महाधिवेशनबारे एमालेमा फरकफरक मत

१७ फाल्गुन २०७०, शनिबार ०६:३१ मा प्रकाशित

काठमाडौं, १७ फागुन । पार्टीको आसन्न नवौं महाधिवेनलाई लिएर एमाले केन्द्रीय कमिटीमा सदस्यहरूबीच मत बाझिएको छ ।

संसदीय दलको निर्वाचनमा देखिएको समीकरणको प्रभाव शुक्रबारबाट पुनः सुरु भएको केन्द्रीय कमिटी बैठकमा पनि देखिएपछि नवौं महाधिवेशनको मिति र तयारीलाई लिएर केन्द्रीय सदस्यबीच मत बाझिएको हो ।

स्थायी समितिद्वारा मदन–आश्रित स्मृति दिवसको सन्दर्भ पारेर आगामी ३ जेठका लागि महाधिवेशन मिति र तयारीसम्बन्धी प्रस्तुत प्रस्तावमाथि छलफल आरम्भ भएसँगै अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट तथा संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमनिकट सदस्यहरूले महाधिवेशन तयारीबारे छुट्टाछुट्टै कोणबाट आ–आफ्ना धारणा राख्न थालेका हुन् ।

महाधिवेशन मिति र तयारीबारे छलफलका लागि ७० भन्दा बढी सदस्यले नाम टिपाएकोमा शुक्रबार ६ जनाले आ–आफ्ना तर्क राखेका छन् । केन्द्रीय कमिटीलाई बाइपास गरेर सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम असन्तुलित रूपमा चयन गरिएको भन्दै बैठकको सुरुमै चर्को आलोचना भएपछि सरकारमा सहभागिताको छुट्टै एजेन्डासमेत छलफलका लागि थपिएको छ ।

बैठकमा अध्यक्ष झलनाथ खनालले सरकार गठन र मन्त्रिमण्डल बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेससँग भएको सहमति र सहभागिताका विषयमा जानकारी गराएका थिए । अध्यक्ष खनालले पार्टीको नीति र निर्देशनअनुसार काम गर्न भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसहित सरकारमा सहभागी सबैलाई केन्द्रीय कमिटीको तर्फबाट बधाईसमेत दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तर्फबाट सहभागी हुने मन्त्री चयनका सन्दर्भमा ग्रान्डी अस्पतालमा आयोजित स्थायी समिति बैठकमा सहभागी नहुनुको कारण र त्यसबारे उपाध्यक्ष गौतमले मिडियामार्फत सार्वजनिक गरेको धारणाबारे भनाइ राखेका छन् ।

वरिष्ठ नेता नेपालले बिरामीलाई अस्पताल उपचारका लागि, भीडभाडबाट बचाएर एकान्तमा आरामका लागि लगिने स्थान भएकाले बैठक राखिएको स्थान उचित नठानेर सहभागी नभएको प्रस्टीकरण दिँदै बैठक राखेर उल्टै ओलीको स्वास्थ्यमाथि खेलबाड गरिएको भनाइ राखेका थिए ।

‘अस्पतालमा बैठक राखेर केपी कमरेडको स्वास्थ्यमाथि खेलबाड भयो, उहाँ बिहान मात्रै छलफलमा बस्नुभयो, दिउँसो सहभागी हुन नसकेर आराम गर्नुभयो भन्ने साथीहरूको भनाइबाट पनि मैले त्यहाँ बैठक बस्नु उपयुक्त थिएन भनेको कुरा पुष्टि भइसकेको छ,’ बैठकमा नेपालको भनाइ थियो, ‘मैले उहाँको राय लिएर वा प्रतिनिधि राखेर कार्यालयमै बैठक बसौं भनेको कुरा नै आखिर पुष्टि भइसकेपछि किन, कसरी कारबाहीको कुरा बाहिर आयो रु त्यसमा मेरो आपत्ति छ ।’

नेपालले यदि आफू अनुपस्थित भएकै कुरा मान्ने हो भने पनि कम्तीमा तीन पटक अनुपस्थित भएको अवस्थामा मात्रै कारबाहीको व्यवस्था पार्टी विधानमा रहेको भन्दै पद्धति र प्रक्रिया मिच्दै जाने कुराले पार्टी एकतामा चुनौती थपिएको बताएका थिए । ‘कारबाहीको कुरा कसरी मिडियामा आयो रु यस्ता कुरा गरेर के गर्न खोजिएको हो रु’ आक्रोशित हुँदै नेपालको भनाइ थियो, ‘यदि यसैगरी जाने हो भने कसरी पार्टीमा एकता कायम हुन्छ रु बाहिरको चुनौती हामी कसरी एकताबद्ध भएर सामना गर्न सक्छौं ?’

उपाध्यक्ष गौतमले भने सम्मानका लागि बोलाइएको कार्यक्रममा जबर्जस्ती प्रश्नहरू थोपरिएपछि जवाफ दिएको भन्दै वरिष्ठ नेताको मानमर्दन हुने गरी कुनै पनि कुरा नराखेको स्पष्ट पारेका थिए । ‘आयोजकले वरिष्ठ नेता सहभागी नभएकाले निर्णय मान्न बाध्य छैन भन्दै कारबाही हुन्छ कि हुन्न भन्दै प्रश्न गरेपछि मैले आफ्नो धारणा राखेको हुँ, उहाँमाथि के हुन्छ रु केही पनि हुँदैन, वरिष्ठ नेतामाथि कारबाही हुँदैन, कारबाही गर्ने ठाउँ नै छैन भनेको हुँ,’ बैठकमा गौतमको भनाइ थियो, ‘म स्पष्टीकरण दिँदै भन्छु, वरिष्ठ नेता कमरेडको चरित्र हत्या गर्ने गरी नकारात्मक आशयले मैले कुरा बोलेकै छैन ।’

गौतमले महाधिवेशन मिति र तयारीका सन्दर्भमा समेत धारणा राख्दै कमिटीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् । ‘महाधिवेशन प्रस्तावित मितिमा गर्ने भए पनि गरौं, समय नपुग्ने भए सारे पनि सारौं, दस्तावेज लेखनको संयोजकमा राखे पनि राख्नोस्, फेरे पनि फेर्नोस्, मेरो आफ्नै भनाइ केही छैन, केन्द्रीय कमिटीबाट तपाईंहरूले जे निर्णय गर्नुहुन्छ, मलाई त्यही मान्य हुनेछ,’ गौतमको भनाइ थियो ।

उनले सरकार चलाउने शक्ति पार्टी नै भएको भन्दै सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए ।
बैठकको सुरुमै केन्द्रीय सदस्यहरू रामचन्द्र यादव, रामप्रित पासवान, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायतले केन्द्रीय कमिटी चलिरहेका बेला कुनै म्यान्डेट नलिई पूरै बाइपास गरेर विधि र प्रक्रियाभन्दा बाहिर गएर असन्तुलित ढंगले मन्त्रीको नाम चयन गरिएको भन्दै बैठकको एजेन्डा बनाउन माग गरेका थिए ।

मन्त्री चयनका विषयमा चर्को आलोचना भएपछि महाधिवेशन तयारीसम्बन्धी छलफलसँगै सरकारमा सहभागिताको विषय पनि छलफलका लागि प्रस्ताव गरिएको छ । यादव र पासवानले क्षेत्र, लिंग र समुदाय नमिलाईकन मन्त्री चयन गरिएको भन्दै आलोचना गरेका थिए । तर, वरिष्ठ नेता नेपालले आफ्नो असहमति बैठकको स्थान र पद्धतिमाथि मात्रै रहेको र जो सहभागी भए पनि पार्टीबाट योगदान गर्नेहरू नै भएको भन्दै कुनै आलोचना गरेनन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष गौतमले भने राज्यमन्त्री बनाउँदा बैठकका सुझावलाई ध्यान दिने आश्वासन दिएका थिए । बैठकमा अरुण नेपाल र जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था हुनुपर्ने सुझावसमेत राखेका छन् ।

बैठकमा दुईखाले मत

महाधिवेशन मिति र तयारीसम्बन्धी छलफलमा भाग लिएका ६ सदस्यमध्ये वेदुराम भुसाल, अरुण नेपाल, घनश्याम भुसाल र परशु मेघी गुरुङले विधान संशोधन, सैद्धान्तिक, वैचारिक तयारी, पार्टीभित्र देखापरेका अन्तरविरोध व्यवस्थापनलगायतका सबै काम सकेपछि मात्रै महाधिवेशन आयोजना गर्नु उपयुक्त हुने धारणा राख्दै समय अभाव हुने भएकाले महाधिवेशन मिति सार्न प्रस्ताव गरेका छन् ।

तर, राजेन्द्र गौतम र गणेश तिमल्सिनाले भने स्थायी समितिले आवश्यक गृहकार्यसहित मिति र तयारीसम्बन्धी प्रस्ताव अघि सारेकाले प्रस्तावित मिति ३ जेठमै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले वर्तमान नेतृत्वको कार्यकाल फागुनमै सकिन लागेकाले स्थायी समितिको कार्यतालिका र कार्ययोजना पास गरेर महाधिवेशन तयारीमा जुट्नुपर्ने धारणा राखेका थिए ।

नेता वेदुराम भुसालले सचिवालयका तर्फबाट जारी गरिएको १३ ओटा अपानीमध्ये आठओटामा राष्ट्रिय प्रतिनिधि परिषद्बाट विधान संशोधन गरेर मात्रै महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको स्मरण गराउँदै अघिल्लो केन्द्रीय कमिटीको निर्णयलाई स्थायी समितिले लत्याएर एकै पटक विधान र नेतृत्व टुंगो लगाउने कुरा बेठीक भएको तर्क गरेका थिए ।

उनले लोकतान्त्रीकरणका नाममा संस्थागत निर्णयलाई लत्याएर नेता चल्ने, केन्द्रीय कमिटीको पदाधिकारीको संरचना, कम्युनिस्ट संस्कृतिमाथिको बहस, महाधिवेशन प्रतिनिधिको क्षेत्रलगायतका पक्ष टुंगो लगाएर मात्रै महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए ।
‘अहिले कम्युनिस्ट संस्कृति भनेको राजकीय पद मन्त्री र सभासद्का लागि लुछाचुँडी गर्ने, पद र सुविधाका लागि मरिहत्ते गर्ने, खरिदबिक्रीका लागिसम्म तयार हुने प्रवृत्ति हावी हुँदै गएको छ, के यही हो कम्युनिस्ट संस्कृति, टुंगो लगाउने गरी महाधिवेशनमा जाऔं,’ बैठकमा भुसालको भनाइ थियो ।

अर्का सदस्य घनश्याम भुसालले नेपाली समाजको वर्तमान चरित्र, अन्तर्विरोध, नेपाली क्रान्तिको प्रश्न, अबको कार्यभारका विषयमा पर्याप्त मात्रामा सैद्धान्तिक बहस गरेर निष्कर्षमा नपुगी नेपालको परिवर्तन र परिवर्तनको नेतृत्व गर्ने पार्टी निर्माण असम्भव भएको भन्दै पार्टी विधान, सिद्धान्त, कार्यक्रम सबै तय गरेर मात्रै महाधिवेशन मिति तोकिनुपर्ने धारणा राखेका थिए ।

‘पहिले बहस गर्न खोज्दा महाधिवेशन मिति तोकिएपछि खुला गरौंला भनियो, अहिले खुला हुने बेला फेरि हतारमै आयोजना गर्न खोजिँदै छ, यस्तो बेठीक तरिकाबाट हामी राम्रो पार्टी निर्माण गर्न सक्दैनौं,’ भुसालको भनाइ थियो ।

त्यस्तै, परशु मेघी गुरुङले अबको विधानमा पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले राज्यलाई कर तिर्ने कुरा उल्लेख गर्ने गरी पार्टी बनाउनुपर्ने, ४० वर्ष पार्टीमा महवपूर्ण योगदान पु(याएकाहरूमध्येबाट वरिष्ठ सम्मानित नेताहरूको छुट्टै काउन्सिल निर्माण गरेर नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्नेलगायतका धारणा राखेका थिए ।

राजधानी दैनिकबाट 

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र