पार्किङ स्थल बन्दै विस्तारित सडक

२७ फाल्गुन २०७०, मंगलवार ०६:५४ मा प्रकाशित

ललितपुर, २७ फागुन । सडक विस्तार अभियानअनुरूप ललितपुरमा बनेका कालोपत्रे सडक हाल पार्किङ स्थल बनेका छन् । ललितपुर उपमहानगरपालिकाले कानुनी कारबाही गर्न नसक्दा त्यस क्षेत्रका विस्तारित सडक पार्किङ स्थल बनेका हुन् ।

ललितपुरको जाउलाखेल र कुमारीपाटी हुँदै लगनखेलसम्मको मुख्य सडक मोटरसाइकल र कार पार्किङले अस्तव्यस्त र साँघुरो बनेको छ । जाउलाखेलदेखि कुमारीपाटीसम्म त दुईतिरै पार्किङ स्थल बनाइएको छ ।
सडक किनारमा कार, भ्यान, ट्याक्सीजस्ता चारपांग्रे सवारी पार्किङ गरिँदा सवारी आवागमनमा अवरोध भइरहेको छ । तर, त्यहाँ पार्किङ सञ्चालन गर्न उपमहानगरपालिकाले नै स्वीकृति दिएको हो । हाल ती पार्किङबाट राजस्व भने उठ्न छाडेको उपमहानगरपालिकाका राजस्व महाशाखा प्रमुख दानमान शाक्य बताउँछन् ।
त्यस्तै, पाटन अस्पतालअगाडिको विस्तारित सडकमा पनि मोटरसाइकल पार्किङ छ । त्यस क्षेत्र पुग्ने जो कोहीले सडक किनारमै मोटरसाइकल पार्किङ गर्छन् । उपमहानगरपालिकाको स्वीकृति नभए पनि त्यहाँ स्वतः पार्किङ स्थल बनेको हो ।
लगनखेल बसपार्क अगाडितर्फको सडक पनि पार्किङले अस्तव्यस्त बनेको छ । जहाँ मोटरसाइकल, कार, भ्यान, ट्याक्सी र टेम्पो जथाभावी पार्किङ गरिएका छन् । जसले लगनखेल चोक आसपासमा सवारी जामसमेत गरिरहेको छ ।
मुख्य सडक पुल्चोकमा पनि मोटरसाइकल पार्किङ छ । आफ्नै कार्यालयको अगाडितर्फ भए पनि सो अनधिकृत पार्किङमा उपमहानगरपालिकाको आँखा परेको छैन ।
ललितपुरको एकान्तकुना, खरिबोट, भनिमण्डललगायतका सडक पनि खुला पार्किङ स्थल बनेका छन् । त्यस क्षेत्रका होटल, रेस्टुरेन्ट, बैंक, वित्तीय संस्था, ठूला पसल आदिमा पुग्ने सर्वसाधारणले विस्तारित सडकमै आफ्नो कार वा मोटरसाइकल पार्किङ गर्ने गरेका छन् ।
उपमहानगरपालिकाभित्र पर्ने विभिन्न क्षेत्रका बाहिरी तथा भित्री सडक पार्किङले ढाक्दै गएको भए पनि उपमहानगरपालिकाले पार्किङ हटाउन सकेको छैन । उसले जथाभावी रूपमा सडक किनारमा पार्किङ गरिएका सवारी साधनलाई कुनै कारबाही नगर्दा त्यस क्षेत्रका विस्तारित सडक खुला पार्किङ स्थल बन्दै गएका छन् ।
उपमहानगरपालिकाका कार्यकारी प्रमुख मोहननाथ मास्केले भने विस्तारित सडकको पार्किङ हटाइने बताए । ‘सडकमा भएका सबै पार्किङ हटाउने कुरा भइरहेको छ,’ उनले भने, ‘केही समयपछि यो कुरो लागू हुनेछ ।’
सडकमाथिका पार्किङ हटाउने कुरा सडक निर्माणसम्बन्धी सरकारी निकायका उच्च अधिकारीहरूबीच पनि उठिरहेको डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अशोक तिवारीले बताए । ‘पार्किङ व्यवस्थापनको जिम्मा ललितपुर उपमहानगरपालिकाको हो,’ तिवारीले भने, ‘तर, उसले काम नगरेपछि अहिले प्रधानमन्त्री कार्यालयमा पनि कुरा उठेको छ ।’
तिवारीले डिभिजन सडक कार्यालय ललितपुरबाट हालसम्म ११ किलोमिटर सडक विस्तार गरी कालोपत्रे गरिएको जानकारी दिए ।
उपमहानगरपालिकाका राजस्व महाशाखा प्रमुख शाक्यका अनुसार ललितपुर उपमहानगरपालिकाले १३ स्थानमा मात्र पार्किङको अनुमति दिएको छ । जसबाट उपमहानगरपालिकालाई वार्षिक ३० करोड ३५ लाख रुपैयाँ राजस्व प्राप्त हुन्छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार