नियमविपरीत नोबेल कलेजलाई कोटा थपको स्वीकृति

१३ फाल्गुन २०७०, मंगलवार ०६:३७ मा प्रकाशित

काठमाडौं, १३ फागुन । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष श्रवणकुमार मिश्रले नियमविपरीत राजधानीस्थित नोबेल कलेजमा विद्यार्थी कोटा थप गर्न स्वीकृति दिएका छन् ।

परिषद्को कोटा थप गर्ने मापदण्डविपरीत अध्यक्ष मिश्रले सो कलेजलाई बीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) मा थप २० र बीएसी एमएलटी (ब्याचलर इन मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी) मा थप १० कोटाको स्वीकृति प्रदान गरेका हुन् । सो कलेजले यसअघि बीपीएचमा ४० र एमएलटीमा ३० जना विद्यार्थीलाई पढाउँँदै आएको थियो ।

२०६० सालमा परिषद्ले तयार गरेको मापदण्डमा कुनै पनि कलेजलाई ४० जनासम्मको कोटा पढाउन सक्ने अनुमति दिइने उल्लेख छ । तर, अध्यक्ष मिश्रले परिषद्को बैठकमा प्रस्ताव नै नलगी सो कलेजलाई मापदण्डविपरीत थप कोटा स्वीकृति दिएको तथ्य खुलेको हो ।

उनले ११ असोजमा पोखरा विश्वविद्यालयलाई पठाएको पत्रमा नोबेल कलेजले कोटा थप गर्न माग गर्दै पठाएको निवेदन ९ माघमा परिषद्ले प्राप्त गरेको र सोअनुसार १० असोजमा खटिएको निरीक्षण टोलीको प्रतिवेदनमा मापदण्ड पूरा गरेकाले कोटा थप गर्न स्वीकृति प्रदान गरिएको उल्लेख गरिएको छ । कोटा थप गर्न परिषद्को ऐन २०५३ को दफा २ को विद्यार्थी भर्नासम्बन्धी मापदण्ड पूरा भएको अवस्थामा परिषद् बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

तर, परिषद्को बैठकै नबसी मिश्र अख्यितार उल्लंघन गरी एकलौटी रूपमा कोटा थपी विश्वविद्यालयलाई जानकारी गराएको काउन्सिलका निवर्तमान रजिस्ट्रार धनप्रसाद पौडेलले जानकारी दिए ।

ऐनमा उल्लेख भएअनुसार परिषद्को निर्णयलाई रजिस्ट्रारले कार्यकारीको हैसियतमा पत्रमा हस्ताक्षर गरी पठाउनुपर्नेमा अध्यक्ष मिश्रले पत्रमा आफं हस्ताक्षर गरी विश्वविद्यालयलाई पत्र पठाएका छन् ।

नियमविपरीत आफंैले हस्ताक्षर गरी पत्र पठाएपछि काउन्सिलका पदाधिकारीहरू यस कार्यमा आर्थिक चलखेल भएको दाबी गर्दै आएका छन् । सो ऐनमा परिषद्को निर्णय कार्यान्वयन गर्ने जिम्मा रजिस्ट्रारलाई दिएको छ । उनले पठाएको पत्रबारे काउन्सिलमा जानकारी नभएको पौडेलले बताए ।

‘त्यो समयमा काउन्सिलको रजिस्ट्रार म नै थिएँ, नोबेल कलेजले कोटा थप गर्न पाउँ भनी पठाएको पत्र दर्ता नै भएको छैन,’ उनले भने, ‘अध्यक्ष परिषद्का सदस्यहरूलाई समेत झुक्याएर सो कलेजलाई अनुमतिको दिनुभएको रहेछ ।’

परिषद्को पत्रकै आधारमा पोखरा विश्वविद्यालयले परिषद्को विद्यार्थी भर्नासम्बन्धी मापदण्ड नै नहेरी २४ मंसिरमा सो कलेजलाई थप विद्यार्थी पढाउने अनुमति प्रदान गरेको छ । विश्वविद्यालयको लापरबाहीका कारण कोटा थप गरिएका विद्यार्थीहरूको भविष्य भने अन्योलमा परेको छ ।

कलेजका प्रिन्सिपल कमल रेग्मीले आफूहरूले कोटा थप गर्न काउन्सिल र विश्वविद्यालयमा निवेदन दिएको र सोहीअनुसार दुवै ठाउँबाट पत्र पाएपछि थप विद्यार्थी भर्ना गरिएको बताए । ‘हामीले कोटा थप गर्न माग गरेका थियौं,’ उनले भने, ‘परिषद्ले विश्वविद्यालयलाई पठाएको बोधार्थ पनि पाएका छौं र विश्वविद्यालयले कोटा थप गरिएको पत्र पनि दिएको छ, हामीले त्यहीअनुसार विद्यार्थी भर्ना गरेका हौं ।’

उनले आफ्नो कलेजको तर्फबाट परिषद्मा पत्र पठाएको स्विकारे । ‘हामीले परिषद्मा पत्र पठाएका हौं, त्यहीअनुसार स्वीकृति पनि पाइसकेका छौं,’ उनले भने, ‘कसैको राजनीतिक स्वार्थ छ भने हामी जान्दैनौं, हाम्रा विद्यार्थीहरूले नियमित पढिरहेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण