छ, त्यही भएर एकताका लागि छलफल चलेको छ,’ बोगटीले भने, ‘तर, के कसरी एकता प्रक्रिया अघि बढाउने ? के गर्ने भन्नेमा टुंगिएको छैन, छलफलकै चरणमा छ ।’

नेकपा–माओवादीले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै जनविद्रोहको कार्यदिशा नै अवलम्बन गरेर जानुपर्ने बताउँदै आएको छ । उसले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अंगीकार गरिरहेको छ । दाहाल पालुङटार विस्तारित बैठकको कार्यदिशामा फर्केमा उनी माओवादीको राजनीतिक कार्यदिशा नजिक पुग्नेछन् ।

दाहालले माओवादीका नेतासँग चलाएको भेटघाट र राजनीतिक कार्यदिशामा गर्न खोजेको ‘यु टर्न’ लाई बुझेका नेता भट्टराईले भने अब पार्टी मूल नेतृत्व रूपान्तरण हुनै नसक्ने भन्दै आफूनिकटका नेताहरूसँगको छलफल तीव्र बनाउन थालेका छन् । जसलाई दाहाल पक्षले माओवादीसँग हुनै लागेको एकता भाँड्ने योजनाका रूपमा व्याख्या गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा