अस्पताल बन्यो दुई माओवादी नेताको वार्तास्थल

२३ फाल्गुन २०७०, शुक्रबार ०६:२३ मा प्रकाशित

काठमाडौं, २३ फागुन । राजधानीको चावहिलस्थित ओम नर्सिङ होम एन्ड रिसर्च सेन्टरमा दैनिकजसो माओवादी नेताहरूको भीडभाड बढ्न थालेको छ । 

एकीकृत माओवादी नेताहरू मात्रै होइन, एमाओवादीबाट विभाजित नेकपा–माओवादी नेताहरू पनि दैनिकजसो अस्पताल पुग्ने गरेपछि दुई माओवादी नेतृत्वको वार्तास्थल बन्न पुगेको हो ।
अस्पतालमा दुवै पार्टीका शीर्ष नेतादेखि अन्य तहका नेता–कार्यकर्ताको पनि आ–आफ्नै तहमा छलफल हुने गरेको छ । छलफलको त्यो कुनै पूर्वनिर्धारित कार्यक्रम भने होइन । दुवै पार्टीका नेतालाई भेटघाटको संयोग जुराउने काम भने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसी बनिरहेकी छन् ।
दाहाल पुत्री ज्ञानु यतिबेला अस्वस्थ रहेका कारण ओम अस्पतालमा उपचार गराइरहेकी छन् । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी केसीलाई भेट्न जाने क्रममा माओवादीका नेताहरूको भेटघाट हुन थालेको हो ।
२० महिनाअघि विभाजित दुवै माओवादी नेताका लागि ज्ञानुको अस्पताल भर्ना पुनर्मिलनको माध्यम बनिरहेको छ । भावनात्मक रूपमा दुवै माओवादी नेताहरूका लागि ज्ञानु परिचित अनुहार हुन् ।
बिरामीलाई भेट्ने र त्यही मेसोमा दुवै पार्टीका नेताहरूबीच सम्भव भएसम्म राजनीतिक र भावनात्मक कुराकानी गर्ने उपयुक्त थलो यतिखेर सो अस्पताल बन्न पुगेको हो ।
छोरी ज्ञानुलाई भेट्न हरेक दिनजसो एमाओवादी अध्यक्ष दाहाल अस्पताल पुग्ने गरेका छन् । दाहालले अस्पतालमा दैनिक कम्तीमा एक घन्टा बिताउने गरेका छन् । दाहाल अस्पताल पुग्दा नेकपा–माओवादीका कुनै न कुनै तहका नेता पनि अस्पताल पुग्ने र त्यहाँ राजनीतिक छलफल गर्ने गरेको अस्पताल स्रोतले बतायो ।
अहिलेसम्म अस्पतालमै अध्यक्ष दाहालसँग नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्ददेखि केन्द्रीय तहका थुप्रै नेताले भेटघाट गरी छलफल गरेको लाजिम्पाट स्रोतले बतायो । ‘अध्यक्षसँग अस्पतालमा वैद्य माओवादीका सचिव विप्लवदेखि कतिपय नेताहरूले घेटघाट गरिसकेका छन्,’ स्रोतले भन्यो, ‘अन्य शीर्ष नेताहरू पनि बिमारी भेट्न आउने र अध्यक्षसँग पनि भेटघाट गर्ने काम भइरहेको छ ।’
दुवै पार्टीका नेताहरूबीचको भेटघाटमा क्रान्तिकारी कम्युनिस्टहरूको केन्द्र निर्माण गरेर जानेसम्मका विषयमा छलफल हुने गरेको छ । ‘दाहालले पार्टी एक बनाएर लैजान नसक्नु, राष्ट्रियताको मुद्दामा अडान लिन नसक्नु आफ्नो तर्फबाट कमजोरी भएको नेकपा–माओवादीका नेताहरूसँगको भेटमा बताएका छन्, उहाहरूले पनि पार्टी अलिक छिटो विभाजन ग¥यौं कि भन्ने कुराकानी गरेका छन्,’ एमाओवादीका एक शीर्ष नेताले भने, ‘दुवै पार्टीका नेतालाई पार्टी विभाजन गर्नु गल्ती भएको महसुस भएको छ, दुवै पक्षबाट आत्मालोचना पनि भइरहेको छ ।’
संविधानसभा निर्वाचनपछि एमाओवादी कमजोर बनेको छ भने नेकपा–माओवादी प्रक्रियाबाटै बाहिर छ । संविधानसभामा कांग्रेस–एमालेको बलियो उपस्थितिलाई दुवै माओवादीले यथास्थितिवादी हावी भएको भन्दै रुचाएका छैनन् ।
अहिलेको संविधानसभा क्रान्तिको भन्दा पनि प्रतिक्रान्तिको साधन बनेको नेकपा–माओवादीको विश्लेषण नजिक एमाओवादी पनि पुगेको छ । दुवै माओवादीले यस्तो बेला क्रान्तिकारी केन्द्र निर्माण गरेर जानुपर्नेमा जोड पनि दिइरहेका छन् ।
यस्तो निष्कर्षमा पुगेका बेला दाहालको छोरी भेट्न अस्पताल पुगेका नेताहरूबीच भइरहेको भेटघाटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘बिमारी भेट्न आउँदा दुवै पार्टीका नेताबीच भेटघाट भइरहेको छ, सम्बन्ध पनि निकटतातिर गइरहेको छ,’ लाजिम्पाट निवास स्रोतले भन्यो, ‘भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमदेखि दुवै पार्टीबीचको एकता र सहकार्यलगायतका विषयमा पनि छलफल हुने गरेको छ ।’
अस्पताल स्रोतले पनि दुवै पार्टी नेताहरूको भेटलाई आश्चर्यका रूपमा हेरेको छ । ‘संयोग भन्ने या पूर्वनिर्धारित कार्यक्रम दुवै माओवादीका शीर्ष नेताहरूको अस्पतालमा भेटघाट भइरहेको छ,’ अस्पताल स्रोतले जनायो ।

राजधानी दैनिकबाट 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।