प्रधानमन्त्रीसहित कुनै मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

२२ फाल्गुन २०७०, बिहीबार ०६:५७ मा प्रकाशित

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको नेतृत्व गरेको तीन साता बितिसक्दा पनि सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।

मन्त्रिपरिषद् विस्तार भएकै दिन बैठक बसेर तत्काल सम्पत्ति विवरण बुझाउने निर्णयसमेत भए पनि प्रधानमन्त्री कोइरालाले नै अहिलेसम्म आफ्नो सम्पत्ति विवरण नबुझाएका हुन् ।

प्रधानमन्त्रीले पदभार ग्रहण गरेको एक साताभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाउने नियम र परम्परा रहेकोे छ । तर, प्रधानमन्त्रीमा निर्वाचित भएको तीन साता बितिसक्दा पनि कोइरालाले नै सम्पत्ति विवरण नबुझाएका हुन् । प्रधानमन्त्रीले शपथ लिएकै दिन नियुक्त भएका अर्थमन्त्री डा. रामशरण महतले पनि सम्पत्ति विवरण पेस गरेका छैनन् ।

मन्त्रिपरिषद्का अध्यक्ष र सदस्यहरूले पदभार ग्रहण गरेको एक साताभित्र सम्पत्ति विवरण पेस गर्ने परम्परा रहे पनि अवज्ञा गरी नबुझाएका हुन् । सरकारको नेतृत्व गरेको करिब दुई सातापछि १३ फागुनमा प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री भएकाहरूले समेत सम्पत्ति विवरण पेस गरेका छैनन् ।

कोइरालाले आफ्नो नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद् विस्तारपछिको पहिलो बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण तोकिएको निकायमा पेस गर्नुपर्ने नियमभन्दा एक कदम अघि सरेर सम्पत्ति सार्वजनिकको निर्णय नै गरेका थिए । कोइरालाले गरेको यो निर्णय निजी थिएन ।

उनले मन्त्रिपरिषद्बाटै अनुमोदन गराउँदै भने, ‘मन्त्रिपरिषद्का सबैले एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेछन् ।’ तर, कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले निर्णय गरेको एक साता बितिसक्दा पनि कुनै मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न त परको विषय, सम्पत्ति पेससमेत गरेका छैनन् ।

कोइराला २७ माघमा व्यवस्थापिका संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भई २८ माघमा शपथ लिएर महतलाई मन्त्री पदको शपथ गराएका थिए । दुई उपप्रधानमन्त्री, १६ मन्त्री र एक राज्यमन्त्रीले भने १३ फागुनमा शपथ लिएका थिए ।

२१ सदस्यीय मन्त्रिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री कोइराला र मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेस नगरेपछि मन्त्रिपरिषद्को आधिकारिक वेबसाइट डब्लूडब्लूडब्लू डट ओपीएमसीएम डट जीओभी डट एनपीको पहिलो पेजमै ‘सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरूको सम्पत्ति विवरण’ केही उल्लेख छैन । सो वेबसाइटमा कुनै पनि मन्त्रीको सम्पत्ति विवरण उल्लेख नगरी खाली छोडिएको छ ।

कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंह रहेका छन् । दुवै उपप्रधानमन्त्रीले सम्पत्ति विवरण नबुझाएको वेबसाइटमा देखिन्छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्न भएको ढिलाइका विषयमा प्रतिक्रिया लिन खोज्दा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल सम्पर्कमा आउन चाहेनन् ।

वर्तमान सरकारमा आधाजसो सदस्य पुरानै अनुहार हुन् । प्रधानमन्त्री कोइराला र परराष्ट्रमन्त्री महेन्द्र पाण्डे बिमस्टेक सम्मेलनका क्रममा म्यानमारमा छन् । दुई उपप्रधानमन्त्रीसहित अन्य मन्त्रीहरू स्वदेशमै रहे पनि प्रधानमन्त्रीले नै विवरण पेस नगरेको भन्दै बुझाउन आनाकानी गरेका हुन् ।

मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार यसअघि तोकिएको सात दिनभित्रै सम्पत्ति विवरण बुझाउने गरेकाहरूले पनि यस पटक विवरण बुझाएका छैनन् । ‘प्रधानमन्त्री र मन्त्रीलाई सम्पत्ति विवरण बुझाउ भनेर कसरी भन्न सकिन्छ, यो त उहाँहरूको नैतिकतासँग जोडिएको विषय हो,’ सरकारका एक सचिवले भने ।

– राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र