अल्पमतमा छु कि बहुमतमा, समयले बताउँछ :: माधवकुमार नेपाल

१६ फाल्गुन २०७०, शुक्रबार ०४:२९ मा प्रकाशित

० स्थायी कमिटी बैठकमै सहभागी हुनुभएन, किन?
– स्थायी कमिटीको बैठक अस्पतालमा आयोजना गर्ने कुराप्रति मेरो असहमति हो। हाम्रा कोही जिम्मेवार कमरेड बिरामी हुनुहुन्छ र बैठकमा आउन सक्नुभएको छैन भने उहाँको राय लिन सकिन्छ। फोनबाट लिन सकिन्छ, पार्टीका जिम्मेवार व्यक्तिलाई पठाएर लिन सकिन्छ। तर, बैठक नै अस्पतालमा बस्ने परम्परा बसाल्नु हुँदैन।

० तर, मानवीयताका दृष्टिले पनि…. – मानवीय दृष्टिकोणले हेर्दा राय लिनुपर्छ। उहाँका सुझाव र धारणा लिन सकिन्छ। तर, अस्पतालकै शय्यामा गएर बैठक बस्नु हुँदैन। अस्पतालको शय्यामै बसेर बैठक बस्ने कुरा बिरामीको दृष्टिले पनि सही हुँदैन। नेपालको इतिहासमा यो पहिलो चोटी होला।

० पार्टीभित्र तपाईंको असहमतिको शृंखला हो यो?
– असहमतिको शृंखला होइन। जुन दृष्टिकोणले बैठकको आयोजना गर्न खोजियो, त्यो गलत छ। यस्तो परम्परा र थिति बसाल्नु हुँदैन। यो थिति बसिसकेपछि भोलि के हुन्छ? पार्टी अध्यक्ष नै बिरामी भए पनि जानुहुँदैन भने पार्टीका अरू नेताको हकमा जाने कुरा ठीक होइन। एउटा नेताको हकमा यसरी जाँदा अरू नेताको हकमा जाने कि नजाने? यो प्रश्नको जवाफ के दिने? कुनै खास व्यक्तिविशेषका निम्ति विशेष नियम लागू गर्ने कि कस्तो पद्धति बसाल्ने? यो कुनै अनौपचारिक बैठक वा सानो कार्यदलको कुरा होइन, औपचारिक बैठक हो यो।

० तर पार्टी कार्यालयमा बैठक बस्न छोडेको त धेरै भइसक्यो नि?
– कुनै विशेष सन्दर्भमा बाहिर बस्ने कुरा र कोही नेता विरामी भएको ठाउँमा पुगेर बैठक बस्ने कुरा एउटै होइन।

० संसदीय दलको चुनावपछि तपाईंहरूको पार्टीमा निकै तिक्तता बढेको छ नि?
– मैले तिक्तता बढ्नुपर्ने केही कारण देखेको छैन। नहुनुपर्ने निर्वाचन भयो। भए पनि प्रक्रियाबाट एउटा टुंगो लगायो। हामीले नयाँ अभ्यास गर्यौंे। यो अभ्यासले राम्रो परिणाम दिओस् भन्ने हामी सबैको चाहना हो।
० तपाईं आफू लगातार रक्षात्मक भएजस्तो लाग्दैन?

– एउटा प्रक्रियामा गइसकेपछि सधैं जित्नैपर्छ भन्ने छ र? के सधैं कोही जित्दै आएका छन्? कोही पनि अजर, सधैं विजयी त छैनन् नि! ० तर, तपाईं चुनाव लड्नुभएको थिएन। – थिइनँ। तर, सबैले माधव नेपालको हार भयो भन्ठाने।

० तपाईंलाई के लाग्छ?
– मलाई खुसी पनि लाग्यो– हिजो माधव नेपालसँग पाँच जना मान्छे पनि छैनन् भनेर भन्नेहरू ७५ जना पो रहेछन्, ४४ प्रतिशत पो रहेछ भन्ने ठाउँमा पुगेका छन्। सारा एकातिर एकोहोरिए तर माधव नेपाल एक्लो पो बलियो रहेछ भन्ने सन्देश गयो। यसलाई सकारात्मक रूपमा लिनुहुन्छ कि नकारात्मक रूपमा?

कुन आँखाले हेर्नुहुन्छ? फूलको आँखाले हेर्नुहुन्छ कि काँडाको आँखाले? ० भनेपछि, नवौं महाधिवेशनको आधार तयार पार्दै हुनुहुन्छ?
– आधार होइन। तर, मलाई जुन ढंगले तारो बनाउन खोजिँदैछ, त्यसबाट रत्तिभर पनि डर छैन। ० आफैं भन्नुभयो– तारो बनाउन खोजेको महसुस चाहिँ छ? – तारो बनाइरहेका छन्, म सुनिरहेको छु। तमासा हेर्न मात्र बाँकी छ। हेर्दै जानुहोला, यस्तै–यस्तै प्रवृत्ति अपनाएका मान्छेहरूमा पार्टीमा हावी भए भने यो पार्टीको पतनबाहेक केही हुनेवाला छैन।

० ‘यस्तै’ प्रवृत्ति भनेको कस्तो?
– संस्कारहीन, गलत प्रवृत्ति बोकेका, डन प्रवृत्ति बोकेका र आपराधिक क्रियाकलापमा संलग्नलाई संरक्षण दिन थालियो भने पार्टीभित्र अधोपतन, दक्षिणपन्थी भड्काव र व्यक्तिवादी प्रवृत्तिहरू हावी हुँदै जान्छन्।

० विचारका कुरा सिद्धिएर यस्ता कुरा आइरहेका छन् एमालेभित्र?
– विचारमा जब स्खलन हुन्छ, जब वैचारिक भड्काव हुन्छ, उद्देश्यबाट विचलित हुन्छ, लक्ष्यबाट विचलित हुन्छ, आर्थिक–सामाजिक रूपान्तरण गर्ने अभिभाराबाट विमुख हुन्छ, आफूलाई केन्द्रमा राखेर मैले के पाउने भन्ने कुरामात्र केन्द्रमा हुन्छ, त्यसपछि त पार्टी अधोगतितिर जान्छ–जान्छ।

० तर, त्यस्तो आरोप अहिले तपार्ईंमाथि लागिरहेको छ?
– ममाथि त के लाग्नु र? मैले त पार्टीभित्र …। ० १४ वर्ष नेतृत्व गर्नुभयो, अझै पनि नेतृत्व गर्न चाहनुहुन्छ, आफूलाई केन्द्रमा राख्नुहुन्छ …? – मलाई नेतृत्वको कुनै पनि आकांक्षा छैन। म आफूलाई केन्द्रमा राख्न नै चाहन्न। तर, झन् बूढोमा गएर कस्तो नेतृत्व परिवर्तन हुन्छ? अझै कुप्रोमा जाने कि पुस्ता हस्तान्तरण गर्ने? पुस्ता हस्तान्तरण बनाउने सोच बनाउनुभएको छ भने आउनुस्, नयाँ पुस्तालाई दिऔं।

० तपाईं छाड्न तयार हुनुहुन्छ?
– किन तयार नहुनु? मैले आफूलाई अध्यक्षका निम्ति अहिलेसम्म केही दाबा त गरेको छैन? मैले त पार्टी ठीक बाटोमा जाओस् भनेर मात्र सोचिराखेको छु। पार्टी गलत लिकमा, गलत दिशामा नजाओस्, पार्टीभित्र गलत प्रवृत्ति हावी नहोस्, अधोपतन नहोस् भन्ने कुराले मलाई चिन्तित तुल्याएको छ। पार्टीभित्र राष्ट्रियताको पक्ष कमजोर नहोस्, पार्टीभित्र आमूल परिवर्तनका मान्यताहरू कमजोर नहुन्, वर्गीय पक्षधरता कमजोर नहोस्, सामाजिक रूपान्तरणको दायित्वबाट पार्टी विमुख नहोस्, व्यक्तिवाद हावी नहोस् भन्ने कुराप्रति चिन्तित छु।

० तर, यी सबै कुरा संख्याले निर्धारण गर्छ। तपाईंसँग संख्या कम हुँदै गएको महसुस भएको छैन?
– संख्याले केही हुँदैन।

० अस्ति दलमा संख्याले जित्यो, महाधिवेशनमा संख्या निर्णायक हुन्छ,…
– क्षणिक, तत्कालिक रूपमा त्यस्तो हुन्छ तर सधैंभरि सत्यको जित हुन्छ। सही विचार बोक्नुपर्छ, त्यसैको जित हुन्छ।

० यो त आध्यात्मिक कुरा पो गर्नुभयो?
– मार्क्सवादले पनि भन्छ। सत्य सत्य नै हो। केही कालका निम्ति सत्यलाई झूट बनाउने कोसिस हुनसक्दछ तर सत्य सत्य नै हुन्छ। सत्यको नै जित हुन्छ। यो त वैज्ञानिक सिद्धान्त पनि हो।

० बाहिरबाट हेर्दाचाहिँ तयारी महाधिवेशनकै देखिन्छ नि?
– म अहिलेसम्म एक पटक पार्टीको प्रमुख नेता भएँ, सातौं महाधिवेशनबाट। नत्र म पाँचौं महाधिवेशनपश्चात् सधैं पार्टीको दोस्रो नेता नै हुँ। म अध्यक्ष त कहिल्यै पनि भएको छैन।

० त्यसैले मन गर्नुभएको?
– होइन, चाहना छैन। पार्टी ठीक दिशामा जान्छ कि जाँदैन भन्ने चिन्ता हो। कस्तो हुनुपर्छ आउने नेतृत्व? गतिशील हुनुपर्छ कि पर्दैन? क्रान्तिकारी हुनुपर्छ कि पर्दैन? आमूल परिवर्तनको संकल्प बोक्ने हुनुपर्छ कि पर्दैन? आधारभूत तहका जनताको हितलाई केन्द्रबिन्दुमा राख्नुपर्छ कि पर्दैन? राष्ट्रियताप्रति प्रतिबद्ध हुनुपर्छ कि पर्दैन? यस्ता प्रश्नहरू मेरो दिमागमा छन्। सुपर डन हुँ भन्ने प्रवृत्ति हामीमा हुन थाल्यो भने, डनको संरक्षण गर्ने स्थितिमा हामीले आफूलाई राख्न थाल्यौं भने के हुन्छ पार्टी? त्यस्तो हुन थाल्यो भने पार्टी र राज्यका सबै पदहरू अपराधीहरूले तय गर्न थाल्नेछन्। बोलकबोल सुरु हुनेछ। यो चिन्ताले मलाई सताइरहेको छ। त्यसो हुनाले पार्टीलाई सही दशामा लैजानुपर्छ, क्रान्तिकारी, गतिशील पार्टी बनाउनुपर्छ। गतिशीलताको अर्को नाम नेकपा (एमाले) हुनुपर्छ। सामाजिक परिवर्तनको अभियन्ताको रूपमा नेकपा (एमाले) आउनुपर्छ, त्यो ढंगको पार्टी निर्माण हुन्छ कि हुँदैन भन्ने चिन्ता मलाई लागेको छ।

० त्यसका लागि कस्तो नेतृत्व होओस् भन्ने चाहनुहुन्छ?
– नयाँ पुस्ताका अगुवाहरू, नयाँ जोश बोकेका, क्रान्तिकारी विचार बोकेका, अहिलेको समस्याको पहिचान गर्न सक्ने, सिंगो मुलुक रूपान्तरणको योजना भएका, नयाँ नेपालको तस्बिर दिमागमा राख्ने र दूरदर्शिता भएकाहरूको टिमले पार्टीलाई अगुवाइ गर्नुपर्छ। स्वार्थीहरूको झुण्ड र आत्मिक नेतृत्वको मान्यता बोक्नेहरूले पार्टीलाई द्वन्द्वात्मक भौतिकवाद भन्दा विचलित बनाउने हुन् कि भन्ने चिन्ता मलाई छ।

० तर, अहिलेको एकतालाई बहुदलीय जनवादीहरूको एकताका रूपमा प्रचार गरिँदै छ नि?
– त्यो कस्तो एकता छ भन्ने कुरा त आउने दिनमा झन् थाहा हुँदै जान्छ। हामीले देखिरहेका छौं– आपराधिक प्रवृत्ति बोकिरहेकाहरूले भोलि गएर यो पार्टीमा जित्नेछन्। जिल्ला कमिटीमा जित्न थालिसके। जिल्ला कमिटीमा मनोनीत गर्न थालिसकियो। डनहरू, नेपाल सरकारको रेकर्डमा अपराधी भनेर सूचीकृत व्यक्तिहरू, कुकर्म गर्ने व्यक्तिहरू …।

० यी त झिना–मसिना कुरा भए, मूल रूपमा नेतृत्व कसरी गर्छु भन्ने लाग्छ?
– होइन, यिनै व्यक्तिहरू हावी भइसकेपछि के–के हुन्छ? पार्टीहरूको पतन सबैभन्दा पहिले विचारको स्खलनबाट सुरु हुन्छ। आचरणबाट पनि हुन्छ।

० संसदीय दलमा त ठूलै मोर्चाबन्दी देखियो, भोलिसम्ममा तपाईंले संकेत गरेजस्ता नेताहरू एकातिर लागेपछि तपाईंलाई अप्ठ्यारो पर्दैन?
– मैले एकसेएक गतिशील नयाँ नेताहरू देखिरहेको छु। पार्टी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढिरहेका नेताहरू पार्टीमा देखिरहेको छु। नेकपा (एमाले)सँग राम्रो नेताहरूको ठूलो पंक्ति छ। अरूको पछुवामात्र होइन, आदेशपालक होइन, गुट सञ्चालन मात्रै गर्ने होइन …।

० तपाईंलाई सजिलै भनिने एउटा कुराचाहिँ तपाईं परीक्षित भइसक्नुभएको छ, तपाईंले पार्टीको नेतृत्व गर्नुभयो, राष्ट्रको नेतृत्व गनर्भयो, अब…
– सबै परिक्षित भइसकेका छन्। मन्त्री हुँदा परीक्षित भइएन? सांसद् हुँदा परिक्षित भइएन? शीर्ष नेतृत्वमा गएर परिक्षित भइएन? तपाईं जनवर्गीय संगठनमा दसौं, पन्ध्रौं वर्षसम्म लगातार कब्जा गरेर बस्नुभएको छ, त्यहाँ परिवर्तनको कुरा पनि सोच्नुहुन्न, नेतृत्व परिवर्तनको कुरै उठाउनुहुन्न। तपार्इं उमेरको कुरा गर्नुहुन्छ अनि आफूभन्दा झन् बढी उमेरको तिर जाँदै हुनुहुन्छ। उमेरको कुरा होइन, मूल कुरा गतिशीलताको हो, इमानदारीको हो। ० यी सबै पक्ष तपाईंमा मात्र देखिन्छ? – होइन, अरू पनि हुनुहुन्छ। हामीकहाँ काबिल नेताहरू हुनु नभएको होइन। सबै बसेर आगामी दिनमा पार्टीलाई कसरी गतिशीलताका साथ सामाजिक रूपान्तरणको अभियन्ताका रूपमा लान सकिन्छ, नेपालको कम्युनिस्ट पार्टीको मूल प्रवाहका रूपमा स्थापित गर्न सकिन्छ, नेपालको राजनीतिको मियोका रूपमा स्थापित गर्न सकिन्छ भन्ने कुरालाई त्यो टिमले अगाडि बढाउनुपर्छ।

० विगतमा माधव नेपालले अरूलाई लडायो र नेतृत्व आफूले लियो भन्ने आरोप पनि तपाईंमाथि लाग्ने गरेको छ नि?
– माधव नेपाल त्यस्तो लडाउने–भिडाउने काममा विश्वासै गर्दैन। इमानदारी र निष्ठामा लाग्ने मान्छे हो माधव नेपाल। जालझेल–तिकडम जान्दैन माधव नेपाल। जाली–फट्याइँ माधव नेपालको विशेषता होइन। त्यसकारण म नबिराउनु–नडराउनु भन्ने मान्यतामा विश्वास गर्छु। तर पनि, पार्टीका सबै नेताहरूमा आ–आफ्ना विशेषता छन्। सबैका राम्रा पक्षलाई समेट्न सक्नुपर्छ। अस्वस्थ ढंगले जानुहुँदैन। कसैलाई म बढी योग्य छु, मैले पार्टीलाई राम्रोसँग हाँक्न सक्छु भन्ने लाग्न सक्छ भने उसलाई कार्यकर्ताले रोज्न पाउनुपर्छ। मूल्यांकन गर्ने काम कार्यकर्ताको जिम्मामा छाड्नुपर्छ। तर, यो भागबन्डा होइन। गाउँ विकास, नगरपालिकाको बजेट भागबन्डा गरेजस्तो पार्टीको पदको भागबन्डा गर्ने होइन। होइन, तपाईं पार्टी गुटको आधारमा चलाउन चाहनुहुन्छ भने गुटगत रूपमा जाऔं न त।

० चुनाव लड्नुहुन्छ, नवौं महाधिवेशनमा अध्यक्षमा?
– अध्यक्ष हुने कि नहुने भन्ने मलाई चिन्ता नै छैन। ० महाधिवेशन नजिकै आइसक्यो…. – पार्टी कार्यकर्ताले के सोच्छन्, के भन्छन् सबै कुराका आधारमा हुन्छ। पार्टीलाई गलत दिशामा जान दिने कुरामा समर्थन किमार्थ हुन सक्दैन। अराजनीतिक प्रवृत्ति हावी हुने कुरालाई स्वीकार गर्न सकिँदैन। पार्टीलाई गुटबन्दीका आधारमा चलाउने कुरालाई किमार्थ स्वीकार गर्न सकिँदैन।

० के गर्नुहुन्छ त, त्यसका विरुद्ध?
– त्यसका विरुद्ध वैचारिक संघर्ष चलाइन्छ। पार्टी कार्यकर्तालाई सचेत बनाइन्छ। त्यसका विरुद्ध जुधिरहिन्छ। तङ स्याओ पिङ त जुधेको जुध्यै गरे।

० त्यसका लागि पनि त चुनावमा लड्नुपर्यो।, होइन?
– जुधिन्छ। त्यस्ता प्रवृत्तिलाई परास्त त गर्नुपर्यो, नि! मान्छेको चरित्र हत्या गर्नेगरी प्रचार गरेर हिँड्नेहरूले जथाभावी बोलेका छन्। मान्छेको प्रवृत्ति त्यसैबाट थाहा हुन्छ। म त्यस्तो प्रवृत्तिको मान्छे होइन। म संस्कारयुक्त मान्छे हुँ। संस्कारयुक्त ठाउँ र परिवारबाट आएको मान्छे हुँ। म लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्छु। स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छु। ठीक छ, विचार र सिद्धान्तको प्रतिस्पर्धाको आधारमा सही र गलत छुट्ट्याऔं। सिंगो व्यक्तिका सबै पक्षहरूलाई केलाऔं।

० सैद्धान्तिक भिन्नता देखिँदैन, दस्तावेज बनाउन जुन कमिटी बनाउनुभएको छ, त्यसबाट पनि त्यही देखिन्छ।
– त्यस्तो कमिटी बनेकै छैन। केन्द्रीय कमिटीले टुंगो लगाउँछ।

० स्थायी कमिटीले प्रस्ताव गर्नुभएको छ नि?
– त्यो सन्दर्भ बदलिइसकेको छ। अब केन्द्रीय कमिटीले नयाँ ढंगले सोच्छ।

० विचारमा केही मतभिन्नता आउने देख्नुहुन्छ महाधिवेशनमा?
– विचारमा भिन्नता त छँदै छ नि! एउटाले ‘डनहरू भनेका केही पनि होइनन्, सबै मान्छे सपाट छन्’ भन्ने, अर्कोले त्यहाँभित्र ‘पूरै विकृतिका संवाहक प्रवृत्ति’ देख्ने। एउटाले ‘पार्टीमा विकृति–विसंगतिका विरुद्ध अभियान चलाउनुपर्छ’ भन्ने, अर्कोले ‘पार्टीभित्र केही पनि छैन, सबै राम्रो छ’ भन्ने। एउटाले ‘पार्टीलाई क्रान्तिकारी र सर्वहाराकृत गर्नुपर्छ’ भन्ने, अकैर्ले ‘पार्टीमा सब ठीकठाक छ’ भन्ने। एउटाले ‘पार्टीभित्रै वैचारिक स्खलन छ’ भन्न, अर्कोले ‘छैन’ भन्ने। एउटाले ‘पार्टीभित्र दक्षिणपन्थी प्रवृत्ति हावी भयो’ भन्ने, अर्कोले ‘केही पनि भएको छैन’ भन्ने। एउटाले ‘पार्टी संगठन खुकुलो भयो, पदको आकांक्षा मात्र छ काम नगर्ने प्रवृत्ति भयो’ भन्ने, अर्कोले ‘त्यस्तो छैन’ भन्ने।

० यसको मतलब फरक–फरक दस्तावेज जान्छन् महाधिवेशनमा?
– के हुन्छ, समयले बताउला। विचार, संगठन र आचरणको क्षेत्रमा हाम्रा मान्यताहरू के हुन्, त्यसका आधारमा वैचारिक मतभिन्नता छ कि छैन भन्ने कुरा निर्भर रहन्छ।

० यसको मूल्यांकन अल्पमत–बहुमतबाट हुन्छ, त्यसको पनि ख्याल गर्नुभएको होला?
– अवश्य। त्यस्ता प्रवृत्तिलाई बहुमतले स्वीकार गर्छ भने त्यसलाई प्राविधिक रूपमा स्वीकार्नुपर्छ।

० स्थायी समितिमा त तपाईंको विपक्षमा बहुमत देखिन्छ?
– आजसम्म पक्ष–विपक्षमा भएका थिएनौं र? १९ वर्षदेखि स्थायी प्रतिपक्षमा भएका मान्छेहरू त थिए। त्यो कुन ठूलो कुरा हो र? त्यसबाट किन आत्तिनु? गलत प्रवृत्तिका विरुद्ध जुध्ने कुरा मूल हो। गलत प्रवृत्तिसँग सम्झौता गर्नुहुँदैन। सारा बगे भने पनि हामी बगेर जानु हुँदैन। गल्तीलाई गल्ती नै भन्नुपर्छ। त्यो भन्ने आँट गर्नुपर्छ। तर, पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ, पद्धतिपूर्ण ढंगले लिएर जानुपर्छ। महाधिवेशन पनि एकता र सहमतिको बनाउने मेरो प्रयास हुनेछ।

० संसदीय दलमा पार्टी अध्यक्षलाई उम्मेदवार बनाउनुभयो, उहाँले हार्नुभयो। उहाँको हारलाई तपाईंको हारका रूपमा चित्रित गरियो। तर, उहाँले नै अहिले खुट्टा कमाइरहेको देखिन्छ?
– मैले त उहाँलाई यदि हार्ने अवस्था छ भने नउठ्नूस् र पार्टी अध्यक्षले हार्ने गरी उठ्नुहुँदैन भनेको थिएँ। तर, पछि जित्न सकिन्छ भन्ने आँकलन भयो। स्थिति पनि त्यस्तै थियो। त्यत्रोबिघ्न साम, दाम, दण्ड, भेद हुँदा पनि ७५ जना चट्टानी अडानका साथ उभिए। बाँकी २५ जना जो अलिकति ढुलमुलिएका थिए, उनीहरूको पनि साथ–समर्थन पाउने देखिएको थियो, त्यो हुन सकेन। यस अर्थमा कहीँ न कहीँ कमजोरी त रह्यो नै।

० तपाईंले उठ्नमा बढी दबाब दिनुभयो भन्ने छ नि?
– त्यो बाहिरको कुप्रचार हो। त्यसमा सत्यता छैन। हार्ने अवस्था छ भने उठ्ने काम नगर्नुस् भनेर मैले अध्यक्ष कमरेडलाई सुझाव दिएको थिएँ। ‘जित्ने सुनिश्चित छ भने उठ्नुस्, उठ्ने निर्णय गरिसकेपछि खुट्टा नकमाउनुस्’– मैले भनेको यही हो। एउटा फोन आयो त्यहीबेला आत्तियो, अर्को फोन आयो फेरि आत्तियो, गर्ने हुन्छन् नि मान्छेहरू! लागिसकेपछि त गतिशील भएर लाग्नुपर्योक नि! चुनावको मैदानमा, युद्धको मोर्चामा उत्रने अनि खुट्टा कमाउने! एकचोटी फिल्डमा उत्रिसकेपछि जित्ने तयारी योजना, शक्ति परिचालनका साथ अघि बढ्नुपर्छ। यस अर्थमा कहीँ कमीकमजोरी भए कि त्यसको समीक्षा गर्नुपर्छ। यसका बाबजुद पनि नेकपा (एमाले)ले नयाँ लोकतान्त्रिक अभ्यास गर्योा। प्रतिस्पर्धाबाटै टुंगो लगाउने विधि अपनाइसकेपछि त्यसबाट आत्तिनुपर्ने केही छैन।

० तर, धेरै आलोचना तपाईंको भयो?
– सम्भवतः म नै सबैका निम्ति खतराका रूपमा देखिएको हुनसक्छु। मलाई सबैले चुनौतीका रूपमा देखिरहेका होलान्। हिजोसम्म माधव नेपाल केही पनि होइन भन्नेहरूले यो पो र’छ मूल भन्ने पर्नु पनि एउटा राम्रै पक्ष हो। म त्यस्ता कुराबाट आत्तिने मान्छे होइन। मैले यस्ता कुरा कति झेलेको छु। कस्ता–कस्ता चुनौतीको सामना गरेको छु। पार्टी पंक्तिबाट कति–कति अपमान गरिएको छ, कति मलाई असहयोग गरिएको छ, मलाई खुट्टा तानेर घिसार्ने काम कति भएको छ, ती सबैको मैले सामना गर्दै आएको छु, व्यहोर्दै आएको छु। संघर्षको ज्वालामा होमिएको मान्छे हुँ म। म त्यति कमजोर मान्छे होइन। यो पार्टीको निर्माण हामीले गरेका हौं। त्यसमध्ये म पनि एक हुँ। यो पार्टीलाई गलत बाटोमा जान दिने कुरा मेरो मनले स्वीकार गर्न सक्दैन। हेर्दाहेदै यो पार्टीलाई विसर्जनको अवस्थामा लाने कुरालाई मेरो हृदयले स्वीकार गर्न सक्दैन।

० पार्टीभित्र तपाईं र झलनाथ खनाल प्रधानमन्त्री पनि हुनुभयो, पार्टी प्रमुख पनि हुनुभयो, एकचोटी केपी अेालीलाई मौका दिए हुन्छ भन्ने सहानुभूति पनि त छ नि?
– अरू पार्टीमा एउटा मान्छेलाई उपप्रधानमन्त्री बन्नै दिएनन्। तर, म त्यस्तो मान्छे हुँ म धेरैलाई उपप्रधानमन्त्री बनाइदिएँ। पार्टीभित्र म मात्र उपप्रधानमन्त्री हुँ भन्ने मलाई कहिल्यै भएन। पार्टीमा म मात्र प्रधानमन्त्री होऊँ अरू नहोउन् भन्ने मलाई कहिल्यै भएन। फेरि एउटा कुर्सीमा गएपछि छाड्दै छाड्दैनन् । म त त्यस्तो मान्छे नै होइन। राजीनामा दिएर नैतिकताको जिम्मेवारी बोक्ने मै हुँ। आफैंले मैले अरूलाई कार्यबाहक महासचिव बनाएको हुँ। अरू अध्यक्ष पनि भए, महासचिव पनि भए। मैले बनाएकै हुँ नि! एउटा लगातारै हुनुपर्छ भन्ने मान्यता पनि मेरो छैन। ७०–७५ वर्षभन्दा बढी सक्रिय राजनीतिमा नेताहरू रहनुहुँदैन भन्ने मेरो मान्यता हो। एउटा सीमाभित्र त बस्नुपर्यो नि! सुरु गरेको कालमा नेता बढी उमेरका थिए होलान्, त्यसपछिका नेताहरू मध्यम उमेरमा ‘रिटायर्ड’ हुनुपर्छ। यो स्थिति बनाउँदै जानुपर्छ।

० तपाईंमाथि अर्को आरोप छ– केपी ओलीले तपाईंलाई सधैं सघाउनुभयो, तर तपाईंले केपी ओलीलाई कहिल्यै सघाउनुभएन?
– यस्ता कुनै कुरा पनि सत्य होइन। मैले १९ वर्षदेखि गुटबन्दी झेल्दै आएको छु। म महासचिव भएको केही महिना पछिदेखि नै मेरा विरुद्धमा अभियान सुरु भयो।
० तर, महासचिव हटाउ प्रकरणमा केपी ओलीले तपाईंलाई साथ दिनुभयो नि?
– अनि कसैले नचाहेको बेलामा उपप्रधानमन्त्री कसले बनायो? पटक–पटक मन्त्री कसले बनायो? पटक–पटक देश दुनियाँमा कसले परिचित गरायो? त्यो पनि त हेर्नुपर्योए नि! राम्रो गरेको जति सबै आफूले गरेको, अनि नराम्रो जति सबै मैले गरेको रे! यस्तो विश्लेषण कहीँ हुन्छ? मलाई अगाडि बढाउनका निम्ति भूमिका खेल्नुभएको हो भनेर जस त दिनुपर्योक नि! पटक–पटक को–को मन्त्री भए? कसले प्रंस्ताव गर्योभ? कसले जिम्मेवारी दियो? सबैको विरोधको बीचमा पनि मैले एक्लो अडान लिएको छु कि छैन? हेर्नुपर्योर नि! उपप्रधानमन्त्री बन्ने पटक–पटक बेला आउँदा पनि मलाई प्रस्ताव हुँदा मैले अस्वीकार गरेको हो कि होइन? म एकचोटी भइसकेको छु, म नै बारम्बार भइरहनुहुँदैन भनेर अस्वीकार गरेको छु। त्यसो हुनाले जब पार्टी निर्माणको सवाल आउँछ, राष्ट्र निर्माणको सवाल आउँछ, यस्तो कुरालाई खेलाँची गर्नुहुँदैन। पद भनेको मिठाईजस्तो वितरण गर्ने चिज होइन। नेतृत्व भनेको अवश्य पनि गतिशील कुरा हो। झन् ज्यादा क्रान्तिकारी दृष्टिकोण भएकाहरूको हातमा हामीले हस्तान्तरण गर्नुपर्छ। त्यस्ता नेताहरूको पंक्ति पार्टीमा तयार गर्नुपर्छ। पालैपालो कहीँ पनि गर्दैनन्।

चीनको पार्टीमा के पालैपालो गर्छन्?
० तपाईं र झलनाथले ३० वर्ष पालैपालो चलाउनुभयो ….. – कहाँ पालैपालो भयो? सातौंमा प्रतिस्पर्धा भएको होइन? छैटौंमा प्रतिस्पर्धा भएको होइन? पाँचौंमा प्रतिर्स्पा भएको होइन? आठौंमा प्रतिस्पर्धा भएको होइन? प्रतिस्पर्धाका आधारमा भएको हो। आठौंमा त मतदान नै भएको हो। पाँचौं, छैटौं र सातौंमा विचारको आधारमा प्रतिस्पर्धा भएकै हो। छैटौंमा त प्रतिस्पर्धाकै बीचबाट पार्टी विभाजनसम्म भयो। पाँचौंमा प्रतिस्पर्धाबाटै मदन भण्डारी आउनुभएको हो।

० पहिलोचोटी पार्टीमा तपाईं अहिले अल्पमतमा देखिनुहुन्छ नि?
– यस्ता कुराहरू त भइरहन्छन्। म अल्पमतमा छु कि बहुमतमा भन्ने कुरा त समयले देखाउँदै जान्छ।

० गुटबन्दी गर्नुहुन्न, कार्यकर्तालाई संरक्षण गर्नुहुन्न भन्ने आरोप छ तपाईंलाई?
– होइन, कार्यकर्तालाई विभिन्न तहमा पुर्याकयो कसले? राष्ट्रिय राजनीतिमा आजसम्म नेकपा (एमाले)लाई जुन उचाइमा पुर्या उने काम गरियो, यसले सबैको शिर ठाडो भएको छैन र? सबैको संरक्षणमात्र होइन, सबैको व्यक्तित्व निर्माण गर्ने काममा भूमिका खेलिएन र? विभिन्न पदमा पुर्याणउने काम गरिएन र? त्यो कसले गर्यो्?

० ज–जसको संरक्षण गरियो, तिनीहरू तपाईंभन्दा टाढा छन् आज?
– तर, जो–जो को संरक्षण गरियो, उनीहरूमध्ये साथमा पनि त छन्। मानिलिऊँ, अहिले पछिल्लो संख्या भन्नुहुन्छ भने पनि ७५ जना त सिधै साथमा देखिए नि! ० ईश्वर पोखरेललाई धेरै नै बोक्नुभयो, अहिले…. – अरु पनि धेरै नै होलान् नि! तर, ती–ती व्यक्ति जसलाई मैले संरक्षण दिएँ, उनीहरूले वास्तवमा त्यसलाई गुण मानेका छन् कि छैनन्? त्यो मलाई थाहा छैन। ती व्यक्तिहरूले आफ्नो मुटुमा हात राखेर भन्नुपर्छ, उनीहरूलाई अगाडि बढाउनका निम्ति मैले कति भूमिका खेलेको छु। अघि बढेकाजति सबै आफूले गर्दा नै बढेको हो। अघि बढ्न नसकेका बेलामा सबै दोष माधव नेपालको, चुनाव जित्दा आफैंले जितेको, चुनाव जित्न नसक्दा माधव नेपालले हराएको, उम्मेदवारको नाम पास हुँदा आफैंले भएको हुने, उम्मेदवारमा नपर्दा सबै माधव नेपालले गर्दा नपरेको भन्ने कुरा के न्यायोचित मूल्यांकन हुनसक्छ?

० प्रतिवाद गर्ने संयन्त्र नै छैन तपाईको?
– अब विस्तारै मैले पनि सिक्नुपर्ने भएको छ। जब जालझेलको राजनीति हुन थाल्छ, त्यसका विरुद्ध कसरी जुध्नुपर्छ भन्ने कुरा मैले पनि सिक्नुपर्ने भएको छ। म अझै पनि सिक्ने प्रक्रियामा नै छु। राजनीति भनेको निरन्तर सिकिरहने प्रक्रिया हो। कसरी गोयबल्स शैलीको सामना गर्नुपर्दछ भन्ने कुरा मैले सिक्न जरुरी छ।

० माओवादीले धोका नदिएको भए पाँच वर्षपहिला नै राष्ट्रपति भइसक्नुहुन्थ्यो, तर पाँच वर्षपछि आएर ‘म राष्ट्रपतिका लागि योग्य छैन’ भन्नुभयो नि?
– कस्तो विडम्बना भने, त्यो बेलामा जुन साथीहरूले मलाई पटक–पटक ‘राष्ट्रपतिमा जानुपर्छ’ भने उनीहरूले नै ‘माधव नेपाल राष्ट्रपति भन्नेबित्तिकै चुनाव हारे पनि तयार भयो’ भन्न थाले। लाज नभएका त्यस्ता व्यक्तिहरू, जो ‘राष्ट्रपति भइदिनुपर्यो ‘ भनेर आग्रह गर्नेहरू नै मेराविरुद्ध लागे। त्यो शब्द मेरो कानमा गुन्जिरहेको छ। ‘यो राष्ट्रपति भनेको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हो, तपाईंले यसलाई कार्यकारी अधिकार नभएको ठान्नुभएन, तपाईंको उचाइ भएको मान्छेको यहाँ आवश्यकता छ, त्यसैले तपाईं जसरी भए पनि गइदिनुस्, स्वयम् माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गर्दैछन्, यो सबैका निम्ति गौरवको कुरा हो’ भनेर अनेक तर्क गरेर मलाई ‘कन्भिन्स’ गर्न आउने व्यक्तिहरूको पनि मैले विश्वास नगरेर म कहिले ब्राजिल घुम्न गएँ, विश्वका अरू मुलुक पनि गएँ। त्यति विश्वास नभएकैले म यो राष्ट्रपतिको खेलमा लागिनँ। तर, अहिले आएर ‘उहिल्यै यो राष्ट्रपतिको खेलमा लागेको थियो’ भन्दैछन्।

० तपाईंलाई जहिले पनि पद चाहिन्छ भनेर आलोचना हुन्छ नि?
– केही गर्दा पनि सुख नपाइने भयो। प्रधानमन्त्री पदबाट मैले स्वेच्छाले राजीनामा दिएँ तर ‘किन राजीनामा दिनुभयो?’ भनियो। महासचिवबाट राजीनामा दिएँ, ‘किन दिनुभयो?’ भनियो। ‘उहाँमा त्यागको भावना छ’ पनि भनिएन। ‘उहाँले पदलाई महत्त्व दिनुभएन’ पनि भनिएन। केही गर्दा पनि खोटबाहेक केही नदेख्ने प्रवृत्ति छ। मान्छेमा जब खोटपूर्ण दृष्टिकोण हावी हुन्छ, ऊ द्वन्द्वात्मक हुँदैन, उसमा एकांगीपन, आग्रह र पूर्वाग्रहमात्र हावी हुन्छ। मान्छेका सकारात्मक, नकारात्मक दुवै पाटो देख्दैन। कि चाकडी मात्रै जान्दछ, कि समर्पण मात्रै जान्दछ। यस्तो असंगत र एकांकी दृष्टिकोण कसैले पनि राख्नु हुँदैन र म यस्तो दृष्टिकोणमा विश्वास पनि गर्दिनँ। समाजका निम्ति गलत भूमिका खेल्नेहरूलाई संरक्षण गर्नु हुँदैन भन्ने पनि मेरो मान्यता छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई