पाठेघरको उपचार गर्न एक महिनादेखि लाइनमा

१५ फाल्गुन २०७०, बिहीबार ०६:३८ मा प्रकाशित

काठमाडौं, १५ फागुन । एक महिना भयो, सर्लाहीकी मनिला चौधरीले पाठेघरको शल्यक्रियाका लागि पालो कुरेको । तर, आजसम्म पालो आएको छैन । राम्रो उपचारको खोजीमा काठमाडौं आएकी उनी उपचार धेरै दिन कुर्नु परेको गुनासो गर्छिन् ।

धादिङकी सुकुमाया तामाङले डेढ महिना पालो कुरेपछि मात्र उपचारको पालो पाइन् । यसबीचमा तीन पटक अस्पताल आउँदा–जाँदा धेरै रकम खर्च भएको बताउँछिन् । धादिङबेंसीमा जाँच गराउँदा पाठेघरमा समस्या भएको थाह पाएकी तामाङ राम्रो उपचार पाउने आशामा काठमाडौं आएकी थिइन् ।

यी त केही उदाहरण मात्र हुन् । प्रसूति गृहमा स्त्री रोगको उपचारका लागि आएर लामो समय पालो कुर्ने बिरामीको ताँती लामो छ । राम्रो उपचारका लागि भन्दै काठमाडां आउने बिरामीले उपचार त पाएका छन् तर, लामो समय कुर्नुपर्ने बाध्यता छ । अस्पतालमा प्रसूतिको चापका कारण अरू रोगको उपचारसमेत ओझेल परेको सम्बन्धित चिकित्सक बताउँछन् ।

अस्पतालका प्रशासन प्रमुख अमरमान अमात्य अस्पतालमा सुत्केरीको चाप धेरै हुने बताउँछन् । उनका अनुसार त्यही कारणले अन्य रोगको उपचार ढिलाइ भएको हो । ‘सुत्केरी हुन आउनेको चापका कारण अन्य रोगीलाई पर्याप्त समय दिन गाह्रो परेको छ,’ उनले भने । पहिले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाले यो सेवा नदिने र सहरी क्षेत्रमा निजी अस्पतालको संख्या कम हुँदा अस्पतालमा बिरामीको चाप उच्च थियो । अहिले सरकारले ‘आमा सुरक्षा कार्यक्रम’ लागू गरेको छ । तर, पनि बिरामीको चाप घटेको छैन ।

पहिले प्रसूतिमा यो कार्यक्रम नमुनाका रूपमा लागू गरेको भए पनि अहिले हटाउनुपर्ने अस्पतालकै कर्मचारी बताउँछन् । अहिले सहरदेखि ग्रामीण क्षेत्रसम्मका निजी र सरकारी दुवै स्वास्थ्य संस्थाले ‘आमा सुरक्षा कार्यक्रम’ लागू गरेका छन् ।

स्त्री रोगसम्बन्धी केन्द्रीय अस्पताल भएका करण सो अस्पतालमा अन्यत्र उपचार हुन नसकेका बिरामी पनि आउने गरेका छन् । साधारण तरिकाले हुने प्रसूतिदेखि लिएर ठूला रोगको पनि उपचार गर्नुपर्ने हुँदा अस्पतालमा अनावश्यक भीड बढेको हो । भीड बढेसँगै जटिल समस्या भएका बिरामीले उपचार पाउन लामो समय कुर्नु परेको बिरामीको गुनासो रहेको छ ।

एक दशकअघिसम्म पनि भारतबाट समेत उपचारका लागि बिरामी आउने गरकामा प्रसूति सेवा लिन आउनेको चाप बढेसँगै त्यो संख्या घटेको अमात्य बताउँछन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू भएपछि प्रसूतिका बिरामीलाई ध्यान दिनुपर्ने हुँदा पाठेघरको उपचारका लागि तीन–चार महिनासम्म कुर्नुपरेको भन्दै बिरामीले गुनासो गर्ने गरेको उनको भनाइ छ ।

अमात्य अस्पताललाई सामान्य प्रसूति सेवा दिने अस्पताल मात्र नभएर अन्यत्र उपचार हुन नसकेका बिरामीलाई सेवा दिने अस्पतालमा विकास गर्नुपर्ने बताउँछन् । ‘कार्यक्रम यहींबाट सुरु गर्ने हिसाबले ठीक भए पनि अहिले यसलाई प्रसूति सेवा मात्र दिने अस्पतालभन्दा पनि स्त्री रोगको रिफर गर्ने अस्पताल बनाउनुपर्ने खाँचो छ,’ अमात्यले भने, ‘सबै जनशक्ति प्रसूति रोगको उपचारमा लाग्दा अरू रोगको उपचारका लागि चिकित्सकले समय दिन सकेका छैनन् ।’

अस्पतालमा बिरामीको चापअनुसार दरबन्दी र बेड संख्या दुवै बढाउँदै जानुपर्ने खाँचो रहेको छ । दरबन्दीका चिकित्सक पर्याप्त नहुँदा धेरै चिकित्सकले दैनिक ज्यालामा काम गरिरहेका छन् । अस्पतालमा अहिले ४ सय १५ बेड रहेका छन् । अस्पतालमा दैनिक ८०/९० जना नयाँ बिरामी भर्ना हुने गरेका छन् । तर, त्यसमध्ये पनि ७० भन्दा बढी प्रसूतिसम्बन्धी बिरामी हुन्छन् । दैनिक झन्डै १५ जना अन्य किसिमका बिरामीको उपचार हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,