नेपालमा ‘आत्मदाह’ गराउने दलाई लामाको योजना

१९ फाल्गुन २०७०, सोमबार ०६:५५ मा प्रकाशित

काठमाडौं, १९ फागुन । १० मार्चलाई लक्षित गरेर भारतको धर्मशालाबाट सडकमार्ग हुँदै तिब्बती शरणार्थीहरू काठमाडौं प्रवेश गरेका छन् । तिब्बतबाट दलाई लामा निर्वासनमा गएको १० मार्चलाई लक्षित गरी नेपालमा विभिन्न भागमा आन्दोलन गर्न दलाई लामाको समर्थनमा सो समूह नेपाल प्रवेश गरेको स्रोतले दाबी गरेको छ । 

भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाले यस पटक नेपालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले १५ जनाको समूहलाई काठमाडौं पठाएको पनि स्रोतले जनाएको हो ।

भारतबाट नेपाल प्रवेश गरेका ती १५ जनाको समूहलाई विश्वको ध्यानाकर्षण गराउन आत्मदाह गर्नु परे पनि तयारी हालतमा रहन भन्दै नेपाल पठाएपछि नेपाल प्रहरीले ‘स्पेसल टाक्र्र्स फोर्स’ नै गठन गरेर खोजी गर्न थालेको समाचार राजधानी दैनिकले लेखेको छ ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाइरहेका बेला तिब्बती शरणार्थीहरूले नेपालमै विभिन्न खाले गतिविधि गर्न थालेका छन् । गृह मन्त्रालयको टोली यतिबेला चीन भ्रमणमै रहेको छ । सो टोलीले नेपाल एक चीन नीतिमा सहमत रहेको र चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धतासमेत जनाइसकेको छ ।

भारतको धर्मशालाबाट नेपाल छिरेको सो समूह कहाँ र कुन शरणार्थी शिविरमा रहेका छन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार नेपाल छिरेका शरणार्थीहरू दीर्घरोगी रहेको र उनीहरूलाई चीन सरकारको विरोधका लागि आत्मदाह गर्नसमेत तयारी अवस्थामा रहन भन्दै नेपाल पठाएका कारण उनीहरूको खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

चीनले यस पटक नेपालको भूमि प्रयोग गरेर भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतीहरूले कुनै पनि विरोधका कार्यक्रम सञ्चालन गरे चीन चुप लागेर नबस्ने चेतावनी नेपाल सरकारलाई दिएपछि सरकारले नेपालभित्रैका शरणार्थीहरूको जुनसुकै हालतमा पनि पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको ती अधिकारीले जानकारी दिए । स्वतन्त्र तिब्बतको माग गर्दै संसारभर रहेका तिब्बती शरणार्थीहरूले मार्च महिनाभर विश्वमा नै विरोध गर्ने गरेका छन् ।

तिब्बती शरणार्थीहरू बौद्ध, स्वयम्भू, जावलाखेललगायतका क्षेत्रमा लुकेको आशंकामा प्रहरीले ती क्षेत्रमा निगरानी बढाएको छ । यसका साथै राजधानीका सबै सुरक्षा युनिटका प्रहरी प्रमुखलाई चनाखो रहन निर्देशन दिइसकेको छ । ‘नेपालको भूमिमा छिमेकी राष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि हुन्न दिन्नौं, यसतर्फ नेपाल प्रहरी सचेत छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले  भने, ‘नेपालको भूमिमा शरणार्थीलाई कानुनत बस्ने अधिकार छ, आन्दोलन गर्ने अधिकार छैन ।’

धर्मशालाले यस पटक पठाएको समूहमा सबै नै दीर्घरोगी रहेकाले उनीहरू नेपालको भूमि प्रयोग गरेर आत्मदाह गर्नका लागि नै आएको निष्कर्षमा प्रहरी पुगेको पनि प्रधान कार्यालय स्रोतले बतायो । सम्भावित विरोध वा दुर्घटना रोक्न प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विशेष ब्युरोले स्पेसल टाक्स फोर्स नै गठन गरेको छ ।

महानगरीय आयुक्तको कार्यालयले पनि मतहतका सबै निकायलाई पत्राचार गरी भारतीय धर्मशालाबाट काठमाडौं आएका तिब्बती शरणार्थीबारे सूचना संकलन तथा पक्राउ गर्न भन्दै कडा निर्देशन दिएको छ । सरकारले ती व्यक्तिलाई पक्राउ वा उनीहरूको कुनै पनि गतिविधि सञ्चालन हुन नदिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएपछि उनले सबै प्रहरीलाई तिब्बती गतिविधि नेपालमा हुन नदिन निर्देशन दिएको ती अधिकारीले बताए ।

यसअघि भारतबाट नेपाल आउने तिब्बती शरणार्थीले नेपालको भूमि प्रयोग गरेर चीनको विरोध मात्रै गर्ने गरेको भए पनि यस पटक भारतबाटै सबै तयारी पूरा गरी आत्मदाह गर्न उक्साएर नेपाल पठाएको पनि प्रहरीको भनाइ छ ।

यस पटक कुनै पनि हालतमा शरणार्थीहरूलाई विरोध गर्न नदिने गरी प्रहरी परिचालन गर्न पनि भनिएको छ । प्रहरीले शिविरका सबै शरणार्थीहरूको विवरणसमेत माग गरिसकेको छ । काठमाडौंमा रहेका १३ शरणार्थी शिविर, पोखरा तथा मुस्ताङ, सोलुलगायतका जिल्लाका शिविरमा रहेका शरणार्थीहरूको विवरणसमेत मागेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र