धारामा पानी आउँछ भन्दा अर्थमन्त्री महत हाँसे

२४ फाल्गुन २०७०, शनिबार ०७:२७ मा प्रकाशित

काठमाडौं, २४ फाल्गुन । पन्ध्र करोडभन्दा ठूला बजेटका ६८ आयोजनाको सातमहिने प्रगति समीक्षा बैठक अर्थ मन्त्रालयमा चल्दै थियो । पाँच मन्त्रालयका सचिव, सहसचिव र आयोजना प्रमुखहरू अर्थमन्त्री रामशरण महतलाई प्रगति विवरण सुनाउँदै थिए ।

सुरुआतमै चालू आर्थिक वर्षमा विनियोजित ५ सय १७ अर्ब रुपैयाँमध्ये हालसम्म १ सय ९७ अर्ब मात्र खर्च भएको जानकारी अर्थ मन्त्रालयले दियो । त्यसपछि भौतिक पूर्वाधार, सिँचाइ र पर्यटन सचिवले ठूला पूर्वाधार परियोजनामा भएको प्रगति र समस्याबारे प्रकाश पारे । अब पालो आयो सहरी विकास मन्त्रालयको । सहरी विकास सचिवले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाबाट सुरु गरे । उनी भन्दै थिए, दिनको ४० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ । २०७३ साल वैशाख १ गते बिहानै सूर्योदय नहुँदै काठमाडौंका धारामा पानी आउने छ ।

बैठकमा उपस्थित सचिव, कर्मचारी, सञ्चारकर्मीसहित ६० भन्दा बढी एकसाथ गल्लल हाँसे । गम्भीर मुद्रामा सुनिरहेका मन्त्री महतले पनि हाँसो थाम्न सकेनन् । उनको हाँसोले सहभागीलाई फेरि हँसायो । साँच्चै पूरा हुन्छ ? उनले ठट्यौलो पारामा सोधे । यस वर्ष ७ अर्ब ९४ करोड पुँजीगत बजेट पाएको मन्त्रालयका सचिव थापाले विश्वस्त पार्दै भने, चाँडो सके ठेकेदार कम्पनीलाई बोनस दिने व्यवस्था गरेका छौं, पानी आउनेमा हामी विश्वस्त छौं । उनका अनुसार २६ किलोमिटर लामो सुरुङमध्ये बाँकी २१ किलोमिटर निर्माण गरी मेलम्ची खोलाको पानी राजधानी ल्याउने काममा इटालियाली कम्पनी सीएमसीको कार्य सन्तोषजनक छ ।

यसअघि चिनियाँ कम्पनी चाइना फिफटन रेल(वे ब्युरोले सुरुङ खन्ने काम पाएको थियो । त्यसले सन् २००९ यता साढे चार वर्षमा साढे ६ किलोमिटर मात्रै खनेपछि सरकारले ठेक्का तोडेको थियो । गत जेठमा फेरि ठेक्का आह्वान गरिँदा सीएमसीले पाएको हो । चिनियाँ कम्पनीले त्यति खनेको ६० करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । सचिव थापाले मेलम्ची आयोजनामा भइरहेको ढिलाइका कारण सरकारले गर्ने काममा खस्किँदै गएको विश्वसनीयतालाई अब यही आयोजनाले सुधार्ने दाबीसमेत गरे ।

खन्न बाँकी २१ किलोमिटर सुरुङ र इन्टेकका लागि सीएमसीले ७ अर्ब ७१ करोडमा ठेक्का सम्झौता गरेको हो । मेलम्चीबाट राजधानीमा दैनिक १७ करोड लिटर खानेपानी ल्याउने सरकारको लक्ष्य छ । काकाकुल काठमाडौंको तिर्खा मेट्न ०५१ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची आयोजना घोषणा गरेका हुन् । समीक्षा बैठकमा सहरी विकासपछि ऊर्जा मन्त्रालयको बोल्ने पालो आयो । ऊर्जा सचिव विश्वप्रकाश पण्डितले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीलाई विद्युतबारे बोल्न अह्राए ।

कार्की बोल्दै गर्दा झ्याप्प बत्ती गयो । बैठक कोठा अँध्यारो भयो । माइक बन्द भएपछि उनी आवाज चर्को बनाउँदै विद्युत् क्षेत्रमा भइरहेको समस्याबारे बोले । उनको पालो सकिएपछि अर्थमन्त्रीले निर्देशन दिँदै गर्दा बत्ती आयो । यसै मौकामा अर्थ सचिव शान्तराज सुवेदीले व्यंग्य गरे, पहिले ऊर्जा मन्त्रीले बोल्दै गर्दा बत्ती गएको थियो, ऊर्जा सचिवले बोलिरहँदा पनि बत्ती गएको थियो, आज कार्यकारी निर्देशकको पालो परेछ ? फेरि हाँसो दोहोरियो । मेरै बोल्ने पालोमा बत्ती जानु नियोजित हो, कार्कीले फर्काए ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।