डेढ महिनामै संसदमा कोरम नपुग्ने समस्या

२३ फाल्गुन २०७०, शुक्रबार ०६:३६ मा प्रकाशित

काठमाडौं, २३ फागुन । व्यवस्थापिका संसद्को बैठक सुरु भएको डेढ महिना नपुग्दै संसद्मा गणपूरक संख्या (कोरम) नपुग्ने समस्या देखिएको छ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठक कोरम नपुगेर स्थगित भएको हो ।

सत्तारूढ दलकै सभासद् अनुपस्थित भई कोरम नपुगेर बैठक स्थगित भएपछि सरकारले ल्याएका दुई अध्यादेशसमेत अलपत्र परेको छ । बैठकमा गृहमन्त्री वामदेव गौतमले सुपुर्दगी अध्यादेश २०६९ र संगठित अपराध निवारण अध्यादेश २०६९ प्रस्तुत गर्ने कार्यक्रम थियो ।

तर, संसद् बैठकमा गणपूरक संख्याको प्रश्न उठेपछि सभासद् संख्या गणना गर्दा १ सय २७ सभासद् मात्र उपस्थित रहेको पाइएको हो । कुल सभासद् ५ सय ६९ को एक चौथाइ गणपूरक संख्या १ सय ४३ रहे पनि १ सय २७ सभासद् मात्रै उपस्थित भएपछि २६ फागुनसम्म बैठक स्थगित भएको छ । बैठकमा सभामुखले दुवै अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्दा एमाओवादी सभासद् रामनारायण बिडारीले गणपूरक संख्याबारे प्रश्न उठाएका थिए ।

अन्तरिम संविधानको धारा ५३ मा व्यवस्थापिका–संसद्को कुनै पनि बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछैन भन्ने व्यवस्था छ ।

विशेष समयमा सभासद्हरूले आफ्नो भनाइ राखिसकेपछि सभामुख सुवास नेम्वाङले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई सपुर्दगी अध्यादेश २०६९ अस्वीकार प्रस्तावबारे आफ्नो भनाइ राख्न समय दिएका थिए । उनले आफ्ना भनाइ राखिसकेपछि उनको अस्वीकारको सूचनाउपर छलफल गराइएको थियो ।

छलफलमा सुवालसहित सभासद्हरू डिल्ली काफ्ले, लक्ष्मण राजवंशी, रमेश लेखकले भाग लिएपछि सभामुख नेम्वाङले त्यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत गर्नासाथ एमाओवादीका बिडारीले गणपूरक संख्याबारे प्रश्न उठाएका हुन् । सो क्रममा सभासद्को उपस्थिति गणपूरकभन्दा कम पाइएको हो । बैठकमा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसकै सभासद् संख्या अत्यन्त न्यून थियो । सो समयमा कांग्रेसका केवल २८ सभासद् मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले बतायो ।

बिहान साढे ११ बजे सुरु भएको यसअघि संसद् बैठकमा गृहमन्त्री वामदेव गौतम र वनमन्त्री महेश आचार्यले भनाइ राखेका थिए ।

बैठकमा शून्य समय र विशेष समयले लामो सयम लिएको थियो । शून्य समयमा ३६ र विशेष समयमा ३२ जनाले विभिन्न माग गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सभासद्हरू आफ्ना धारणा राख्दै बाहिर निस्कँदै गर्न थालेपछि गणपूरक संख्या नपुगेको हो । सभामुख नेम्वाङले नियमबमोजिम गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको जानकारी गराएका थिए ।

अन्तरिम संविधानको व्यवस्थाबमोजिम संसद्मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा आवश्यक गणपूरक संख्या पुग्नुपर्ने विषयतर्फ एमाओवादी सभासद् बिडारीले ध्यानाकर्षण गराएपछि सभामुखले सचिवालयका कर्मचारीलाई सभासद्को संख्या गणना गराएका थिए ।

कोरम नपुगी बैठक स्थगित भएपछि सभामुख नेम्वाङले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सत्तारूढ दलका सभासद् अनुपस्थित भई संसद् बैठकमा कोरम नपुगेर स्थगित हुनु दुर्भाग्यपूर्ण भन्दै सभामुखले यस विषयमा गम्भीर बन्न सरकारमार्फत सत्तारूढ दलको समेत ध्यानाकर्षण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले