२० वर्षपछि औपचारिक भारत भ्रमण गर्दै आईजीपी

१६ फाल्गुन २०७०, शुक्रबार ०६:३५ मा प्रकाशित

काठमाडौं, १६ फागुन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको औपचारिक निमन्त्रणमा महानिरीक्षक अर्याल आगामी आइतबार त्यसतर्फ जान लागेका हुन् ।

तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोरापछि भारत सरकारको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जाने अर्याल पहिलो प्रहरी महानिरीक्षक हुन् । प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि अर्यालको यो पहिलो विदेश भ्रमण हो ।

भारत सरकारले प्रहरी महानिरीक्षक नियुक्त भएपछि भ्रमणका लागि निम्ता गर्ने परम्परा भए पनि बोहोरा मात्रै भ्रमणमा गएका थिए । त्यसपछि नियुक्त भएका कुनै पनि प्रहरी प्रमुख सरकारी निम्तोमा भारत भ्रमणमा गएका छैनन् ।

‘यो सद्भावना भ्रमण मात्रै भएकाले खास एजेन्डा छैनन्, अपराध नियन्त्रण, सीमा क्षेत्र तथा आतंकवादजस्ता सवालमा भने छलफल हुन्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने । महानिरीक्षक अर्यालको भारत भ्रमण प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको र भारत सरकारले पनि स्वीकृति दिइसकेकाले आइतबार नै भारत जाने स्रोतले बतायो । स्रोतका अनुसार भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धेसहित प्रहरी प्रमुखलगायत सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

महानिरीक्षक सचिवालयले पनि अर्यालको भ्रमणबारे कार्यक्रम तयार पारिसकेको छ । स्रोतका अनुसार भारत सरकारले नेपाल प्रहरीलाई गर्ने आर्थिक तथा भौतिक र प्राविधिक सहयोग आदानप्रदानबारे पनि छलफल हुनेछ । त्यसैगरी, तालिम आदानप्रदानको सवालमा पनि दुई देशका अधिकारीबीच छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।

त्यसैगरी, नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने, लागूऔषध कारोबारलाई नियन्त्रण गर्ने र नक्कली भारतीय रुपैयाँको कारोबार नियन्त्रणको विषयमा पनि छलफल हुनेछ ।

पछिल्लो समयमा भारतबाट नेपालमा औषधिजन्य लागूऔषध भित्रन थालेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेका बेला प्रहरी महानिरीक्षक अर्यालको भ्रमणका क्रममा विशेष प्राथमिकताका साथ उठाउने स्रोतले बतायो ।

त्यसैगरी, नेपाली सुरक्षा निकायको टोलीले नक्कली भारतीय नोटलाई नेपालबाट रोक्न अधिकतम प्रयास गरिने प्रतिबद्धता जनाउने स्रोतको भनाइ छ । पछिल्लो समयमा नेपालको बाटो भएर भारतीय सुन व्यापारीहरूले अवैध रूपमा सुन आयात गरिरहेका विषय पनि उठ्न सक्ने बताइएको छ ।

एआईजी बढुवा प्रक्रिया सुरु


उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवाको विषयमा गृह सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गरेका छन् । मन्त्री भएलगत्तै उनले गृह सचिव जनार्दन नेपाल र महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग एआईजी बढुवालाई विवादरहित बनाउने विषयमा छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री गौतमले दरबन्दीभन्दा बढी आकांक्षी भएकाले उनीहरू सबैको कार्यक्षमता मूल्यांकन र विगतमा गरेका कार्यसम्पादन विवरण अध्ययन गर्दै बढुवालाई तत्कालै टुंग्याउने भएका छन् ।

प्रहरी नियमावली संशोधन गर्दा एआईजी बढुवामा ढिलाइ हुने भएकाले एक हप्ताभित्र नै बढुवालाई टुंग्याउने गरी छलफल थालिएको हो । जतिसक्दो छिटो एआईजी बढुवा गरी प्रहरीमा रिक्त दरबन्दीलाई पूर्ति गर्ने गौतमको योजना छ । एआईजी बढुवाका लागि १२ डीआईजी प्रतिस्पर्धी छन् ।

बढुवाका लागि राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदार साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, वीरेन्द्रबाबु श्रेष्ठ, गणेशराज राई, प्रतापसिंह थापा, प्रशुराम खत्री, यादव अधिकारी, विश्वराज शाही र सुशीलवरसिंह थापा प्रतिस्पर्धी हुन् ।

उपप्रधानमन्त्री गौतमले गृह मामिला विज्ञहरूसँग पनि बढुवालाई विवादरहित बनाउने विषयमा छलफल थालेका हुन् । प्रहरी नियमावली संशोधन गरेर बढुवा प्रक्रिया सुरु गर्दा ढिलाइ भई प्रहरीको वृत्ति विकासमा समेत असर पर्ने भएकाले तत्कालै एआईजीको बढुवाका लागि सम्बन्धित सबै पक्षसँग परामर्श गृह मन्त्रालयको भनाइ छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा