अब एमाले ढुलमुले हुनुहुन्न — प्रदीप ज्ञवाली

१२ बैशाख २०६९, मंगलवार १८:५५ मा प्रकाशित

कुनै पनि पार्टीको अस्तित्व त्यसको विचार र गतिशीलतामा निहित हुन्छ। आफ्ना गतिविधिहरूद्वारा समाजमा सकारात्मक हलचल ल्याइरहन सकेमा मात्रै, आफ्ना नीति र निर्णयहरूमार्फत् सार्वजनिक चासो जगाइरहन सकेमा मात्रै, उसका प्रभावकारी हस्तक्षेपहरूले नित्य समाचार सिर्जना गर्न सकेमा मात्रै पार्टीको सान्दर्भिकता समाजमा कायम रहिरहन्छ। कि राज्यको नेतृत्व गरेर कि त्यसको सकारात्मक विकल्पको रूपमा खडा भएर नै राजनीतिक पार्टीहरूले समाजमा आफूलाई स्थापित गर्न सक्छन्। कुनै पार्टीका बारेमा ‘यो मुलुकका लागि समस्या होइन र यो समाधान पनि होइन’ भन्ने अनुभूति स्थापित हुँदै जानु भनेको उसको अग्रगतिका लागि मात्र नभएर अस्तित्वकै लागि समेत ठूलो चुनौती हो।
नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ, पुनर्गठित र लोकतान्त्रिक धारको प्रतिनिधिको रूपमा तीस र चालिसको दशकमा नेकपा (एमाले) को विकास भयो । तेस्रो महाधिवेशनपछि छिन्नभिन्न र शिथिलप्रायः भएको आन्दोलनमा झापा विद्रोहद्वारा नयाँ उथलपुथल सिर्जना गर्दै र पुनर्गठनको प्रकृयाद्वारा नयाँ जीवन, गति र उर्जा दिंदै विकसित भएको यो धार छिट्टै नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार र मुख्य शक्ति बन्यो। ठूलो मूल्य र आफ्नै अनुभवको आलोकमा उग्रवामपन्थी धारबाट अलग हँुदै जनआन्दोलन, जनसङ्गठन र व्यापक जनाधार निर्माण गर्दै पञ्चायती तानाशाहीविरुद्ध प्रजातान्त्रिक चेतना र आन्दोलनको विस्तार गर्न, महङ्गी, भ्रष्टाचार, सीमा अतिक्रमण र पञ्चायती दमनको प्रतिरोध जस्ता जनसरोकारका मुद्दाहरूको अगुवाइ गर्न र नेपाली क्रान्तिका आफ्नै विशिष्ट बाटो तय गर्न जुन सफलता प्राप्त गर्योग, यसले तत्कालीन नेकपा (माले) लाई हजारौं क्रान्तिकारी युवाहरूको ‘ड्रिम पार्टी’ को रूपमा स्थापित गर्योह। छयालीस सालको आन्दोलनको यो एउटा महत्वपूर्ण आधारस्तम्भ थियो।
उदार प्रजातान्त्रिक शक्तिहरूसँग संयुक्त मोर्चा, प्राप्त उपलव्धि रक्षाका लागि संविधान निर्माणमा जिम्मेवार भूमिका र पार्टीलाई खुल्ला गर्दै जनताको बीचमा स्थापित गर्ने मान्यताले नेकपा (एमाले) क्रान्तिकारी लोकतान्त्रिक धारको नेताकोरूपमा त स्थापित भयो नै, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अभूतपूर्व धक्काको अवस्थामा पनि यसको सान्दर्भिकता र आशाको नयाँ दियो जगाइरहन पनि सफल भयो। ‘दुलाबाट फुत्त बाहिर निस्केका’ भनेर खिसिट्युरी गरिएका मदन भण्डारीको नेतृत्वमा निर्वाचनमा संसारलाई नै छक्क पार्ने गरी सफलता प्राप्त गर्योशे। यथार्थमा, नेकपा (माले) को उर्जा र नेकपा (मार्क्सवादी)को अनुभव संयोजन भएपछि नेकपा (एमाले) लोकतान्त्रिक आन्दोलनको पनि मुख्य शक्ति बन्न पुग्यो।
नेकपा (एमाले)को सर्वाधिक ठूलो पुँजी थियो– जनताको वहुदलीय जनवादको सिद्धान्त, जसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा धक्काले जन्माएका यक्ष प्रश्नहरूको जवाफ थियो र नेपालको आधा शताव्दी लामो जनआन्दोलनका मुद्दाहरू अर्थात् लोकतन्त्र, परिवर्तन, न्याय र शान्तिको संयोजन पनि। साथमा, जनताले पत्याएका नेता र समर्पित र निष्ठावान कार्यकर्ताहरूको व्यापक सञ्जाल अनि सुदृढ जनाधार यसका सम्पदा थिए। यिनकै बलमा नौ महिने लोकप्रिय सरकार सञ्चालन गरेर एमालेले आफ्नो शासकीय क्षमता पनि प्रदर्शन गर्योन।
परिवर्तनले नयाँ शक्ति सन्तुलन सिर्जना गरेको थियो– राजाको नेतृत्वमा दक्षिणपन्थीहरू शक्ति सञ्चय र पुनरुत्थानको प्रयाशमा थिए, सत्तामा पुगेपछि काङ्ग्रेस विस्तारै यथास्थितिवादी हुँदै दाहिनेतिर सर्दै थियो र एमालेको स्थान केन्द्रबाट बायाँतिर सुरक्षित थियो। सरकारबाट बाहिरिएपछि भने पार्टी अलमलिन थाल्यो। ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्’ भन्दै सत्ताका निम्ति जस्तासुकै शक्तिसँग पनि हात मिलाउने गलत मान्यता हुर्किंदै गयो। चन्द सरकारमा सहभागिताबाट सुरु भएको यो स्खलन ‘प्रतिगमन आंशिक सच्चिएको’ निष्कर्ष निकाल्दाताका उत्कर्षमा पुग्यो। मदन भण्डारीले प्रस्तुत गरेका आलोचनाका सत्ताइस बुँदा कता हराए कता, जनताको जीवनसँग जोडिएका मुद्दामा आन्दोलन ओझेलमा पुग्यो, आफूलाई विकल्पको रूपमा खडा गर्नु पर्ने पार्टी बाटो हराएको बटुवा जस्तै बन्न पुग्यो। माओवादीले अँगालेको हिंसाको बाटो नितान्त गलत थियो। तर महिला, दलित, जनजाति, युवा लगायत तत्कालीन सत्ताले उपेक्षा गरेका समुदायको एक हिस्सा किन त्यता आकर्षित छ भन्ने कुरामा घोत्लिन र ती मुद्दाहरू बोक्न नसक्दा एमाले उँभिएको स्थान खस्किंदै गयो।
२०६२/६३ को ऐतिहासिक आन्दोलन ज्ञानेन्द्रको तानाशाहीको पराजय त थियो नै, हिंसाको बलबाट राज्यसत्तामाथि विजय प्राप्त गर्ने र ‘सर्वहारा अधिनायकत्व’का नाममा सर्वसत्तावाद स्थापित गर्ने उग्रवामपन्थताको पनि पराजय थियो र काङ्ग्रेसले बोक्दै आएको नवउदारवादको पनि सान्दर्भिकता समाप्त भएको पुष्टि थियो। शान्तिपूर्ण परिवर्तन, लोकतान्त्रिक प्रतिष्पर्धा र सामाजिक न्याय सहितको सामाजिक–आर्थिक रूपान्तरणको बाटो– जनताको बहुदलीय जनवादले अवलम्वन गरेका मान्यताहरू प्रमाणित भएका थिए। तर एमालेले यसलाई सही ढङ्गले स्थापित गर्न सकेन। नवौं बैठकपछि लोकतान्त्रिक गणतन्त्र र संविधानसभा निर्वाचनको कार्यनीति लिए पनि, आन्दोलनको अगुवाइ र शान्ति प्रकृयामा जिम्मेवार भूमिका खेले पनि विगतका त्रुटिहरूको कारण एमालेको नेतृत्व स्थापित हुन सकेन। बदलिएको शक्ति सन्तुलनमा लोकतन्त्रको प्रतिनिधिको रूपमा काङ्ग्रेस र परिवर्तनको नेता माओवादी हो भन्ने भ्रम स्थापित हुने कुराले एमालेको पहिचान र स्थानमा सङ्कट खडा भयो।
संविधानसभा निर्वाचनमा पार्टी तेस्रो शक्तिमा धकेलियो। त्यसो त, निर्वाचनपछि पनि पार्टी लगातार सरकारमा रह्यो र दुई पटक त नेतृत्व समेत गर्योक। तर माओवादी र काङ्ग्रेसबीच अविश्वासमाझ सरकारको नेतृत्व गर्ने मौका पाए पनि त्यसले कति परिणााममुखी अर्थ राख्यो –समिक्षा हुन बाँकी छ। तर पालैपालो कहिले कोसँग त कहिले कोसँग मिलेर सरकार बनाउँदा पार्टीको मूल्य र ‘बटम लाइन’ मा प्रश्न उठेको सत्य हो। सत्ताका निम्ति एमालेले जता पनि हात मिलाउँछ, अडान बदल्छ र मूल्यमा सम्झौता गर्छ भन्ने नकारात्मक सन्देश सम्प्रेषित हुनु चुनौतीपूर्ण छ।
सङ्क्रमणकालको व्यवस्थापन हुन नसकेर मुलुक पुनः द्वन्द्वमा धकेलिने, अबको द्वन्द्व बहुकोणात्मक र अराजक हुने र प्राप्त उपलव्धिका लागि जोखिम टरिसकेको छैन। यतिबेला एमालेको हस्तक्षेपकारी भूमिकाको खाँचो छ, ऊ दोबाटोमा बटुवा झैं अलमलिन मिल्दैन। एमालेका कमजोरी होलान्, तर यसका कारण सङ्क्रमणकाल लम्बिंदै गएको होइन र गहिरिंदो सङ्कटको यो कारक पनि होइन।। तर दोषी नहुनु मात्रैले त पार्टीको औचित्य पुष्टि गर्दैन। सङ्कट निवारणमा नेतृत्वदायी भूमिकाले मात्रै त्यस्तो औचित्य पुष्टि हुने हो। इतिहासको समिक्षा आवश्यक छ, तर खालि अतीतमुखी भएर र पुराना घाउ कोट्याएर मात्रै कहिँ पुगिँदैन। भविष्यदृष्टिका साथ पार्टीलाई नयाँ भूमिकामा पुनर्जागृत गर्नु आवश्यक छ।
कसरी गर्ने त यसको पुनर्जागरण? यसका लागि वैचारिक–राजनीतिक स्पष्टता निर्णायक कुरा हो। पछिल्ला घटनाक्रमले ‘नवउदारवाद’ लाई अन्तिम सत्य ठान्ने मान्यतालाई खण्डित गरेको छ भने कम्युनिष्ट आन्दोलनको हिंसात्मक धार त उहिल्यै असान्दर्भिक भइसकेको हो। शान्तिपूर्ण परिवर्तन, लोकतान्त्रिक प्रतिष्पर्धा र जनताको शक्तिमाथि आधारित नयाँ वामपन्थी धार स्थापित हुँदै गएको छ। नेपालमा पनि हिंसात्मक धारको क्षयीकरण सुरु भइसक्यो, तर पुरानो ‘प्रजातन्त्र’ ले पुग्दैन। त्यसैले राष्ट्रिय राजनीतिको ‘कन्भर्जिङ प्वाइन्ट’ पनि जवजले देखाएको शान्तिपूर्ण परिवर्तन, लोकतान्त्रिक प्रतिष्पर्धा र सामाजिक न्यायसहितको परिवर्तन हो। जवजलाई कर्मकाण्डी ढङ्गले होइन, सिर्जनात्मक रूपमा विकास गरेर, आजका प्रश्नसँग संयोजन गरेर र शान्ति, लोकतन्त्र र परिवर्तनको झण्डा एकसाथ उठाउन सक्दा पार्टीले आफूलाई पुनर्जागृत गर्न सक्नेछ। आफ्नै विचार, आफ्नै धरातलमाथि विश्वासले नै एमालेको भविष्य तय गर्नेछ।
सामाजिक परिवर्तनका मुद्दा उठाएर नेताको रूपमा स्थापित पार्टी पछि ती मुद्दाबाट पञ्छिंदा जनताबाट कट्न पुग्यो। ती मुद्दा ज्युँकात्यूँ छन् – युवाहरू वेरोजगारीले, विद्यार्थीहरू अनिश्चित भविष्यले, महिलाहरू बढ्दो हिंसाले, किसानहरू राज्यको उपेक्षाले, दलितहरू उत्पीडनको निरन्तरताले र जनता दण्डहीनता, बेथिति र सपनाहरूको दुर्घटनाले आक्रान्त छन्। ‘नयाँ’ भनिएका शक्तिले आफूहरूलाई सत्ताको भरेङ मात्रै बनाए भनेर मधेसी, जनजाति, लडाकुहरू लगायतमा मोहभङ्ग सुरु भएको छ। जसले उठाउँछ उनीहरूका मुद्दा र जसले गर्छ समाधानको अगुवाइ– अबको राजनीतिको नेता त्यही हो। एमालेले आफूलाई जनताछेउँ उभ्याउनुपर्छ।
बदलिंदो शक्ति सन्तुलनमा अन्य शक्ति कहाँनिर उभिन्छन्, यसले एमालेको स्थान र आयतनलाई प्रभाव पार्छ। तर उसले आफ्नो ठाउँ स्पष्ट तय गर्नुपर्छ– केन्द्रमा, दायाँ बायाँ कतै नढल्की– अन्तरवस्तुमा क्रान्तिकारी र आचरणमा लोकतान्त्रिक शक्तिकारूपमा। अन्य दलसँगको उसका सम्बन्ध मुद्दागत हुनुपर्छ। शान्ति, लोकतन्त्र र परिवर्तन उसका लागि सम्झौताहीन मूल्य हुन् भन्ने पहिचान उसले दिन सक्नुपर्छ। सधैभरि अरुको द्वन्द्वमा खेलेर अगाडि बढ्न सकिंदैन। भोलि माओवादी–मधेसवादी गठबन्धन जस्तै कुनै अवसरवादी सम्झौता अन्य दलबीच भएछ भने पनि पार्टीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्नुपर्छ।
त्यसरी नै, विवादित राष्ट्रिय मुद्दामा प्रतिकृया जनाएरमात्र पुग्दैन, पार्टीले आफ्ना एजेण्डामा सिङ्गो राष्ट्रलाई डोहोर्या उन सक्नुपर्छ। शान्ति प्रकृया, लडाकुहरूको भविष्य, द्वन्द्वपीडितलाई न्याय, नयाँ संविधानका विवादित बिषय, भोलिको नेपालबारे पार्टीसँग स्पष्ट नीति र सपना हुनुपर्छ। अनि त्यो सपना पूरा गर्ने हुटहुटी पनि।
कार्तिक १५ को सहमतिसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ– संभावना र चुनौतीसहित। यसले अवरुद्ध शान्ति प्रक्रियालाई गति दिएको छ, संविधान निर्माणको आधार तयार गरेको छ र सङ्क्रमणकालको सफल व्यवस्थापन हुने आशा जगाएको छ। सहज ढङ्गले प्रक्रिया अगाडि बढ्यो भने आगामी जेठमा संविधान जारी हुने र अर्को बर्षको चैत–बैशाखसम्म नयाँ निर्वाचन हुने संभावना छ।
तर स्थिति सतहमा देखिएजस्तै सहज भने छैन। शान्ति प्रक्रिया र संविधान निर्माणमा विभिन्न चुनौती छन्– माओवादीभित्रको अन्तरद्वन्द्व, संविधानमा टुङ्गिन बाँकी विवादित बिषयहरू, सङ्घीय ढाँचा निर्धारण गर्ने चुनौती र यसमा समाजका विभिन्न तप्काका चर्का आकाङ्क्षाहरूलाई व्यवस्थापन गर्ने समस्या, सत्ता साझेदारीको प्रश्न आदि। स्वेच्छिक अवकास लिएर आउने ठूलो सङ्ख्याका पूर्व लडाकुहरूको उपस्थितिले समाजमा पार्ने प्रभाव (सामाजिक र राजनीतिक दुबै), सङ्क्रमणकालीन न्याय, दण्डहीनताको अन्त्य र मेलमिलाप कायम गर्ने चुनौती जटिल छन्।
आगामी दिनमा नेकपा (एमाले) का सामु पनि नयाँ चुनौती थपिनेछन्। माओवादी कुन रूपमा प्रस्तुत हुन्छ र त्यससँगको पार्टीको अन्तरसम्बन्ध कसरी विकसित हुन्छ? तत्काल एकीकरणको त संभावना नै छैन, सहकार्य पनि सहज छैन। एउटा निर्वाचनमा यथार्थ शक्तिको आँकलनले मात्रै माओवादीलाई यथार्थ धरातलमा उभिन र आफ्नो विगतको समिक्षा सहित रूपान्तरित हुन सहयोग गर्छ। पार्टी कमजोर रहेको बेला अरुसँग एकताको कुरा गर्नु भनेको ओरालो लागेको कम्पनीको राम्रोसँग मर्जर गरे जस्तै हुन्छ– घाटाको व्यापार। पहिले आफूलाई दह्रो बनाउन सकेमात्रै आवश्यकता अनुसार अन्य शक्तिसँग सम्मानजनक ‘डिल’ गर्न सकिन्छ । त्यस्तो स्थितिमा, अझै पनि ‘मिलिट्यान्सी’ बाँकी रहेको, साधनस्रोत सम्पन्न र तुलनात्मक रूपमा युवा पङि्क्त रहेको माओवादीसँग कसरी प्रतिष्पर्धा गर्छौं? भोलि उत्पन्न हुने नयाँ राजनीतिक शक्ति सन्तुलनमा एमालेको श्रेष्ठता कसरी स्थापित गर्ने? सङ्घीयतामा जाँदा जातीय/क्षेत्रीय पार्टीहरूको उदयको प्रभावको सामना कसरी गर्ने? हाम्रा सामु प्रश्न तेर्सिएका छन्।
निश्चय नै, संभावना पनि प्रबल छन्। सबैभन्दा ठूलो कुरा, नेकपा (एमाले) ले उठाउँदै आएका मान्यताहरूको सहीपना पुष्टि भएको छ। माओवादीको हिंसात्मक बाटोको विफलता र बहुदलीय प्रतिष्पर्धामा आउनु पर्ने वाध्यता, नेपाली काङ्ग्रेसको नवउदारवादको असफलता र सामाजिक न्याय सहितको लोकतन्त्रमा आउनु पर्ने अवस्था– जवजको पुनर्पुष्टिका आधारहरू हुन्। तर एकातिर वैचारिक मान्यता स्थापित हुँदै जाने पार्टी चाहिँ तेस्रो शक्तिमा धकेलिएको बिडम्बनापूर्ण अवस्था छ। प्रतिकूल शक्ति सन्तुलनको अवस्थालाई नतोडी राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढ्दैन।
त्यसैले अबको हाम्रो समग्र ध्यान चालू राजनीतिक प्रक्रियालाई टुङ्गोमा पुर्यानएर एमालेलाई पहिलो शक्तिमा स्थापित गर्न केन्द्रित हुनुपर्छ। यसका लागि–
विचार, मान्यता र बाटो सही रहेको नेकपा (एमाले) को भविष्य छ र यसलाई एक नम्बर शक्तिका रूपमा स्थापित गर्न सकिन्छ भन्ने आशावादिता सिङ्गो पार्टी पङि्क्तमा स्थापित गर्नुपर्छ। अरुको बैशाखी टेकेर अगाडि बढ्ने चिन्तनलाई खण्डित र अस्वीकृत गर्नुपर्छ।
संविधानसभा निर्वाचनपछिको समग्र समिक्षा गरेर विशेष गरेर हामीले आफ्नो स्थान, हैसियत र काँधको जिम्मेवारी अनुरूप राष्ट्रिय राजनीतिलाई सहमतिको बाटोमा ल्याउन, अतिवादलाई परास्त गर्न र आफ्नो स्वतन्त्र र प्रभावकारी भूमिकालाई किन स्थापित गर्न सकेनौं– गहिराइसाथ विश्लेषण गर्दै आवश्यक निष्कर्ष निकाल्नुपर्छ। तर विगतका घाउलाई बल्भि्कने गरी कोट्याइमात्र रहने, आत्मभ्रर्त्सना गर्ने र प्रवृत्तिमाथि भन्दा व्यक्तिमाथि निशाना साध्ने शैली पछ्याउनुबाट भने जोगिनुपर्छ।
सङ्गठनात्मक जीवनमा देखा परेको शिशिलता, गतिहीनता र अन्यौललाई चिर्दै नयाँ रक्तसञ्चार गर्न विशेष अभियान सञ्चालन गर्नुपर्छ, जसभित्र व्यापक जनसम्पर्क र अन्तरसम्बाद, प्रशिक्षण, कार्यकर्ता भेला, साना ठूला सभा र जनपरिचालन जस्ता विधि पर्छन्। राष्ट्रिय प्रतिनिधि परिषद्को सन्देश लिएर या राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकलाई उर्जा दिने गरेर यो काम सञ्चालन गर्न सकिन्छ। यो अभियान भरी कार्यालय सञ्चालन र अत्यावश्यकीय वार्ता, संवाद या संविधान निर्माणका लागि आवश्यक पर्ने जनशक्ति छाडेर सबैलाई गाउँ फर्काइनुपर्छ।
यो अभियानमा पार्टीका नीति र मान्यताहरू, शान्ति प्रक्रिया र संविधान निर्माणमा हाम्रो भूमिका, विवादित बिषयमा पार्टी अडान आदि स्थापित गर्नुका अलावा माओवादी र अन्य पार्टीका भ्रममा परेका असल कार्यकर्तालाई फर्काउने कुरामा विशेष ध्यान केन्द्रित गरिनुपर्छ। नेकपा (माले), संयुक्त, राष्ट्रिय जनमोर्चा आदिसँग संवादलाई सघन बनाउँदै मोर्चाको तहसम्म विकास गर्नुपर्छ। सङ्घीयताका मामलामा अन्तर सामुदायिक संवाद र शान्ति प्रक्रियामा विगतमा घाउ मेटाउँदै समाजमा मेलमिलाप कायम गर्न सामाजिक पहल अगाडि बढाइनुपर्छ र यसमा नेकपा (एमाले) ले अगुवाइ गर्नुपर्छ।
शान्ति प्रक्रिया पछाडि फर्कने बिन्दुसम्म नपुगुञ्जेल सरकारको बिषयमा प्रवेश गर्नु उपयुक्त हुँदैन, यसले बन्दै गरेको वातावरणलाई बिथोल्न र ध्यान विकेन्द्रित गर्न सक्छ। त्यसै पनि हामीले उत्ताउलिएर सरकारको बारेमा धेरै बोल्नु वाञ्छनीय हुँदैन।

प्रतिक्रिया
सम्बन्धित खवर

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ