अज्ञात रोगका कारण हजारौं कुखुरा सखाप

१३ फाल्गुन २०७०, मंगलवार ०६:३३ मा प्रकाशित

खोटाङ, १३ फागुन । अज्ञात रोगका कारण खोटाङमा पालिएको लोकल कुखुरा सखाप भएका छन् । दाना नखाने, झोक्राउने, सेतो छेर्ने, टाउको बांगो हुने, तन्किनेलगायतका लक्षण देखिने रोगका कारण कुखुरा सदरमुकाम दिक्तेललगायत आसपासको गाविसका कृषकले पालेका कुखुरा मरेका हुन् ।
एक सातादेखि एक्कासि देखा परेको रोगका कारण खोर नै रित्तो बनेको दिक्तेलका कुखुरा व्यवसायी गुणराज सैंजूले बताए । उनले भने, ‘भेटेनरीबाट खोप लगाइएको कुखुरा त झनै एउटै रहेनन् ।’ उनका अनुसार एउटै इन्जेक्सन सबै कुखुरामा लगाइएकाले यस्तो भएको हो ।
व्यवसायीका अनुसार कुखुरामा लक्षण देखा परेको दुई दिनमै कुखुरा मर्ने गरेका छन् । सुरुमा दिक्तेल–१ स्थित हाटडाँडा क्षेत्रमा देखा परेको रोग क्रमशः सदरमुकामका अन्य क्षेत्रमा फैलिन थालेको छ ।
कुखुरामा रानीखेत लागेको आशंकामा जिल्ला पशुसेवा कार्यालयले खोप दिएपछि कुखुरा मर्ने क्रम झन् बढेको कुखुरा व्यवसायीको गुनासो छ । स्वस्थ र बिरामी कुखुरामा एउटै इन्जेक्सन प्रयोग गरिएका कारण रोगको महामारी अन्य कुखुरामा सर्दै गएको उनीहरूको आरोप छ ।
कुखुरामा रानीखेत लागेको आशंकामा दिक्तेलका हजारभन्दा बढी कुखुरालाई रानीखेतविरुद्धको खोप दिइएको जिल्ला पशुसेवा कार्यालय खोटाङले जनाएको छ । स्वस्थ कुखुरालाई दिनुपर्ने खोप बिरामी कुखुरालाई पनि दिइएकाले कुखुरा मर्ने क्रम बढेको हुन सक्ने पशुसेवा कार्यालयको अनुमान छ । रोगका कारण सदरमुकाम दिक्तेल, राजापानी, बुइपा, बाम्राङ, खाल्ले, लङ्खयाङलगायत गाविसमा गरी हजारौं कुखुरा मरेको कृषकहरूको भनाइ छ । राजापानीका किसानले पालेका कुखुरामा समेत रोग देखा परेको जनाइएको छ । अहिलेसम्म कुखुरामा देखा परेको रोगको स्पष्ट पहिचान नभएको कार्यालयका नायव सुब्बा ध्रुव कार्कीले बताए ।
खोटाङमा लोकल कुखुरा प्रतिकेजी साढे ५ सयमा बिक्री हुन्छ भने ब्रोइलर ४ सय ३० रुपैयाँमा बिक्री हुने गरेको कुखुरा व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९