टनकपुर भारतकै भूमि हो : प्रधानमन्त्री

१७ फाल्गुन २०७०, शनिबार ०६:२३ मा प्रकाशित

नेपालगञ्ज, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बहुचर्चित टनकपुर नेपालको नभई भारतकै भूमि भएको ठोकुवा गरेका छन् । विगतमा टनकपुर भूमिलाई लिएर नेपालीले राष्ट्रियताको आन्दोलन चर्काएको विषयलाई लिएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले टनकपुर भारतीय भूमि नै भएको ठोकुवा गरेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएको तीन सातापछि शुक्रबार गृहनगर नेपालगन्जमा आयोजित एक कार्यक्रममा कोइरालाले टनकपुर क्षेत्रलाई लिएर कांग्रेसमाथि पटकपटक आक्षेप लगाएको भन्दै आक्रोशसमेत पोखे । ‘गिरिजाबाबु पीएम (प्रधानमन्त्री) हुँदा त्यसबेला विपक्षीहरूले उहाँमाथि टनकपुर बेच्यो भनेर आरोप लगाए, वास्तवमा टनकपुर भारतकै भूमि हो, भारतीय भूमि उहाँले कसरी भारतलाई नै बेच्नुभयो ?’

कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए) को नवौं महाधिवेशन तथा २३औं साधारण सभाको उद्घाटनमा प्रधानमन्त्री कोइरालाले भने । उनले टनकपुर सन्धि गरेको बेला विपक्षीहरूले यो विषयलाई ठूलो विवाद बनाएको भन्दै त्यसलाई अनावश्यक हल्ला र विवादका रूपमा चित्रित गरे । उनले लोकतन्त्रमा कोही पनि हल्लाको पछाडि लाग्न नहुनेमा पनि
जोड दिए ।

प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान जारी गरेर सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको पनि बताए । उनले सबैजना पूर्ण इमानदार भएको खण्डमा सातआठ महिनाभित्रै संविधान बन्नेमा आफू ढुक्क भएको बताए । ‘अघिल्लो संविधानसभामा अधिकांश बुँदामा सहमति भइसकेकाले पनि संविधान बनाउन लामो समय लाग्ने अवस्था छैन,’ उनले भने, ‘धेरै कुरामा सहमति भइसकेको छ । शासकीय स्वरूप र संघीय संरचना र नक्सांकनको विषयमा ‘हाई लेबल पोलिटिकल’ सहमति भइसकेको छ । सहमति नभएका विषयमा पनि छिट्टै सहमति हुने विश्वास मलाई छ ।’

उनले सबै विषयमा आपसमा छलफल गरेर समाधान निकाल्न नसके संविधानसभामा लैजाने र त्यहीँबाटै सबै कुराको निकास खोजिनुपर्नेमा जोड दिए । ‘शासकीय स्वरूपका विषयमा प्रत्यक्ष राष्ट्रपति चुन्ने प्रस्ताव कांग्रेसलाई अस्वीकार्य छ । यदि त्यसो भए पुनः अर्को तानाशाहको जन्म हुने भएकाले चेक एन्ड ब्यालेन्सको नीति अपनाउनुको विकल्प छैन । पहिला आपसमा छलफल गरौं, सहमति खोजौं, नभए संविधानसभामा लैजाऔं,’ कोइरालाको भनाइ थियो ।

उनले विश्वभर लोकतन्त्रको लहर चलेको प्रसंग उठाउँदै भने, ‘बहुदल मान्ने र बहुलवाद नमान्ने प्रवृत्ति गलत हो । विश्वभरि प्रजातन्त्रको लहर चलेको छ । अब आशा गरौं, चीनमा समेत छिट्टै लोकतन्त्र बहाली हुनेछ ।’

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले मुलुकका लागि प्रजातान्त्रिक संविधान बनाउन प्रयत्नशील रहेको भन्दै प्रजातान्त्रिक संविधान निर्माणमा सबै प्रजातन्त्रवादीको सहभागिता हुनुपर्ने धारणा राखे । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मुलुकबाट राणा शासन फालिएकै दिन नयाँ संविधान आउनेमा आफू ढुक्क भएको दाबी गरे ।

संविधानसभाको कार्यविधि गलत भएको जिकिर गर्दैै संविधानसभाले बनाएको संविधान राष्ट्रपतिबाट जारी गर्ने गरी कार्यविधि संशोधन गर्नुपर्ने मागसमेत पौडेलले गरे । उनले मौजुदा कार्यविधिमा संविधानसभा अध्यक्षले संविधान जारी गर्ने उल्लेख भएकाले सो विषय परिमार्जन गर्नुपर्नेमा जोड दिए । ‘संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान जारी गर्ने होइन, कार्यविधि परिवर्तन गरेर भए पनि राष्ट्रपतिबाट जारी गर्न लगाउनुपर्छ,’ पौडेलको भनाइ थियो ।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । नयाँ नेतृत्वका लागि नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, अधिवक्ता गोपालकृष्ण घिमिरे र रामकुमार श्रेष्ठले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

राजधानी दैनिकबाट 

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र