प्रहरी चौकीमा भन्दा व्यक्तिसँग बढी हतियार

२४ फाल्गुन २०७०, शनिबार ०६:३८ मा प्रकाशित

काठमाडौं, २४ फागुन । गुन्डागर्दी, अपहरण तथा शरीर बन्धकको अभियोगमा पक्राउ परेका ललितपुरका नवधनाढ्य महेशबहादुर सिंहको घरबाट ६ थान हतियार फेला परेका छन् । अनुसन्धानका क्रममा सिंहको घर खानतलासी गर्दा लाइसेन्स प्राप्त ६ थान हतियार फेला परेका हुन् ।

चर्को ब्याजमा पैसा लगानी गर्दै आएका सिंहलाई शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले कंलकीबाट पक्राउ गरेपछि उनको घर खानतलासी गर्दा ती हतियार फेला परेका हुन् । ६ थान हतियार उनले घरमा किन राखे भन्नेबारे अनुसन्धानमा संलग्न प्रहरीसमेत अन्योलमा परेका छन् ।

‘सामान्य प्रहरी चौकीमा ४ देखि ६ थान हतियार मात्रै हुन्छन्, तर आपराधिक क्रियाकलापमा लागेका सिंहको घरमा ६ थान हतिायर राख्ने अनुमति कसरी र किन दिइयो रु यसबारे छानबिन हुनुपर्छ,’ सिंहको आपराधिक क्रियाकलापबारे अनुसन्धान गरिरहेका महानगरीय परिसर काठमाडौंका एक प्रहरी अधिकृतले भने, ‘हतियार राख्नुको उद्देश्य शान्ति सुरक्षाका लागि हो, सिकार खेल्ने प्रयोजनका लागि होइन, यो निकै अस्वाभाविक भयो ।’ सिंहलाई जिल्ला प्रशासन कार्यालयले नै ६ ओटै हतियार राख्ने अनुमति दिएको पाइएको प्रहरीले बताएको छ । प्रमुख जिल्ला अधिकारीले व्यक्तिको आचरण हेरी जाँचीबुझी मात्रै हतियारको लाइसेन्स दिने व्यवस्था छ ।

शुक्रबार बिहान एक व्यवसायीलाई ज्यान मार्ने र अपहरण गर्ने धम्की दिँदै गरेको फोन रेकर्डसहित उजुरी परेपछि शुक्रबार काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । आपराधिक पृष्ठभूमिका भएकै कारण सुरक्षाका लागि प्रहरीले उजुरीकर्ताको नाम र ठेगाना भने गोप्य राखेको छ ।

केही काम नभएका सिंहको जीवनशैलीमा अस्वाभाविक परिवर्तन आएपछि आयस्रोतबारे सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान थालेको थियो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुखको भूमिकामा रहँदा सिंहको सम्पत्ति र गतिविधिबारे अनुसन्धान थालिएको थियो ।

उनको सरुवा महानगरीय ट्राफिक महाशाखामा भएपछि अनुसन्धानले पूर्णता पाएको थिएन । सिंहले घरजग्गा व्यवसायी सुधीर बस्नेत, हाउजिङ व्यवसायी राजराम बानियाँ, शैक्षिक परामर्श संस्थाका उद्धव केसीलगायतका फिल्म उद्योगी, पस्मिना व्यवसायी, बैंकर तथा काष्ठ उद्योगी व्यवसायीलाई उच्च ब्याजदरमा पैसा लगानी गर्ने गरेका थिए ।

२८ भदौ २०७० मा सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीअनुसार घरजग्गाको कारोबारमा डुबेका सुधीर बस्नेतले ३ करोड ऋण लिएकोमा ८ करोड बुझाउँदा पनि एउटा गाडी फिर्ता नपाएको उल्लेख छ । यस्तै, ३ करोड ८५ लाखको मुद्दाचाहिँ अझै ललितपुर अदालतमा विचाराधीन रहेको पनि उल्लेख गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागमा उनीविरुद्ध यस्ता दर्जनौं मुद्दा परेका छन् । सिंहले २ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति जोडेको दाबी पनि उजुरीमा गरिएको छ ।

नेपाल एयरलाइन्स भरतपुर शाखाका पूर्वस्टेसन म्यानेजर रहेका सिंह केही समय अमेरिका बसेर नेपाल आई चर्को ब्याजमा पैसा लगानी गर्न थालेका हुन् । पुख्र्यौली घर दार्चुला भए पनि उनले धनकुटाबाट नागरिकता लिएका छन् भने हेटौंडा हुँदा हाल ललितपुरको भनीमण्डलमा बस्दै आएका छन् ।

पछिल्लो समयमा उनले अदालतमा विभिन्न व्यावसायिक व्यक्तिका नाममा ४० करोडभन्दा बढी चेक बाउन्स भएको मुद्दा हालेका छन् ।

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र