पार्टी फोड्ने प्रचण्डको धम्की

१२ बैशाख २०६९, मंगलवार १८:५९ मा प्रकाशित

शम्भु श्रेष्ठ, काठमाडौ, १२ बैशाख । समानान्तर सांगठनिक संरचना, कार्यकर्ताबीच कुटाकुट, नेता-कार्यकर्ताबीच बोलचाल बन्द, एकअर्कालाई राष्ट्रघाति गद्धार, संशोधनवादी, जडसुत्रवादी, राजावादीसँगको साँठगाठसम्मका आरोपप्रत्यारोपमा ओर्लिएको माओवादीको दुई पक्ष कहिलेसम्म एउटै पार्टीको छातामुनि रहलान्? प्रतिपक्षले भन्दा सत्तारुढ माओवादीको बदख्वाई गर्ने वैद्य पक्ष र उसको जुलुसमा सहभागी नेताहरुको टाउकोमा ताकीताकी लाठी प्रहार गर्न प्रहरीलाई आदेश दिने सस्थापन पक्षको कहिलेसम्म एउटै भात―भान्छ रहला? माओवादीका दुई पक्षबीचको बिबाद एउटै ठाउँमा रहनै नसक्ने अवस्थामा पुगिसकेको भएपनि श्रोतहरु जेठ १४ गतेसम्म उनीहरु एउटै पार्टीमा रहन वाध्य भएको तथा त्यही कारण त्यसबेलासम्म पार्टी नफुट्ने बताए पनि माओवादी अध्यक्ष प्रचण्डले अस्ति आइतबार एउटा कार्यक्रममा पार्टी फोड्ने धम्की दिए। उनीहरुका अनुसार, छुट्टै पार्टीका लागि दुवै पक्षले आफ्नो जोहो गरिसकेको भएपनि यही अवस्थामा पार्टी फुटको अपजश आफ्नो टाउकोमा लिन तयार नभएकाले झगडा गरेरै भएपनि उनीहरु जेठ १४ सम्म एउटै छानामुनि रहनेछन्। जेठ १४ पछि भने संविधानबारे टुङ्गो लागिसक्ने हुनाले उनीहरुलाई फुट्न धेरै सजिलो हुनेछ। श्रोत भन्छ, कुनै प्रकारको संविधान जारी भए वैद्य पक्षले त्यसलाई जनविरोधी भन्दै जलाउने छ र त्यसपछि एकले अर्कालाई कम्युनिष्ट शब्दकोषका अनेक शब्दावली प्रयोग गर्र्दै पार्टीबाट निकालेको दावी गर्नेछन् अनि दुई पार्टी बन्नेछन्। तर, जेठ १४ मा संविधान बनेन भने चाहिँ माओवादी विभाजन टर्न पनि सक्ने श्रोतको दावी छ।
जेठ १४ मा कुनै प्रकारको संविधान पनि जारी भएन भने चाहिँ माओवादी संस्थापन पक्ष पनि बैद्य पक्षले भन्दै आएको जनबिद्रोहको लाईनमा जानसक्ने सम्भावना रहेको स्रोत बताउँछ। संविधान जारी हुन नसक्दा संविधानसभाले पुन एक पटक आफ्नो आयु थप्न खोज्ने, त्यसो हुँदा सर्वाेच्च अदालत र संविधानसभाबीच बिबाद बढ्ने र संवैधानिक संकट आउन सक्ने तथा त्यस्तो अवस्थामा राष्ट्रपतिबाट कुनै कदम चालिए त्यसबिरुद्ध माओवादी एकिकृतरुपमै सडकमा ओर्लन सक्ने पनि बताइन्छ। जेठ १४ पछि संवैधानिक संकट आउँदा पनि राष्ट्रपतिबाट केही नभए माओवादी नेतृत्वको यही सरकार अकण्टकरुपमा रहिरहने सम्भावना रहेकाले माओवादी संस्थापन पक्ष त्यस्तै होस् भन्ने कामना गरिरहेको बताइन्छ। त्यसो भए बैद्य पक्ष सन्तुष्ट हुनेछैन र भारतीय डिजाईनमा कायम रहेको सरकार भन्दै बिरोधमा उत्रिनेछ।
माओवादीमा अहिले भइरहेका गतिविधिचाहिँ बिभाजन हुँदा आफ्नो पक्ष प्रभावशाली होस् तथा त्यसपछि पनि मुलुकको राजनीतिलाई आफ्नो अनुकूल लतार्न सकियोस् भन्नेमा छ। त्यही कारण संस्थापन र बैद्य दुवै पक्ष समानान्तर कमिटी बनाउनेदेखि लिएर अर्का पक्षको खोइरो खन्न लागिपरेका छन्।
विचार समुहको नाममा दुवै पक्षबाट भइरहेका भेलाहरुमा नेताहरुको पसिना अर्काे पक्षको उछित्तो काट्नमै बगिरहेको छ। एक अर्काप्रतिको दोषारोपणले हद नाघ्दैगएका कारण पनि उपयुक्त समयमा अर्थात जेठ १४ पछि उनीहरु एक ठाउँमा बस्न सक्ने देखिदैन। स्थिति कस्तोसम्म बनिसकेको छ भने, बैशाख १५ गते संस्थापन पक्षले वोलाएको स्वैच्छिक अवकास रोजेका लडाकुहरुको राष्ट्रिय भेला आफूबिरुद्ध केन्द्रित हुने तथा त्यसपछि उनीहरुबाट आफ्नो पक्षमाथि भौतिकरुपमै आक्रमण हुनसक्ने बिश्लेषण गर्दै बैद्य पक्ष त्यसको प्रतिकारको तयारीमा समेत लागेको छ। २९ चैतमा प्रचण्ड र बाबुरामको पुत्लादहन तथा मशाल जुलुस गर्दा प्रहरीले लाठी प्रहार गरेको घटनाबाट बैद्य पक्ष यस्तो मनस्थितिमा पुगेको श्रोतहरु बताउछन्। यी सबै परिस्थितिको बिश्लेषण गर्न शनिवार राजधानीमा बैद्य पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो, त्यसले सस्थापनका सबै गतिविधि प्रचण्डकै नेतृत्वमा भएकाले प्रहारको निशाना पनि उनैलाई बनाउनुपर्ने निर्णय गरेको थियो।
वैद्य पक्षले बैठकबाट प्रचण्डलाई ‘भ्रष्टचारी, लालगद्धार र फासिस्ट’ को उपमा दिने तथा बाबुरामलाई ‘राष्ट्रघाती’ भन्ने निर्णय गरेको थियो। बैद्य पक्षले उर्जामन्त्री तथा पार्टी सचिव पोष्टवहादुर वोगटीलाई पनि बाबुरामलाई जस्तै राष्ट्रघाति नै भन्ने निर्णय गरेको श्रोत बताउछ। २८ चैतको माओवादी शिविर, लडाकु र हतियार नेपाली सेनालाई वुझाउने प्रचण्ड र बाबुरामको निर्णयलाई ‘प्रतिक्रान्ति कु’ भन्ने पनि त्यो बैठकको निश्कर्ष छ।
माओवादीभित्रको चरम विवाद अस्ति आइतबार आयोजित नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन पनि देखियो। उक्त कार्यक्रममा प्रचण्डले पार्टी फोड्नेसम्मको धम्की दिए भने प्रधानमन्त्री बाबुराम भट्टराईले वैद्य समूहलाई ‘साउनमा आँखा फुटेको गोरुखको संज्ञा दिँदै युद्धको सपना नदेख्न वैद्य पक्षलाई आग्रह गरे। उक्त समारोहमा प्रचण्डले आफू नेतृत्वमा आउनासाथ मशाललाई दाहसंस्कार गरेर एकताकेन्द्र बनाएको उदाहरण दिँदै एकता केन्द्रलाई भत्काएर माओवादी पार्टी बनाएको बताए। प्रचण्डले भने– फेरि त्यो माओवादी पार्टी पनि भत्काएर एकीकृत माओवादी पार्टी बनाए, भोलि के–के हुन्छ हेर्दै जानु होला भनेर वैद्य समूहलाई खुला चुनौती दिए।
जेठ १४ नजिकिँदै जाँदा संविधानसभाभित्रको सबैभन्दा ठूलो दलमा देखिएको मतभेदले संविधान निर्माणमा समेत ठूलो धक्का पुग्ने र जेठ १४ पछि जनविद्रोहमा जाने कुरामा भने प्रचण्ड र वैद्य पक्षको कुरा मिल्ने छ। माओवादी रणनीति अन्तर्गत अहिले माओवादी तीन ‘स’ को प्रयोगमा छ। अर्थात् जनविद्रोहद्वारा राज्यसत्ता कब्जा गर्न सरकार, सदन र सडक कब्जा गर्ने। त्यसैले हतियार, लडाकु सबै बुझायो अब ढुक्कसँग संविधान बन्छ भन्ने भ्रममा कांग्रेस–एमाले नबसे पनि हुनछ। किनभने माओवादी लडाकु र हतियार बाहिरै छ। ((दृष्टि)

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा