एमाओवादीमा चुलियो दाहालको कतार भ्रमण विवाद

१८ फाल्गुन २०७०, आईतवार ०६:३१ मा प्रकाशित

काठमाडौं, १८ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको गत साता सम्पन्न कतार भ्रमणका विषयमा एमाओवादीभित्रै रडाको मच्चिएको छ । भ्रमण र भ्रमणको उपलब्धिका विषयमा विवाद भएको नभई भ्रमण दलका सदस्यहरूको विषयमा चर्केको विवादले एमाओवादीमा रडाको मच्चिएको हो ।

रडाको बढ्दै गएपछि भ्रमण दलका सदस्यहरूको बचाउ गर्ने र प्रस्टीकरण दिने क्रम सुरु भएको छ । पार्टीकै दुई महत्त्वपूर्ण विभागले भ्रमण टोलीका सदस्यहरूका विषयमा अलग–अलग धारणा सार्वजनिक गरेका छन् । दाहालको भ्रमण टोलीमा रहेका केही सदस्यहरूको विषयमा पार्टीभित्रै चर्को असन्तुष्टि जन्मिएपछि एमाओवादीको अन्तर्राष्ट्रिय विभागले भ्रमण टोलीमा तीनजना मात्रै आधिकारिक रहेको र एकजना भने श्रम विभागको हैसियतमा गएको प्रस्ट्याएको एक दिन नबित्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले भ्रमण टोलीमा सातजना रहेको सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

दाहालले ७ देखि ११ फागुनसम्म कतारको औपचारिक भ्रमण गरेका थिए । भ्रमण टोलीमा दाहालका अतिरिक्त प्रवक्ता दीनानाथ शर्मा, स्वकीय सचिव चूडामणि खड्का, पूर्वश्रममन्त्री लेखराज भट्ट मात्र पार्टीका तर्फबाट आधिकारिक सदस्य रहेको अन्तर्राष्ट्रिय विभागले जनाएको थियो । दाहालको भ्रमण टोलीमै रहेका प्रवक्ता शर्माका ज्वाइँ शुभशंकर कँडेल र व्यापारी आरके शर्माका विषयलाई लिएर पार्टीनिकट पत्रकारहरूले तीव्र असन्तुष्टि जनाएका थिए । त्यति मात्र होइन, कतिपय केन्द्रीय सदस्यहरूले नै पार्टी शुद्धीकरणका क्रममा रहेका बेला भ्रमणमा सम्मिलित सदस्यका विषयलाई लिएर टीकाटिप्पणी गरेका थिए ।

केन्द्रीय सदस्यहरूले नै भ्रमण टोलीका विषयमा प्रश्न उठाएपछि अन्तर्राष्ट्रिय विभागले कतार भ्रमणलाई बदनियतपूर्ण बनाइएको जनाएको थियो । दाहालको भ्रमण टोलीमा रहेका सदस्यहरूको संख्यालाई लिएर गरिएको टीका–टिप्पणीप्रति विभागले असन्तुष्टि जनाएको थियो । ‘अध्यक्ष दाहाल, पूर्व अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा प्रवक्ता शर्मा, पार्टी श्रम विभाग प्रमुख भट्ट तथा दाहालका स्वकीय सचिव खड्का मात्रै भ्रमण टोलीका आधिकारिक प्रतिनिधि थिए । अन्य व्यक्तिहरूको भ्रमणको उद्देश्य र सहभागिता उहाँहरूको निजी विषय हो,’ विभागले भनेको छ ।

अन्तर्राष्ट्रिय विभागका तर्फबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अध्यक्षसँगै गएका अरूका विषयमा अध्यक्षको भ्रमणसँग जोडेर चर्चा गर्नु या अज्ञानता हो, या त बदनियत ।’ तर, प्रवक्ता शर्माले भ्रमण टोलीका सातजनाको बन्दोबस्ती परराष्ट्र मन्त्रालयमार्फत मिलाइएको बताए ।

शनिबार पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले अध्यक्ष दाहालसहित सातजनाको भ्रमणको व्यवस्था नेपालकै परराष्ट्र मन्त्रालयमार्फत मिलाइएको बताए । उनले भने, ‘अध्यक्षसँगको भ्रमणमा सातजनाको टिम आधिकारिक हो, परराष्ट्र मन्त्रालयमार्फत नै मिलाएर गइएकाले यसमा विवाद गर्नुपर्ने विषय होइन ।’

दाहालले कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री र श्रम मन्त्रीसँग भेटघाट गरेका थिए । शर्माले अध्यक्षको भ्रमण टोलीलाई त्यहाँको राजदरबारले दिएको राजकीय सम्मानदेखि भएका महत्त्वपूर्ण भेटघाटले फलदायी भएको जिकिर गरे । कतारका उच्चपदस्थ अधिकारीसँगको भेटमा दाहालले कतारमा ४ लाख नेपालीले श्रम खर्चेर महत्त्वपूर्ण टेवा पुर्‍याइरहेकाले कतारले पनि नेपाललाई सहयोग गर्नुपर्ने मत राखेको शर्माले जानकारी दिएको समाचार राजधानी दैनिकले लेखेको छ ।

‘त्यसका लागि दुई देशबीचको अध्ययन टोली बनाउने कुरा भएको छ,’ शर्माले भने, ‘यसलाई अगाडि बढाउने पहल भने नेपाल सरकारले गर्नुपर्छ ।’ नेपाली मजदुरको हित, नेपालको समग्र विकासलगायतका विषयमा केन्द्रित रहेर भ्रमणका क्रममा छलफल भएको पनि शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र