
काठमाडौं, १५ फागुन । राजधानीस्थित ‘आमाघर’ सञ्चालन गरी वृद्धवृद्धा र बालबालिकालाई आश्रय दिइरहेकी समाजसेवी दिलशोभा श्रेष्ठले आफूलाई नियतवश फसाइएको बताएकी छन् । यौन दुराचारकोे आरोप लागेकी श्रेष्ठले आफूले नखाएको विष नलाग्नेसमेत दाबी गरेकी छन् ।
बालबालिकामाथि यौन दुराचार गरेको भनेर आफूलाई जबर्जस्ती आरोप लगाएको भन्दै त्यसलाई पुष्टि गर्न श्रेष्ठले चुनौती दिएको समाचार राजधानी दैनिकले लेखेको छ । उनको ‘आमाघर’ बाट प्रहरीले बुधबार बिहान ३१ जना बालबालिकाको उद्धार गरेको थियो । त्यसपछि दिउँसो पत्रकार सम्मेलन गरी श्रेष्ठले उद्धार गरी लगेका बालबालिकालाई आफूले आश्रय दिएर राखेको र कहिल्यै पनि उनीहरूमाथि यौन दुराचार नगरेको जिकिर गरिन् ।
‘बालबालिकालाई आश्रय दिने कानुन थाहा नपाउँदा परिबन्दमा परें,’ उनले भनिन् । सो क्रममा उनले आफूमाथि लगाइएको यौन दुराचारको खण्डन गर्दै गलत काम गरेको भए त्यसको प्रमाण पेस गर्न चुनौती दिइन् । ‘मैले यौन दुराचार भनेको के हो बुझेको छैन र गरेको पनि छैन, त्यसको प्रमाण ल्याउन चुनौती दिन्छुु,’ उनले भनिन् ।
आफू व्यावहारिक कुरालाई बढी ध्यान दिने हँुदा उद्धार गरी लगिएका बालबालिकाबारे कानुन थाहा नपाएर गल्ती भएको पनि स्विकारिन् । ‘म भावनामा बग्ने मान्छे, कोही भोकै बसेको देख्न सक्दिनँ, त्यसैले ल्याएर राखें,’ उनले भनिन्, ‘वृद्धवृद्धा संरÔणका लागि आमाघर दर्ता गराए पनि कानुन नजानेर बालगृह सञ्चालनका लागि अनुमति लिनुपर्छ भन्ने थाहा भएन ।’
बाहिर आएको यौन दुराचार गरेको भन्ने अडियो टेप आमाघरमै कहिलेकाहीं आएर बस्ने ७९ वर्षीया एक आमासँग भएको टेलिफोन संवाद भएको उनको जिकिर थियो । ‘कहिलेकाहीं यहीं आएर बस्नुहुन्थ्यो, यहाँ आउन नसक्ने भएपछि घरमै गएर सेवा दिने विषयमा भएको कुराकानी हो,’ उनले भनिन्, ‘म झूटो बोल्दिनँ, उहाँले घरमै सेवा गर्ने मान्छे पठाइदिनु भन्नुभयो, मैले एकजना कर्मचारीलाई पठाइदिन्छु, सकेको पैसा दिनुहोला भनेको हो ।’
श्रेष्ठले ती महिला कालीमाटीतिरकी भएको पनि बताइन् । ‘कालीमाटी गणेशस्थानकी राधिका आमाको घरमै गएर बेलुका भात पकाइदिन र उहाँलाई सेवा दिन एकजना महिलालाई पठाइदिन्छु भनेर फोन गरेकी थिएँ,’ उनले भनिन्, ‘सेवाबापत १ हजार ५ सय रुपैयाँ दिनुहोला पनि भनेको हो ।’ तर, त्यसैलाई एकतर्फी बनाएर लान्छना लगाएको उनले दाबी गरिन् । ती वृद्धाले आमाघर सञ्चालनका लागि खर्च दिने भनेको उनले बताइन् ।
आमाघरबाट बालबालिका उद्धार
जिल्ला प्रशासन कार्यालय काठमाडौं र केन्द्रीय बालकल्याण समितिको संयुक्त टोलीले समाजसेवी श्रेष्ठको ‘आमाघर’ मा राखिएका ३१ जना बालबालिकाको उद्धार गरेको छ । बालगृह सञ्चालन गर्ने अनुमति नलिई बालबालिका राखेको भन्दै उनीहरूलाई उद्धार गरिएको हो । आमाघरमा रहेका बालबालिकालाई न्यूनतम आधारभूत आवश्यकतासमेत पूरा नगराई अत्यन्तै फोहोर र दुर्गन्धित घरमा राखेको जानकारी पाएपछि उद्धार गरिएको समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुसालले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र केन्द्रीय बालकल्याण समितिमा बालबालिकालाई स्कुल नपठाई घरेलु काममा लगाउने, धर्मपुत्र–पुत्रीका रूपमा विदेश पठाउने गरेको उजुरी परेपछि बुधबार संयुक्त टोलीले त्यहाँ रहेका बालबालिकालाई उद्धार गरेको उनले बताइन् । ‘हामीले उहाँलाई आमाघरको व्यवस्थापन सुधार्न धेरै पटक निर्देशन दिएका थियौं तर सुधार नगरेपछि उनीहरूको उद्धार गर्नुपरेको हो,’ भुसालले भनिन् । बालगृहको मापदण्डअनुसार कर्मचारीसमेत राख्न नसकेको हँुदा बच्चाको भविष्यलाई हेरेर उद्धार गरिएको उनको भनाइ थियो । उद्धार गरिएका ३१ बालबालिकालाई अर्को बालगृहमा लगेर राखिएको भुसालले बताइन् । ‘उनीहरूको परिवार खोजेर जिम्मा लगाउने तयारीमा छौं,’ उनले भनिन्, ‘परिवार पत्ता लगाउन नसकिएकालाई बालगृहमै राखेर पढाउने सोच बनाएका छौं ।’
प्रतिक्रिया
सम्बन्धित खवर
अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा
पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।
काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण