फस्न खोजेका थियौँ, उम्कियौ :: मोहन वैद्य (अध्यक्ष, नेकपा–माओवादी)

२४ फाल्गुन २०७०, शनिबार ०४:४३ मा प्रकाशित

० अध्यक्षज्यू, तपाईंहरू त पोलिटिकल सिनारियोबाट हराएजस्तो हुनुभयो नि, के गर्दै हुनुहुन्छ?
– हामी आफ्नो काम गरिरहेका छौँ। अनावश्यक रूपमा कहीँ देखिनुपरेको पनि छैन हामीलाई। जहाँसम्म राजनीतिक परिदृश्यमा नदेखिएको सवाल हो, हामीलाई त्यस्तो लाग्दैन, कसैले त्यस्तो ठान्छ भने हाम्रो भन्नु पनि केही छैन।
० सुशील कोइराला प्रधानमन्त्री बन्नुभएपछि तपाईंको कुराकानी भयो?
– एकपटक फोन गरेको थिएँ, खै उहाँको पीएमार्फत सम्पर्क हुन सकेन। कुराकानी भएको छैन।
० तपाईंको नजरमा सुशील कोइराला कस्तो व्यक्ति हो?
– व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँ पार्टीमा रहेर दुःखकष्ट गरेको असल व्यक्ति हो। तर, पार्टीगत रूपमा हेर्दाचाहिँ नेपाली काङ्ग्रेसले परिवर्तनको पक्षमा काम गर्लाजस्तो लाग्दैन। त्यसैले राम्रो भन्न सकिने आधार भएन।
० काङ्ग्रेसले परिवर्तनको पक्षमा काम गर्दैन भन्ने तपाईंहरूको पूर्वाग्रह हो कि यथार्थ?
– यो यथार्थ जगजाहेर नै छ नि, हामीले आरोप लगाएर मात्रै कोही परिवर्तनको विपक्षमा हुने हो र? पञ्चायती कालमा काङ्ग्रेसले संसदीय व्यवस्थाको पक्षमा आवाज उठाएकोलाई नै परिवर्तनकामी भनेर प्रशंसा गरिरहन त मिलेन नि। अहिले बाध्यतावश गणतन्त्रको पक्षमा आएको देखिएको छ, योचाहिँ सकारात्मक कुरा हो।
० लोकतान्त्रिक गणतन्त्र स्थापनामा काङ्ग्रेसको भूमिका छैन र?
– यो त दश वर्षको जनयुद्धले सम्भव भएको हो। अन्य पक्षहरू सहायक कारक मात्रै हुन्।
० नेपाली काङ्ग्रेसले नचाहेको भए सम्भव थियो त गणतन्त्र?
– सम्भव थियो या थिएन भनी दाबी गर्न फर्किएर गणतन्त्रभन्दा अघिकै अवस्थामा पुग्नुपर्ने हुन्छ, जो सम्भव छैन। तर, यसमा काङ्ग्रेसको भूमिका पनि सकारात्मक नै रह्यो भन्न हामीलाई कुनै आपत्ति छैन।
० काङ्ग्रेस तथा प्रधानमन्त्री कोइरालासँग मिलेर जाने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न तपाईंहरू?
– उहाँहरूले गराएको चुनाव नै बहिष्कार गर्यौँय हामीले। हामीले उठाएका माग तथा प्रस्तावहरूको उपेक्षा गरेर उहाँ आफ्नै तालले अघि बढ्न खोज्दै हुनुहुन्छ र यो संविधानसभाबाट कुनै अपेक्षा हामीले गरेका छैनौँ, बरु यसका विरुद्ध कटिबद्ध छौँ भने उल्टो धारको प्रतिनिधित्व गरिरहेको पार्टी वा व्यक्तिसँग कसरी मिलेर जान सकिन्छ र?
० तपाईंहरू पनि यस संविधानसभामा समाहित हुनुपर्छ भनिरहेका छन् नेपाली जनता, २६ जनाको कोटाबाट संविधानसभामा गए हुँदैन?
– यस्तो असम्भव कुरा किन सोधिरहेको? मौजुदा परिवेशमा कुनै हालतमा पनि यो संविधानसभामा जाँदैनौँ। २६ होइन ६०१ सिट नै दिए पनि यो निरर्थक छ।
० सरकारले तपाईंलाई मनोनीत गर्यो६ भने के गर्नुहुन्छ?
– सरकारले मलाई मनोनीत पनि गर्दैन र गरे पनि म जाने कुरा आउँदैन। म व्यक्ति होइन, पार्टी हो। त्यसरी मलाई या हाम्रा कुनै पनि साथीलाई मनोनीत गर्न खोज्नु र २६ जनाको कोटा दिने कुरा गर्नु भनेको हामीलाई अपमानित तुल्याउनु हो भन्ने हाम्रो बुझाइ छ।
० देशमा संविधान निर्माण गर्न तपाईंको घोर आवश्यकता परेको छ, थाहा छ तपाईंलाई?
– आवश्यकता पर्योो नि किन नपर्नु? जनयुद्धकै लागि आवश्यकता पर्योा, जनताको जनतन्त्र ल्याउनकै लागि हाम्रो आवश्यकता पर्यो्। पर्योव नि आवश्यकता त तर, यस्तो सहमति लत्याएर गरिएको संविधानसभामा त हाम्रो आवश्यकता पर्ने कुरै भएन नि। यदि उच्चस्तरीय प्रकारको सर्वपक्षीय राजनीतिक सभाको आयोजना गरी सहमति खोज्ने विश्वसनीय पहलकदमी लिइन्छ भने राजनीतिक समस्याको निकासका लागि हामी त्यहाँ बहस या छलफल गर्न तयार हुन्छौँ। यो संविधानसभाबाट त कुनै हालतमा निकास ननिस्कने भएकाले हाम्रो सहयोगको दरकार नै भएन। यो संविधानसभाले जनताको संविधान बनाउने कल्पना गर्नै सकिन्न।
० तपाईंहरूले कल्पना नगरेको काम काङ्ग्रेस–एमालेले साकार गरेर देखाइदिए भने नि?
– राजनीतिमा सबै कुरा त्यत्तिकै हचुवाको भरमा बोलिँदैन। पात्र र प्रवृत्तिले पनि धेरै कुरा बताइरहेको हुन्छ। काङ्ग्रेस–एमालेले जनताले चाहेकोजस्तो संविधान बनाएर देखाउँछ भन्नु दूधको साक्षी बिरालो बस्छ भनेजस्तै मात्र हो।
० लोकतान्त्रिक संविधान बनाएर एक वर्षमै देखाउने वाचा गरेको सुन्नुभएको छैन?
– लोकतन्त्रको पनि आ–आफ्नै परिभाषा छ, उनीहरूले जनताको लोकतन्त्रमा आधारित संविधान बनाउँछन् भनी विश्वास गर्ने आधार नै छैन। उनीहरूले संसद्वादी व्यवस्थामा आधारित संविधान बनाउने होलान्, त्यो हामी मान्दैनौँ। संसदीय व्यवस्थाविरुद्ध हामी सङ्घर्ष गर्दै आएका छौँ भन्ने उनीहरूले अझै बुझेका छैनन्?
० तपाईंहरू पनि त संसदीय व्यवस्थामा फस्नै लाग्नुभएको होइन र?
– कसैको विश्वासमा अघि बढ्दा फस्न खोजेका थियौँ तर उम्कियौँ।
० जनतन्त्रको कुरा गर्नुहुन्छ, आजका जनताले साथ दिन्छन् र भनेको?
– किन दिँदैनन्? नेपाली जनताले खोजेकै त्यही हुन्, किन साथ दिँदैनन्? हामी ढुक्क छौँ।
० जनमत त काङ्ग्रेस–एमालेकै पक्षमा देखिएको छ नि?
– अस्तिको चुनावी नौटङ्की हेरेर यसो भनिएको होला, तर यो बुझाइ निरर्थक हो। यथार्थ यो हुँदै होइन। समयले यो सिद्ध गरेर देखाइदिनेछ। हामीलाई चुनावमा जान नदिने ठूलो प्रपञ्च गरियो, नत्र कसको पक्षमा कति जनता छन् भनेर नेपाली जनताले देखाइदिने थिए।
० त्यो चुनाव बहिष्कार गरेर गल्ती गर्यौँख भन्ने लाग्दैन तपाईंलाई?
– एकदम लाग्दैन। यति सही काम गरियो कि नगरेको भए ठूलो गल्ती हुन्थ्यो। देखिनेछ कि यो संविधानसभाले जनताको संविधान बनाउन सक्दैन, अनि कुन बाटो मोडिएर परिस्थिति कहाँ पुग्नेछ, धैर्यसाथ समय कुर्नुपर्छ। हामीले त जे गर्यौँन र गरिरहेका छौँ, अत्यन्त सही गरिरहेका छौँ।
० अब बन्ने संविधानमा तपाईंहरूको सहभागिता हुने अवस्था सिर्जना गर्न राज्य र दलहरूले के लेखिदिनुपर्ला त?
– कसैको निगाहमा हामीलाई केही चाहिएन। यी दलहरूले जनताको पक्षमा काम गर्ने पनि होइनन्। यदि समस्या समाधान गर्ने र जनताको संविधान बनाउने नै हो भने त उनीहरूले बनाउँछौँ भनी दाबी गरिरहेको संविधान लेखिनुअघि नै सर्वपक्षीय राजनीतिक सभाको आह्वान गरिनुपर्छ त हामीले भनिरहेकै छौँ नि।
० सर्वपक्षीयमा को–को रहनुपर्ने तपाईंहरूको माग हो?
– सर्वपक्षीय भनेपछि सर्वपक्षीय नै हुने भयो नि। सबै राजनीतिक दलहरू र अरू शक्तिहरू पनि छन् भने ती पनि, ताकि पछि फेरि कसैले आफ्नो अधिकारका लागि राज्यसँग गुनासो गर्नु नपरोस्। पटक–पटक देश आन्दोलित हुनु नपरोस्।
० राजा पनि त्यसमा अटाउँछन्?
– यदि त्यो पक्षसँग पनि शक्ति र जायज कुनै तर्क बाँकी रहेको कसैलाई लाग्छ भने छलफल प्रक्रियामा सहभागी गराउँदा आपत्ति गर्नुपर्ने केही छैन।
० तपाईंहरू सँगै लडेका साथीहरू अर्थात् एनेकपा माओवादी त छ नि संविधानसभामा, तिनले पनि बनाउँदैनन् जनताको संविधान?
– बनाउने भए त्यसरी काङ्ग्रेस–एमालेको पुच्छर बनेर त्यहाँ जान्थे? तिनबाट त झन् बन्दै बन्दैन। तिनको कुनै अर्थ छैन। तिनको के मूल्य छ? दुईतिहाइ त काङ्ग्रेस–एमालेले नै जुटाएको दाबी गरिरहेको छ भने ती पछुवाको कुनै काम छैन। जनताको लागि लडेको र लडिरहने माओवादी शक्ति त हामी हौँ, जो बाहिरै छौँ। तिनले के गर्ने?
० मूल माओवादी शक्ति त प्रचण्डकै नेतृत्वको भन्छन् नि विश्लेषकहरू?
– विचलनकारीलाई कसैले मूल माओवादी भन्छ भने तिनको दृष्टिदोष हो। यसमा हामीलाई धेरै तर्क गरिरहनु पनि छैन। कसी लाउँदा कुन सुन हो र कुन होइन भन्ने छुट्टिइहाल्छ भने हामीले किन टाउको दुखाइरहनु? उनीहरू ‘माओवादी’ नै हुन् भने पनि विभाजित भएको अवस्थामा उनीहरू त्यहाँ (संविधानसभा) भित्र मूल्यहीन अवस्थामा छन्। वास्तविक रूपमा जनताको संविधान बनाउने शक्ति बाहिर पारिएपछि तिनको कुनै अर्थ छैन।
० तपाईंहरूलाई बाहिर पारिएको कि तपाईंहरू आफैँ बाहिर बसेको?
– सहमतिबेगर मनोमानी गर्न थाल्दा प्रतिवाद गर्यौँन, त्यसको सुनुवाइ गरिएन, सहमति खोजिएन, अनि हामी बाहिर बस्यौँ। पारेको हो कि बसेको हो अब आफैँ छुट्याए हुन्छ। सबैको सहमतिबाट अघि बढ्ने भनी अन्तरिम संविधानमा लेख्ने अनि चारदलीय सिन्डिकेट बसेर जे मन लाग्यो त्यही गर्दै हिँड्ने भएपछि लोकतन्त्र कहाँ रह्यो?
० तपाईं हालै युरोप पुगेर आउनुभयो, त्यहाँको विकास देख्नुभयो होला, अब नेपाललाई विकासको दिशामा लगेर त्यस्तै बनाउने कि सङ्घर्ष र आन्दोलनको कुरा गर्दै यत्तिकै रुमल्लिइरहने?
– युरोपको विकास पनि आन्दोलन गरेरै भएको हो। आन्दोलन र राजनीतिक क्रान्ति नगरी, त्यो क्रान्ति सफल नभई कसरी सुरु हुन्छ विकास–निर्माण प्रक्रिया र कसरी हुन्छ देश विकास?
० देशमा क्रान्ति त धेरैपटक भए नि, अब पुगेन र?
– असफल क्रान्ति धेरै भए, सफल क्रान्तिको खाँचो छ। त्यसपछि मात्र विकास–निर्माणमा स्वतः लम्किन्छ देश।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको