प्रधानमन्त्रीलाई आफ्नै कोटाको मन्त्री छान्न सकस

१३ फाल्गुन २०७०, मंगलवार ०६:०३ मा प्रकाशित

काठमाडौं, १३ फागुन । सत्ता साझेदार एमालेसँगको सहमतिपछि सोमबार नै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री सुशील कोइरालाको योजना पुनः विफल बनेको छ । पार्टीभित्र मन्त्री हुने आकांक्षी र आफ्नै समूहबाट समेत चर्काे दबाब परेपछि निर्णय लिन नसकी प्रधानमन्त्री कोइरालाले मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् । 

कांग्रेस र एमालेबीच आइतबार मात्र गृह मन्त्रालयको विवाद समाधान भएको थियो । मन्त्रिमण्डलमा पठाउने सदस्यको नाम छनोट गर्न एमालेले जारी केन्द्रीय कमिटी बैठक नै स्थगित गरी गृहकार्य गरे पनि सोमबार रातिसम्म प्रधानमन्त्रीलाई नाम बुझाएको छैन । कांग्रेसमा पनि संस्थापन पक्षमै चर्काे विवाद देखिएको छ ।

यद्यपि, आज (मंगलबार) सत्ता साझेदार दल एमालेसँग भएको सहमतिअनुसार दुवै दलले १०/१० जनालाई मन्त्रालयको नेतृत्व दिएर मन्त्रिमण्डल विस्तार गर्ने योजना रहेको बालुवाटार स्रोतले बताएको छ । दुई दलका वार्ताटोलीबीच भएको सहमतिअनुसार कांग्रेसले अर्थ, भौतिक पूर्वाधार तथा यातायात, स्थानीय विकास, सञ्चार, शिक्षा, वन तथा भू–संरक्षण, सहरी विकास, श्रम र कानुन तथा न्याय मन्त्रालय पाउनेछ । रक्षा र शान्ति तथा पुनर्निर्माण मन्त्रालय भने हाललाई प्रधानमन्त्री कोइराला आफैंले राख्ने भएका छन् ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने आफ्नो तर्फबाट कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्री विमलेन्द्र निधि, एनपी साउद र टेकबहादुर गुरुङको नाम प्रधानमन्त्री कोइरालालाई दिइसकेका छन् । तर, संस्थापन पक्षले विनाविभागीय मन्त्री डा. रामशरण महतलाई मन्त्रालयको जिम्मेवारी दिने र थप पाँचजनाको नाम चयन गर्न सकेको छैन । विगतकै ६०/४० प्रतिशतको राजनीतिलाई निरन्तरता दिँदै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले मन्त्रिमण्डलमा नेता देउवाको सिफारिसमा ४० प्रतिशतलाई समावेश गर्ने भएका छन् ।

कांग्रेसले महामन्त्री प्रकाशमान सिंहलाई भने उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिने योजना बनाएको छ । पार्टी पदाधिकारीसहित वार्ताटोलीका सदस्यहरूबीच सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलपछि कोइराला सिंहलाई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिन तयार भएका हुन् । बालुवाटार स्रोतका अनुसार डा. महतबाहेक संस्थापन पक्षबाट चारजनाको नाम छनोट गर्न सभापति कोइरालालाई सकस परेको छ ।

केन्द्रीय सदस्यसहित एक दर्जन सभासद्हरू मन्त्रीको आकांक्षी र दाबेदार बनेपछि चारजना मन्त्रीका लागि नाम छनोट गर्न कोइरालालाई चुनौती थपिएको हो । चार मन्त्रीका लागि अर्जुननरसिंह केसी, डा. नारायण खड्का, फर्मुल्लाह मन्सुर, कमला पन्त, हृदयराम थानी, डा. मीनेन्द्र रिजाल, महेश आचार्य, दिलबहादुर घर्तीमध्ये कसलाई सरकारमा ल्याउने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।

मन्त्री चयनको विषयमा सोमबार दिउँसोदेखि नै प्रधानमन्त्रीनिवास बालुवाटरमा कांग्रेसका पदाधिकारी, संसदीय बोर्ड र प्रभावशाली नेताहरूबीच छलफल भएको थियो । सोमबार रातिसम्म चारजना मन्त्रीको नाम छनोट हुन नसकेपछि कांग्रेस नेताहरू मंगलबार बिहान बैठक बस्ने गरी प्रधानमन्त्रीनिवासबाट बाहिरिएका थिए ।

मंगलबार बिहान बस्ने कांग्रेस बैठकले मन्त्री हुनेको नाम छनोटसँगै आफ्नो भागमा परेको मन्त्रालयको जिम्मेवारी पनि दिने कांग्रेस उच्च स्रोतले बतायो । सोमबार राति अबेरसम्म पनि कांग्रेस संस्थापन पक्षभित्र सहमति जुट्न सकेको छैन । स्रोतका अनुसार सभापति कोइरालालाई उपसभापति रामचन्द्र पौडेलदेखि सबैले आफ्नो भागमा पनि मन्त्री पर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

पौडेलले त दुई मन्त्री आफ्नो भागमा पाउनुपर्ने भन्दै दबाब दिएको बालुवाटार स्रोतले बतायो । सोही कारण कोइरालाले मन्त्री हुनेको नाम छनोट गर्न नसकेको स्रोतले बतायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले