क्यासिनोमा नेपाली भेटिए प्रहरी नै कारबाहीमा

१५ फाल्गुन २०७०, बिहीबार ०६:२९ मा प्रकाशित

काठमाडौं, १५ फागुन । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई जनताले अनुभूति गर्ने गरी शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन भन्दै नौबुँदे निर्देशन दिएको छ । 

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको निर्देशन कार्यान्वयन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले बुधबार देशभरका सबै प्रहरी कार्यालयमा नौबुँदे लिखित निर्देशन दिएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री गौतमले मंगलबार साँझ पदवहालीका क्रममा पाँचबुँदे निर्देशन दिई २४ घन्टाभित्र नतिजा ल्याउन भनेका थिए । सोहीअनुसार प्रहरी महानिरीक्षक अर्यालले बुधबार बिहान ८ बजे महानगरीय प्रहरी आयुक्त कार्यालयमातहतका सबै कार्यालय प्रमुखलाई बोलाएर सो निर्देशन दिएका हुन् । उपत्यकाबाहेकका जिल्ला तथा प्रहरी कार्यालयहरूमा भने लिखित पत्र पठाइएको समाचार राजधानी दैनिकले लेखेको छ ।

आईजीपीले पठाएको लिखित निर्देशनको पाँचौं बुँदामा नेपालीलाई क्यासिनो प्रवेशमा पूर्णतः रोक लगाउने उल्लेख छ ।

तत्कालै कार्यान्वयन गर्ने भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको निर्देशनको पहिलो बुँदामा मुलुकभर गुण्डागर्दी र हप्ता असुलीमा पूर्णतः रोक लगाउने विशेष अभियान थालनी गर्न भनिएको छ । यसैगरी, व्यापार व्यवसायका नाममा सडकका फुटपाथमा राखिएका पसल आवश्यक निकायसँग समन्वय गरी हटाउन सुरु गर्ने, दुर्घटना न्यूनीकरणमा प्रभावकारिता वृद्धि, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्न र तस्करी नियन्त्रणमा प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले आप्रवासीहरूबाट हुन सक्ने गैरकानुनी क्रियाकलापविरुद्ध निगरानी र कानुनी कारबाही गर्न पनि निर्देशन दिएको छ । यस्तै, प्रमाणमुखी अपराध अनुसन्धान गर्न र निरीक्षण भ्रमणहरूमा हुने तामझाम प्रवृत्तिलाई अन्त्य गर्न भनिएको छ । निर्देशनमै प्रहरी महानिरीक्षकले कार्यान्वयन भए÷नभएकोबारे आफ्नै सचिवालयबाट विशेष टोलीले अनुगमन गर्ने जनाउ पनि दिएका छन् । ‘प्रहरी महानिरीक्षकको सचिवालयबाट मुलुकभरका सबै प्रहरी कार्यालयमा निर्देशन गइसकेको छ, आज (बुधबार)कै मितिबाट कार्यान्वयन गर्नू भनिएको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले भने ।

उनले सरकारको योजनाअनुसार मुलुकमा जनताले महसुस गर्ने गरी शान्ति सुरक्षामा सुधार ल्याउन सचिवालयबाट निर्देशन पठाइएको र त्यसअनुसार काम नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखमाथि नै कारबाही हुने जानकारी दिए । ‘अनुगमनका क्रममा क्यासिनोमा नेपाली फेला परेको अवस्था र अन्य बुँदा कार्यान्वयन नभएको पाइएमा सम्बन्धित क्षेत्र, अञ्चल, जिल्ला र एरियाका कार्यालय प्रमुखमाथि नै कारबाही हुन्छ,’ प्रवक्ता केसीले भने ।

क्यासिनोमा नेपाली प्रवेशको विषयलाई लिएर निकै विवाद हुने उपत्यका र खासगरी काठमाडौंका प्रहरी अधिकृतलाई भने महानिरीक्षक अर्यालले बोलाएरै निर्देशन दिएका थिए । ‘निर्देशनको कार्यान्वयन भएको पाइएन भने कसैले पनि केही गर्न सक्दैन, कारबाहीको भागिदार हुनै पर्छ, सोचेभन्दा पनि कडा कारबाही हुन्छ,’ अर्यालको भनाइ थियो । उनको सो निर्देशनलगत्तै सचिवालयले देशैभर लिखित पत्र पठाएको थियो ।
महानिरीक्षक अर्यालको निर्देशनलाई उपत्यकाका तीनओटै जिल्ला र महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यान्वयन नै सुरु गरिसकेको छ । केही निर्देशन कार्यान्वयनका लागि भने रणनीति बनाउने काम भइरहेको छ ।

‘निर्देशनको कतिपय बुँदा कार्यान्वयन सुरु भइसक्यो, केहीमा वर्क आउट भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले राजधानीसँग भने । काठमाडौं प्रहरीले बुधबारबाटै सम्बन्धित एरियाका प्रहरीले क्यासिनोमा नेपाली प्रवेशलाई कडाइका साथ नियन्त्रण गरे÷नगरेको निगरानी गर्न अर्काे टोली खटाएको छ । उपप्रधान तथा गृहमन्त्री गौतमले पदवहालीमै क्यासिनो बन्द भए होस् तर नेपाली प्रवेश नहोस् भन्ने निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले पनि कडा नीति अख्तियार गरेको हो । महानिरीक्षकको सचिवालयले निर्देशन कार्यान्वयन भए÷नभएको आधारमा कार्यालय प्रमुखको कार्य सम्पादन मूल्यांकन हुने जनाउ पनि दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार