सरकारमा कांग्रेसका अनुभवी एमालेका नयाँ

१४ फाल्गुन २०७०, बुधबार ०६:१९ मा प्रकाशित

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले आफू निर्वाचित भएको १६ दिनपछि पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्ता साझेदार नेकपा एमालेका १० र कांग्रेसका नौ मन्त्रीलाई मंगलबार राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ खुवाई प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सो विस्तारसँगै कोइराला नेतृत्वको सरकार २१ सदस्यीय बन्न पुगेको छ । 

उपाध्यक्ष वामदेव गौतम नेतृत्वमा एमाले सरकारमा सामेल भएको हो । गौतमले वरिष्ठ उपप्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा शपथ लिएका छन् । यस्तै, कांग्रेस महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मा दिइएको छ । कोइराला नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री बनेका छन् । एमालेले एक मात्र उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री कोइरालालाई सुझाव दिएको थियो । तर, प्रधानमन्त्री निर्वाचित भएको दुई साता बितिसक्दा पनि उपप्रधानमन्त्रीकै विषयमा विवाद बढेपछि कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

नवनियुक्त उपप्रधानमन्त्री गौतमले उपप्रधान तथा गृह मन्त्रालयको नेतृत्व सम्हालेको तेस्रो पटक हो । गौतमले यसअघि लोकेन्द्रबहादुर चन्द नेतृत्वको संयुक्त सरकार र पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारमा पनि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्रीलाई आफ्नो तर्क राखेर सहमत गराई मन्त्रालयको नेतृत्व गर्ने क्षमतामा अब्बल मानिएका गौतम पार्टी नेतृत्वको सरकारमा भने हालसम्म अवसर पाएका छैनन् ।

यस्तै, अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री सिंह यसअघि नै पाँच पटक मन्त्री भइसकेका छन् । उनले यसअघि भौतिक योजना तथा निर्माण, स्थानीय विकास, वातावरण तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेका थिए ।

मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्रीसहित ११ र एमालेबाट उपप्रधानमन्त्रीसहित १० मन्त्री छन् । मन्त्रिपरिषद्मा कांग्रेस र एमालेबाट एक/एक गरी दुईजना महिलालाई समावेश गरिएको छ । प्रधानमन्त्री कोइरालाले चारओटा मन्त्रालय आफैंसँग राखेका छन् । कोइरालाले रक्षा, महिला बालबालिका तथा समाजकल्याण, शान्ति तथा पुनर्निर्माण र सहकारी तथा गरिबी निवारण मन्त्रालय आफैंसँग राखेका हुन् । सरकारमा आउन चाहने अन्य दलका लागि ती मन्त्रालय छुट्ट्याइएको हो ।

राप्रपा र नेकपा मालेले मंगलबार मन्त्रीको नाम नपठाएपछि सो पार्टीबाट कसैले पनि शपथ खाएनन् । राप्रपाले अध्यक्ष सूर्यबहादुर थापाका पुत्र सुनिल थापा र मालेले महासचिव सीपी मैनाली पत्नी निलम खड्कालाई सरकारमा पठाउने बताए पनि मंगलबार उनीहरूको नाम पठाएनन् । प्रधानमन्त्रीले राप्रपालाई वाणिज्य तथा आपूर्ति र मालेलाई विज्ञान तथा प्रविधि मन्त्रालय छुट्ट्याएका छन् । माले नेतृ खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय दिए मात्र शपथ खाने अडान राखेपछि मंगलबार उनको शपथ रोकिएको छ ।

सरकारको नेतृत्व गरेको कांग्रेसले मन्त्रिपरिषद्मा अनुभवी नेतालाई प्राथमिकता दिएको छ । कांग्रेसबाट पहिलो पटक तीन अनुहारले मन्त्री हुने अवसर पाएका छन् । पहिलो पटक मन्त्री हुनेमा कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य नारायण खड्का र मनाङका कांग्रेस सभापति टेकबहादुर गुरुङ छन् । कांग्रेसबाट आठजना प्रत्यक्षबाट निर्वाचित सभासद् मन्त्री भएका छन् भने दुईजना समानुपातिक सभासद् हुन् ।

प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा कांग्रेसका सभापतिसहित तीनजना पदाधिकारी छन् भने श्रम राज्यमन्त्री गुरुङबाहेक सबै केन्द्रीय सदस्य हुन् । जनआन्दोलन–२ पछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा यादवलाई जलस्रोतमन्त्री बनाइए पनि उनले सभामुख पाउनुपर्ने अडान राख्दै मन्त्री बन्न अस्वीकार गरेकी थिइन् । सिरहाकी यादव समानुपातिकबाट सभासद् भएकी हुन् ।

पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई भौतिक पूर्वाधारमन्त्री बनाइएको छ । धनुषा–३ बाट निर्वाचित निधिले यसअघि सामान्य प्रशासन, शिक्षा, सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका छन् । त्यस्तै, प्रधानमन्त्री कोइरालाले शपथ खाएकै दिन विनाविभागीय मन्त्रीमा नियुक्त डा। रामशरण महत अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । आफूलाई उपप्रधानमन्त्री नबनाइएको भन्दै महत मंगलबारको शपथ कार्यक्रममा उपस्थित भएनन् । उनी दुवै संविधानसभा निर्वाचनमा नुवाकोट–२ बाट विजयी भएका हुन् । महतभन्दा अघि नै अर्थमन्त्री भइसकेका महेश आचार्यलाई भने वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

३४ वर्षकै उमेरमा २०४८ सालमा अर्थ राज्यमन्त्री भइसकेका उनले दुई पटक अर्थमन्त्री र एक पटक परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनी मोरङ–६ बाट निर्वाचित भएका हुन् ।

२०६३ सालमा शिक्षामन्त्री निधिको मातहत रहेर शिक्षा राज्यमन्त्रीको अनुभव सम्हालिसकेका एनपी साउदलाई सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी २०४७ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । साउद कञ्चनपुर–२ बाट निर्वाचित सभासद् हुन् ।

त्यस्तै, केन्द्रीय सदस्यद्वय नरहरि आचार्य र  मीनेन्द्र रिजाललाई क्रमशः कानुन र सञ्चारमन्त्री बनाइएको छ । आचार्य काठमाडौं–५ बाट विजयी सभासद् हुन् । उनीसँग यसअघि पनि कानुन मन्त्रालय सम्हालेको अनुभव छ । जनआन्दोलनपछि बनेको सरकारमा रिजालले संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कांग्रेस प्रचार विभागका प्रमुखसमेत रहेका रिजाललाई सञ्चारमन्त्री बनाइएको हो । उनी समानुपातिकबाट सभासद् भएका हुन् । उनी र वनमन्त्री आचार्यको निर्वाचन क्षेत्र मोरङ–६ नै हो । यस्तै, अघिल्लो र दोस्रो संविधानसभा निर्वाचनमा लगातार उदयपुरबाट निर्वाचित डा। खड्कालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । उच्च अध्ययनका लागि क्यानाडा गएका खड्का कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री भएका बेला नेपाल आएका हुन् । कांग्रेसमा बौद्धिक नेताको छवि बनाएका खड्काको विदेशी कूटनीतिक नियोगसँग राम्रो सम्बन्ध छ ।

यसैगरी, वैदेशिक रोजगारी, पर्यटन र समाजसेवा क्षेत्रमा छुट्टै पहिचान बनाएका टेकबहादुर गुरुङलाई श्रम राज्यमन्त्री बनाइएको छ । कांग्रेसबाट सरकारमा जानेमा उनी मात्र केन्द्रीय कार्यसमिति बाहिरबाट पर्ने भाग्यमानी हुन् । उनलाई सुरुमा मन्त्रीकै रूपमा सिफारिस गरिए पनि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेताहरूले ‘वरिष्ठताक्रम’ मा असर पर्ने भन्दै असन्तुष्टि जनाएपछि उनलाई क्याबिनेट मन्त्रीकै हैसियतमा राज्यमन्त्री बनाइएको हो ।

एमालेले भने उपाध्यक्ष वामदेव गौतमसहित केही बाहेक सवै नयाँ अनुहारलाई मन्त्री बनाएको छ । एमालेले पोलिटब्युरो सदस्य खगराज अधिकारी, महेन्द्र पाण्डे, राधा ज्ञवाली, भीम आचार्य, कर्णबहादुर थापा, लालबाबु पण्डित, दलबहादुर राना, पुरुषोत्तम पौडेल र हरिप्रसाद पराजुलीलाई मन्त्री बनाएको छ । एमालेबाट मन्त्री हुनेमा गौतमसहित चार सभासद् छन् भने ६ जना गैरसभासद् हुन् । सभासद्लाई संविधान बनाउन जिम्मेवारी दिनुपर्ने भएकाले गैरसभासद्लाई सरकारमा पठाइएको एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री खगराज अधिकारी एमाले पोलिटब्युरो सदस्य हुन् । अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरी पृथ्वीनारायण क्यापसको स्ववियु सभापति भएका अधिकारी तीन दशकभन्दा लामो समयदेखि राजनीतिमा क्रियाशील छन् । २०५१ सालमा कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारी समानुपातिक सभासद्को सूचीमा रहे पनि पर्न सकेका थिएनन् ।

यस्तै, नवनियुक्त परराष्ट्रमन्त्री महेन्द्र पाण्डे एमालेभित्रका बौद्धिक नेता हुन् । विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा क्रियाशील पाण्डे एमाले पोलिटब्युरो सदस्य छन् । महेन्द्र रत्न क्याम्पस ताहाचलमा अंग्रेजीका सहप्राध्यापक पाण्डेले २०५१ सालमा एमाले अल्पमतको सरकार गठन गरेपछि अध्यापनबाट बिदा लिएका थिए । २०५६ सालमा नुवाकोट–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पाण्डे एमालेबाट संविधानसभा सदस्यका लागि समानुपातिक सूचीमा रहे पनि सभासद् छनोटमा परेका थिएनन् ।

नवनियुक्त ऊर्जामन्त्री राधा ज्ञवाली एमाले केन्द्रीय सदस्य हुन् । उनी एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा ऊर्जा राज्यमन्त्री नियुक्त भए पनि कनिष्ठहरू मन्त्री भइसकेकोमा भन्दै राज्यमन्त्रमा नबस्ने जनाई शपथ खान इन्कार गरेकी थिइन् । उनी एमाओवादी नेता डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा १३ दिन ऊर्जामन्त्री भई जिम्मेवारी सम्हालेकी थिइन् । पञ्चायतकालमा प्रवासदेखि नै राजनीतिमा सक्रिय ज्ञवाली एमालेबाट पहिलो अञ्चल सचिव भएकी महिला नेतृसमेत हुन् ।

यस्तै, नवनियुक्त पर्यटनमन्त्री भीमप्रसाद आचार्य विघटित संविधानससभामा एमालेका प्रमुख सचेतक हुन् । २०४१ सालमा अनेरास्ववियुको महासचिव निर्वाचित आचार्य गत निर्वाचनमा सुनसरी–६ बाट संविधानसभा सदस्यमा निर्वाचित आचार्य हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

नवनियुक्त सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित २०४८ सालदेखि लगातार चार पटकसम्म सांसद रहेका थिए । २०३६ सालको मजदुर आन्दोलन हुँदै मालेमा आबद्ध पण्डित सर्लाही निवासी भए पनि मजदुर आन्दोलनको कर्मभूमि मोरङलाई नै आङ्खनो राजनीतिक थलो बनाएका छन् । संविधानसभा निर्वाचनमा मोरङ–३ बाट पराजित भए पनि उनलाई मधेसी समुदायबाट मन्त्री बनाइएको हो ।

एमालेबाटै कृषिमन्त्री हुने हरि पराजुली अखिल नेपाल किसान महासंघका उपाध्यक्ष हुन् । उनी विगत ४० वर्षदेखि वाम राजनीतिमा क्रियाशील छन् । यस्तै, नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना अखिल नेपाल किसान महासंघका उपाध्यक्ष हुन् । राना यस पटक सभासद् नरहे पनि पाल्पा–१ बाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी, युवा तथा खेलुकदमन्त्री पुरुषोत्तम पौडेल एमाले खेलकुद महासंघका अध्यक्ष हुन् । अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका पौडेल बारा–६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पौडेलले पञ्चायतकालमा ठाकुरराम क्याम्पस वीरगन्जमा अनेरास्ववियुको नेतृत्व सम्हालेका थिए ।

उद्योग मन्त्रीमा नियुक्त कर्णबहादुर थापा बाजुराबाट निर्वाचित सभासद् हुन् । अनेरास्ववियुबाट राजनीतिमा उदाएका थापा एमाले केन्द्रीय सदस्यसमेत हुन् । २०४९ सालमा नेपाल ल क्याम्पसका सभापति थापा आठौं महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा