वीरको आकस्मिक कक्ष रातभर चिकित्सकविहीन

१९ फाल्गुन २०७०, सोमबार ०६:४४ मा प्रकाशित

काठमाडौं, १९ फागुन । अस्पतालको आकस्मिक कक्षमा चौबीसै घन्टा चिकित्सक हुनुपर्छ । तर, मुलुककै जेठो वीर अस्पतालको आकस्मिक कक्ष भने शनिबार राति करिब १२ घन्टा चिकित्सकविहीन हुनुप-यो । 

ड्युटीमा खटिनुपर्ने चिकित्सक र अस्पताल प्रशासनको चरम लापर्बाहीका कारण शनिबार राति ९ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सो अस्पतालको आकस्मिक कक्षमा यो समस्या देखिएको हो ।

अस्पताल प्रशासन र चिकित्सकको चरम लापर्बाहीका कारण सो अस्पतालको आकस्मिक कक्षमा पुगेका बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका थिए ।
वीरको आकस्मिक सेवामा कम्तीमा चारजना मेडिकल अधिकृत अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, जनशक्ति कम भएको भन्दै प्रशासनले सो समयमा दुईजनालाई मात्र खटाएको थियो । तर, खटाइएका ती दुवैजना पनि अनुपस्थित भएपछि आकस्मिक सेवा चिकित्सकविहीन बनेको हो ।

आकस्मिक सेवा विभागका प्रमुख डा. न्हुच्छेमान डंगोलले जनशक्ति अभावका कारण समस्या भएको बताए । उनका अनुसार सो समयमा एकजना मेडिकल अधिकृत र एकजना स्वयंसेवक चिकित्सकलाई सेवामा खटाइएको थियो ।

मेडिकल अधिकृत डा. दीपा खड्का आफैं बिरामी भएको भन्दै आकस्मिक कक्षको गेटबाटै फर्किएको बिरामीका आफन्तले बताए । स्वयंसेवक चिकित्सक डा. सन्दीपकुमार कर्ण भने आकस्मिक कक्षमा आउँदै आएनन् । डा. डंगोलले आकस्मिक सेवामा चिकित्सक नभएको भनेर राति अबेर मात्र थाहा पाएकाले अन्य व्यवस्था गर्न नसकेको बताए ।

‘डा. खड्काले आफू बिरामी भएकाले काम गर्न नसक्ने भनेर राति अबेर मात्र जानकारी गराउनुभयो,’ डा. डंगोलले भने, ‘स्वयंसेवकका रूपमा खटाइएका चिकित्सक आउँदै आउनुभएनछ ।’ सेवा अवधिका लागि तोकिएकी डा. खड्का करार चिकित्सक हुन् ।

दरबन्दीअनुसारको जनशक्ति नहुँदा आकस्मिक कक्षमा पटकपटक समस्या आएको उनले बताए । ‘यसअघि पनि यस्ता समस्या आउँथे, अन्य समयका सेवामा खटिएका चिकित्सकहरूलाई आग्रह गरेर समाधान गर्दै आएका थियौं,’ उनले भने, ‘हिजो रातिको कुरा प-यो मिलाउनै सकिएन ।’ पर्याप्त चिकित्सक नभएका कारण शनिबार अन्य सेवा समयमा पनि उपलब्ध चिकित्सकलाई थप समय सेवामा खटाएको उनले बताए ।

‘अन्य सिफ्टमा पनि समस्या भएको थियो, अनुरोध गरेर थप समय काममा लगाएर सेवा दिएका थियौं,’ उनले भने । डा. डंगोलले चार महिनाअगाडि नै अस्पताल प्रशासन र चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) लाई थप दरबन्दीका लागि टिप्पणी उठाएर पठाए पनि पूरा नभएको बताए ।

१९ चिकित्सकको दरबन्दी रहेको वीर अस्पतालको आकस्मिक सेवामा हाल ६ जना मेडिकल र तीनजना विशेषज्ञ गरी नौजना मात्र रहेका छन् । १४ जना मेडिकल अधिकृत र पाँचजना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी रहेको छ । एउटा सिप्टमा तीनजना मेडिकल र एक सिनियर चिकित्सकले आकस्मिक कक्षमा अनिवार्य हुनुपर्ने भए तापनि हाल नौजनाले पालैपालो गर्ने गरेको उनको भनाइ छ ।

अस्पतालका निर्देशक डा. बुलन्द थापाले शनिबार बेलुकीदेखि आइतबार बिहानसम्म आकस्मिक कक्षमा चिकित्सक नभएर बिरामीले सेवा नपाउनु दुःखद भएको बताए । ‘आकस्मिक कक्षमा चिकित्सक नहुनु दुःखद कुरा हो,’ थापाले  भने, ‘जनशक्ति अभावले हिजोको समस्या उत्पन्न भएको हो ।’

उनले ड्युटीमा खटिएर पनि जानकारी नदिई अनुपस्थित हुनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले आकस्मिक सेवामा चिकित्सक नभएको भनेर बिरामी फर्काउन नहुने बताए । ‘आकस्मिक कक्षमा खटाइएको चिकित्सक नभए उपलब्ध चिकित्सकले थप समय खटिएर वा सिनियर भए पनि उपलब्ध हुनुपर्छ,’ अस्पतालका निर्देशक डा. थापाले भने ।

खाली दरबन्दीमा चिकित्सक थप गर्न आफूले गत २२ फागुनमै स्वास्थ्य मन्त्रालयलाई आकस्मिक सेवाका लागि ६ जना र अन्य विभागका लागि समेत गरी १८ जना थप मेडिकल अधिकृत उपलब्ध गराइदिन पत्र पठाएको बताए । पत्र पठाए पनि हालसम्म कुनै पहल नभएको उनको भनाइ छ ।

आफू अस्पतालको कार्यकारी निर्देशक भए पनि कर्मचारी थप गर्न आफूलाई अधिकार नभएको उनको भनाइ छ । ‘चिकित्सक थप गर्ने अधिकार मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई मात्र रहेको छ,’ उनले भने । अस्पतालले न्याम्सलाई पनि पटकपटक चिकित्सक थप गर्न अनुरोध गरे पनि आन्तरिक कारणले गर्दा थप हुन नसेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार