५ करोड बढीको अवैध लागूऔषध बरामद

१२ फाल्गुन २०७०, सोमबार ०६:२७ मा प्रकाशित

काठमाडौं, १२ फागुन । नेपाल प्रहरीले ५ करोडभन्दा बढी मूल्य बराबरको अवैध लागूऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले कोकिनसहित नामिबियाली नागरिक रेमन्ड जुन्गु ओपेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

दुबई हुँदै नेपाल आएका राहदानी नम्बर ००६१२१९ बाहक ओपेलले हयान्ड ब्यागेजमा लुकाइराखेको अवस्थामा सो मूल्य बराबरको अवैध लागूऔषध कोकिन फेला परेको हो । प्रहरीका अनुसार उनको साथबाट ४५ ओटा तथा प्लास्टिक कोटेड क्याप्सुल ७ सय ६५ ग्राम बरामद भएको छ । उनलाई एक साताअघि नै पक्राउ गरेको भए पनि प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको  छ ।

उनले पेटभित्र समेत कोकिनको प्लास्टिक कोटेड क्याप्सुल ल्याउन सक्ने शंकाका आधारमा सोही दिन राति प्रहरी अस्पताल महाराजगन्जमा भर्ना गरी उपचार विधिबाट ८ फागुनसम्म १० पटकमा गरी १ सय १२ थानमा १ हजार ९ सय ४ ग्राम गरी कुल २ किलो ६ सय ६९ ग्राम प्लास्टिक कोटेड लागूऔषध कोकिन बरामद भएको थियो ।

बरामद कोकिन नेपालमा हालसम्म बरामद भएको सबैभन्दा ठूलो परिमाणको भएको र यसको अन्तर्राष्ट्रिय मूल्य ५ करोड ३३ लाख ८० हजार हुन आउने ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रतापसिंह थापाले बताए ।

ओपेल दुईचोटि मोजाम्बिक, दक्षिण अफ्रिका र स्वाजिल्यान्ड पुगेको प्रहरीले जनाएको छ । उनी मोजाम्बिकबाट ब्राजिल, दुबई हुँदै काठमाडौंसम्म आइपुगेका हुन् । प्रहरीका अनुसार तीन महिनाको अनुसन्धानपछि बल्ल उनी पक्राउ परेका हुन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार केही समयदेखि नै कोकिन नेपाल भित्रने सूचना प्राप्त भएको थियो ।

तर, कहिले आउँछ भन्ने यकिन सूचना नभएसम्म विमानस्थलमा खटिएका प्रहरी सधैं फोस्रो हात लगाएर फर्कने गरेका थिए । ६ फागुनमा भने शंकास्पद व्यक्ति फेला परेपछि पक्राउ गरी सीधै प्रहरी अस्पताल लगेका थिए । प्रहरीले यति ठूलो परिमाणमा कोकिन बरामद गरेको यो पहिलो पटक हो ।

प्रहरीले उनी भरिया मात्रै भएको दाबी गरेको छ । ‘हामीलाई यत्रो दिन पेटमा भएको क्याप्सुल निकाल्न समय लाग्यो, अब अनुसन्धानमा लाग्नेछौं,’ डीआईजी थापाले भने । ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रणबहादुर चन्दका अनुसार उनको अन्तर्राष्ट्रिय सञ्जाल भएको पाइएकाले इन्टरनेसनल नेटवर्कमा पनि अनुसन्धान गरिने जानकारी दिए । उनी पहिलो पटक नेपाल आएका हुन् ।

एसएसपी चन्दका अनुसार ब्राजिलबाट निलेर ल्याएको सो क्याप्सुल मलद्वारबाट ४५ ओटा दुबईमा निस्केपछि झोलामा ल्याएका थिए । बाँकी सयओटा भने उनकै पेटमा भएकाले त्यो नेपालमा औषधिका सहायताबाट निकालिएको प्रहरीले जनाएको छ । उनले ल्याएको सो कोकिन नेपालमा खपत हुँदैन ।

‘यसको बजार भनेको युरोपियन मुलुक हो, तर उसले केही बोलेको छैन,’ एसएसपी चन्दले भने । यसैगरी, सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत काठमाडौंबाट दोहा हुँदै बेल्जियम जान लागेका फ्रान्सेली नागरिक ०९ एचपी ५२१२२ नम्बरका राहदानी बाहक ग्लान क्रिस्टोफ अगस्टिनलाई पक्राउ गरेको छ । उनलाई झोलाभित्र फल्स बटम बनाई ६ ओटा डायरीमा टेपले -यापिङ गरी १० ओटा पाताभित्र लुकाइराखेको २ किलो २ सय २० ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि