गाँजा तान्न वनकालीमा तँछाडमछाड

१६ फाल्गुन २०७०, शुक्रबार ०६:३९ मा प्रकाशित

काठमाडौं, १६ फागुन । बानेश्वरका युवराज नेपाल बिहीबार पशुपतिनाथ मन्दिर परिसरमा चुरोटको खिल्लीमा गाँजा भर्दै थिए । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक तेस्रो वर्षका विद्यार्थी उनी गाँजा तान्ने र त्यसले मातेपछि प्राप्त हुने रमाइलो क्षणको पर्खाइमा थिए ।

‘गाँजा लागेपछि भित्रैदेखि रमाइलो भएर आउँछ,’ अनुभव सुनाउँदै उनी भन्छन्, ‘गाँजाले मातेको मान्छे जाँडरक्सीले मातेको जस्तो झगडा गर्न तम्सँदैनन् ।’

तर, त्यहाँ उनी एक्लै भने थिएनन् । सँगै थिए, कुमार कार्की, छेगु यादव, मदन ज्ञवाली र नवराज नेपाल । वनकालीको झाडी जंगलमा छेलिएर बसेका ती सबै युवराज अध्ययनरत क्याम्पसका साथी हुन् । उनीहरूको बिहीबारका लागि मुख्य कार्यक्रम नै सबै भेला भएर गाँजा खाने थियो ।

‘तीन/चार दिनअघि नै सल्लाह हुन्छ,’ नेपालले भने, ‘यसपालिको महाशिवरात्रि पनि साथीहरूसँग बसेर यसरी नै रमाइलो गर्दैै छौं ।’

आफ्नो धर्मसंस्कृतिप्रतिको आस्थासमेत प्रदर्शन हुने भएकाले युवराज हरेक महाशिवरात्रिका साथीहरूसँग पशुपति घुम्ने गर्छन् । महाशिवरात्रिका दिन भगवान् शिवजीको प्रसाद भनिने गाँजा, भाङ, धतुरो सेवन गर्ने साझा परम्परा भएकाले आफूहरूले पनि गाँजा खाएर रमाइलो गरेको मदन ज्ञवाली बताउँछन् ।

राजधानीको कीर्तिपुर बसेर कानुन विषय पढ्दै आएका सुरेन्द्र तिवारी पनि बिहीबार थापाथली इन्जिनियरिङ क्याम्पसका साथी अशोक पौडेलसँग गाँजा तान्दै थिए । आफू सचेत व्यक्ति भएको बताउने २० वर्षीय तिवारी एक वर्षमा एक दिन गाँजा सेवन गर्नुलाई विकृति भन्न नमिल्ने बताउँछन् ।

‘यो त संस्कृति नै हो,’ गाँजाको सर्को तान्दै गरेका तिवारी भन्छन्, ‘सधैं गाँजा तान्दै हिँड्नुचाहिँ विकृति हो । २ सय ६५ दिनमा एक दिन गाँजा सेवन गर्न पाउनु भनेको संस्कृति र यसको सम्मान पनि हो ।’

तर, उनी पनि लामो लाइन बसेर भगवान् शिवको दर्शन भने गर्दैनन् । पशुपतिका जटाधारी बाबाको गुप्तांग देखेपछि भने अरू केटाहरू भेला भएर बाबा जिस्काइरहेको भीडमा छिरेर होहल्ला गर्न भने पछि पर्दैनन् ।
महाशिवरात्रिका दिन पशुपति परिसरमा जम्मा भएका कतिपय जोगी बाबा जानीजानी आफ्नो गुप्तांग देखाइदिने गर्छन् । त्यस्ता ठाउँमा केटाहरूको भीड लाग्ने, होहल्ला गर्ने प्रवृत्ति बढेको छ ।

‘यो प्रवृत्ति भनेको त्यस्तै खाले युवाहरूलाई उमेरले दिएको देन भन्दा हुन्छ,’ तिवारीले भने, ‘यस्तै बेला मैले गत वर्ष पुलिसको गाली पनि खाएको छु ।’ उनको बुझाइमा महाशिवरात्रि साथीभाइ जम्मा भएर रमाइलो गर्ने अवसरसमेत हो । ‘महाशिवरात्रि साथीहरू भेट्ने, घुम्ने रमाइलो गर्ने अवसर पनि हो,’ उनले भने ।

राजधानीको ठमेल बसेर घरमा बिछ्याइने मार्बलको काम गर्दै आएका अमित अन्सारी पनि प्रत्येक वर्ष महाशिवरात्रिका दिन पशुपति आउने गरेका छन् । बिहीबार उनी साथी चन्द्रकुमार बेरासँग पशुपति परिसर आएका थिए । मुस्लिम समुदायबाट भए पनि उनी बिहीबार शिवजीको प्रसाद भनिने गाँजा तान्दै थिए । उनले भने, ‘संगतले गर्दा वर्षमा एक दिन गाँजा तान्न यहाँ आउने गरेको छु ।’

हिन्दू धर्म र संस्कृतिअनुसार भगवान् शिवजीले गाँजा खाने भएकाले हिजोआजका युवा सोही अनुशरण गर्दै महाशिवरात्रिका दिन गाँजा खाने गर्छन् । ‘यो संस्कृति राम्रो या नराम्रो हो, त्यो अर्कै कुरा हो,’ अध्ययनको नाममा सानोमा मदरसा शिक्षा मात्र लिएका अन्सारीले भने, ‘आजको दिन भनेको केवल रमाइलो गर्ने दिन हो ।’

त्यसो त महाशिवरात्रिमा गाँजा खानुपर्छ भन्ने मान्यताविरुद्ध पनि केही युवा भेटिए । वीरगन्जका कुन्दनकुमार पण्डित र काठमाडौं नेपालटारका गणेश विकले बिहीबार गाँजा खाएनन् ।

पण्डित वीरगन्जमै बीबीएस पहिलो वर्षमा अध्ययन गर्छन् भने विक बसुन्धारामा एचए (हेल्थ असिस्टेन्ट) विषय अध्ययन गर्छन् । भीडभाड, साधुसन्त हेरेर घुमफिर गरेर रमाइलो गरियो,’ पण्डितले भने, ‘दाइले गाँजा खाऊ भन्नुभो, तर मैले खाइनँ ।’ विकको विचारमा भने धर्मको नाममा गाँजा खाएर हिँड्नु विकृति नै हो । ‘गाँजा आफंमा राम्रो चिज होइन भने त्यो किन खाने ?’ उनले भने, ‘म त यसलाई एउटा विकृति भन्छु ।’

बाबाहरूले खुला रूपमा गाँजा बेचबिखन गरिरहेको भए पनि यस पटक पशुपति क्षेत्र विकास कोषले पनि गाँजा बेचबिखन कम भएको जनाएको छ ।

बाबाहरूले १० देखि ५० रुपैयाँसम्ममा गाँजा बेचिरहेका थिए । प्रहरीले ठाउँठाउँमा छापा मारेर उनीहरूले बेच्न ल्याएको गाँजा नियन्त्रणमा पनि लिएका थिए ।

कोषले दर्शनार्थीका लागि बिहीबार बिहान ३ बजेदेखि नै मन्दिरको चारओटै ढोका खुला गरेको थियो । उसले एक घन्टाभित्रमा दर्शन गर्न पाइने दाबी गरेको थियो । ‘तर, यस पटक पोहोर सालभन्दा व्यवस्थापन धेरै कमजोर थियो,’ दर्शनार्थी गोविन्द शर्माले भने, ‘मैले त झन्डै ६ घन्टा लाइनमा बसेर बल्लबल्ल दर्शन गर्न पाएँ ।’

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार