संविधान लेखन सुरु नहुँदै चर्कियो प्रमाणीकरण विवाद

२१ फाल्गुन २०७०, बुधबार ०६:२९ मा प्रकाशित

काठमाडौं, २१ फागुन । संविधान लेखन कार्य सुरु नहुँदै कसले प्रमाणीकरण गर्ने भन्ने विवादले संविधानसभा नियमावलीको मस्यौदा तयार हुन नसकेपछि मतदानबाट टुंगो लगाउने गृहकार्य अघि बढेको छ । 

नियमावली मस्यौदा समितिमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भई मस्यौदा लेखन कार्य नै अवरुद्ध भएपछि संविधानसभा सचिवालयले मतदान प्रक्रियाबाट टुंगो लगाउने गृहकार्य थालेको हो ।

मंगलबार बसेको संविधासभा बैठकमा पेस गर्ने भनिएको नियमावली मस्यौदा विवादका कारण पेस गर्न नसकेपछि अन्तिम पटक १० दिनको म्याद थप गर्दै सो समयभित्र सहमति नभए मतदान प्रक्रियामा लैजाने तयारी गरिएको हो ।

नियमावली नबनेका का™ण संविधान निर्माण प्रक्रियामा समेत असर पुगेपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अन्तिम पटकको म्याद थप भन्दै सो समयमा नियमावली नबनाए मतदानबाटै टुंगो लगाउने रुलिङ गरेका छन् ।

मस्यौदा समितिले दुई/तीनओटा विषयमा अझै छलफल गर्नुपर्ने भएका कारण मंगलबारको संविधानसभा बैठकमा पुनः म्याद थपको प्रस्ताव गरेपछि २७ फागुनसम्म थपिएको छ । मस्यौदा समितिमा संविधान कसले प्रमाणीकरण गर्ने ? ककस राख्ने कि नराख्ने र ह्विप लगाउने कि नलगाउने भन्ने विवादले अनावश्यक समय लिएपछि सभाध्यक्ष नेम्वाङले मतदानबाटै टुंगो लगाउने गरी सचिवालयमार्फत गृहकार्य अघि बढाएका हुन् ।

मंगलबारको संविधानसभा बैठकमा सभाध्यक्ष नेम्वाङले २७ फागुनभित्र जसरी पनि मस्यौदा तयार गर्न मस्यौदा समितिलाई निर्देशन दिए ।

संविधानसभाको काम अघि बढ्ने मुख्य आधार नै नियमावली भएको तर सो काम हुन नसकी बिजनेस अगाडि बढ्न नसक्ने भन्दै नेम्वाङले जसरी पनि नियमावली तयार गर्नुपर्ने बताए ।

संविधानसभा आफैंले आफ्नो बिजनेस तयार गर्नुपर्ने जनाउँदै २७ फागुनभित्रै जसरी पनि नियमावली मस्यौदा तयार गर्नुपर्ने उनको निर्देशन थियो । ‘मलाई विश्वास छ, त्यो आवश्यकता, त्यो अपरिहार्यता र यो अवधिलाई महसुस गरेर नियमावलीलाई टुंगोमा पु-याउनेछौं,’ नेम्वाङले भने । उनले यो अवधिमा नियमावली नआए आफू सहमतिका नाममा समय धकेलेर नबस्ने स्पष्ट संकेत पनि दिएका छन् । ‘२७ फागुनपश्चात् संविधान निर्माणको कार्य अगाडि बढउन सक्नेछौं,’ नेम्वाङले भने, ‘२९ फागुनमा बस्ने संविधानसभा बैठकले जसरी पनि नियमावली दिनै पर्छ ।’

मस्यौदा तयार गर्नका लागि मुख्य विवाद देखिएको संविधानको प्रमाणीकरण कसले गर्ने भन्नेमा छ । अन्तरिम संविधान, २०६३ मा संविधान राष्ट्रपतिले प्रमाणीकरण गर्ने उल्लेख छ तर संविधानसभा नियमावली, २०६५ मा सभाध्यक्षले प्रमाणीकरण गर्ने उल्लेख छ । अन्तरिम संविधानको धारा ८७ मा सदनबाट पारित विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि ऐन बन्नेछ । तर, राष्ट्रपतिको निर्वाचन भई कार्यभार नसम्हालेसम्म सभामुखद्वारा नै प्रमाणीकरण हुने उल्लेख छ । संविधानको धारा १६५ को उपधारा १ को खण्ड (घ) मा विधेयक भन्नाले व्यवस्थापिका संसद् वा संविधानसभामा पेस भएको संविधान वा ऐनको मस्यौदा भन्ने उल्लेख छ ।

तर, संविधानसभा नियमावलीको नियम १०८ को उपनियम २ संविधानसभाबाट पारित भई सदस्यहरूले हस्ताक्षर गरेको संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणीकरण भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्ने उल्लेख छ । साथै, प्रमाणीकरण भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रिपतिसमक्ष पेस गरेपछि राष्ट्रपतिले सोही समारोहमार्फत नेपाली जनतासमक्ष संविधान सार्वजनिक गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने व्यवस्था छ । सोही विषयमा कांग्रेस र एमालेबीच विवाद देखिएको हो ।

मस्यौदा समितिमा एमाले र केही साना राजनीतिक दलले संविधानसभा नियमावली, २०६५ बमोजिम नै सभाध्यक्षले जारी गर्ने गरी मस्यौदा बनाउनुपर्ने अडान लिएका छन् ।

कांग्रेसले भने संविधानमा स्पष्ट व्यवस्था भएकाले नियमावलीमा राख्नुको कुनै अर्थ नहुने बताएको छ । १७ फागुनसम्म म्याद रहेको मस्यौदा समितिको मंगलबारको संविधानसभा बैठकमा १० दिनको समय थप भएपछि नियमावली मस्यौदा समितिले विमति राख्ने सदस्यको फरक मतसहित नियमावली संविधानसभामा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री सुशील कोइराला २२ फागुनमा स्वदेश फर्केपछि केही विषयमा सहमति गर्नका लागि पर्खने तयारीमा मस्यौदा समिति रहेको छ ।

संविधानसभाबाट गत २९ माघमा गठन भएको ४९ सदस्यीय मस्यौदा समितिको १० फागुनसम्म अवधि थियो । समितिले गत १० फागुनमा एक साता म्याद थप गर्ने निर्णय गरेको थियो । नियमावली मस्यौदा समितिले संवैधानिक–राजनीतिक संवाद सहमति समिति, अभिलेख अध्ययन तथा निक्र्योल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव संकलन समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति गरी पाँच समिति राख्ने सहमति भएको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र