एमाले महाधिवेशन २४ जेठबाट काठमाडौंमा

२२ फाल्गुन २०७०, बिहीबार ०६:५३ मा प्रकाशित

काठमाडौं, २२ फागुन । नेकपा एमालेले पार्टीको नवौं महाधिवेशन आगामी २४ देखि ३१ जेठसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । 

केन्द्रीय कमिटीको बुधबार सम्पन्न बैठकले स्थायी समितिबाट ३ जेठका लागि प्रस्तावित मिति परिवर्तन गर्दै २४ जेठमा महाधिवेशन आयोजना गर्ने सर्वसम्मत निर्णय गरेको हो । 

महाधिवेशन प्रस्तावित मितिमै गर्ने या सार्ने विषयमा दुई ध्रुवमा उभिँदै केन्द्रीय सदस्यहरूबीच बहस चर्किएपछि महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेलको ‘मध्यमार्गी’ प्रस्तावअनुसार बुधबारको बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशन मिति सार्ने औपचारिक प्रस्ताव गरेका थिए । अध्यक्ष खनालको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

यसअघि स्थायी समितिले ९ वैशाख र पछिल्लो पटक ३ जेठमा काठमाडौंमा महाधिवेशन आयोजना गर्नेगरी कार्यतालिकासहितको कार्ययोजना अघि सारेको थियो । वैचारिक र प्राविधिक तयारीका लागि पर्याप्त समय आवश्यक पर्ने र समय घर्र्किसकेकाले मिति सार्न नहुने अडान देखिएपछि केन्द्रीय कमिटीले महाधिवेशन मिति तीन साता पर सार्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको सुझाव मध्यनजर गर्दै बैठकले महाधिवेशन प्रतिनिधिको अधिकतम संख्या १ हजार ८ सय तोक्ने निर्णय गरेको छ । ‘नवौं राष्ट्रिय महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी प्रतिनिधिहरूको अधिकतम संख्या १ हजार ८ सय हुनेछ,’ बैठकको निर्णयमा भनिएको छ । महाधिवेशन तयारीसम्बन्धी प्रस्ताव अद्यावधिक गर्न गठित कार्यदलले यो संख्यालाई दृष्टिगत गरी महाधिवेशनका प्रतिनिधि निर्वाचनसम्बन्धी अनुपात र अन्य आवश्यक प्रस्ताव प्रस्तुत गर्ने’ पनि निर्णयमा उल्लेख गरिएको छ । बैठकमा पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले प्रतिनिधिको संख्या पहिल्यै किटान गरेर मात्रै महाधिवेशन आयोजना गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘२०७० फागुन १५ गते पार्टीको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको पाँच वर्ष पूरा भएको छ । संविधानसभा निर्वाचन–२०७० मा केन्द्रित भएर लाग्नुपरेको र संविधानसभाको निर्वाचन परिणाम प्रकाशन भइसकेपछि पनि राष्ट्रिय राजनीतिका ज्वलन्त विषयहरूको व्यवस्थापनमा पार्टीको मूल नेतृत्व केन्द्रित हुनुपरेकाले पाँच वर्ष पुग्नासाथ महाधिवेशनको आयोजना गर्न सम्भव भएन । तसर्थ, यो बैठकले पार्टी विधानको धारा १३(क) मा उल्लेख भएबमोजिम २४–३१ जेठ २०७१ मा पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ,’ एमालेले भनेको छ ।

त्यस्तै, बैठकले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्यहरू नवौं राष्ट्रिय महाधिवेशनसमक्ष आयोजकका साथै प्रतिनिधि हुने प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरिएको सचिवालय सचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानमा भने केन्द्रीय कमिटी तथा केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरू आयोजकका हैसियतले महाधिवेशनमा सहभागी हुने तर प्रतिनिधि हुनका लागि भने तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ । तर, केन्द्रीय कमिटीले स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था महाधिवेशनमा लैजाने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मस्यौदा कमिटीको संयोजकमा अध्यक्ष झलनाथ खनाल, सहसंयोजक उपाध्यक्ष वामदेव गौतम र सचिवमा महासचिव र्ईश्वर पोखरेल रहने निर्णय गरेको छ । स्थायी समितिले भने दस्तावेज लेखन संयोजकको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिने प्रस्ताव केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गरेको थियो । पार्टीबाट सरकारको नेतृत्व गरेको र विधानमै अध्यक्षले दस्तावेज प्रस्तुत गर्ने प्रावधान रहेकाले खनाललाई नै दस्तावेज लेखनको जिम्मेवारी दिइएको हो ।

बैठकले नवौं महाधिवेशनको आयोजना तथा तयारीसम्बन्धी प्रस्ताव अद्यावधिक गर्नका लागि स्थायी कमिटीसमक्ष प्रस्ताव प्रस्तुत गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा नौ सदस्यीय कार्यदल पनि गठन गरेको छ । कार्यदलमा सचिवहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेलसहित सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, भीम रावल, केशवलाल श्रेष्ठ र गरिमा शाह छन् । कार्यदललाई पाँच दिनभित्र कार्ययोजनासम्बन्धी प्रस्ताव स्थायी कमिटीसमक्ष प्रस्तुत गर्ने जिम्मेवारी दिइएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

कार्यदलद्वारा प्रस्तुत प्रस्तावउपर छलफलपछि स्थायी समितिले आवश्यक निर्णय गरी अन्तरपार्टी निर्देशन जारी गर्ने एमालेले जनाएको छ । नवौं महाधिवेशन तयारीका लागि बैठकमा दस्तावेज लेखन र मूल व्यवस्थापनसहित १२ समिति प्रस्ताव गरिएको थियो । जसअनुसार दस्तावेज लेखनको नेतृत्व अध्यक्ष खनाललाई दिई अन्य प्रस्तावलाई पारित गरिएको छ । जसअनुसार महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठनको प्रस्ताव गरिएको छ ।

मूल व्यवस्थापन समितिमा युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पर्शुमेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, विष्णु रिमाल, अष्टलक्ष्मी शाक्य, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने सदस्य छन् । यसैगरी, सुरेन्द्र पाण्डे, गंगालाल तुलाधर, धर्मनाथ शाह, श्रीमाया थकाली, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, भीम रावल, राधा ज्ञवाली, बिन्दा पाण्डे र पशुपति चौलागाईं रहेका छन् ।

– राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा