प्रधानमन्त्रीले सहमति तोडेको देउवाको दाबी

११ फाल्गुन २०७०, आईतवार ०६:४१ मा प्रकाशित

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि मन्त्रिमण्डल विस्तारका विषयमा धोकाधडी गरेको आरोप लागेको छ ।

कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री कोइरालाले आफूसँग गरेको सहमति आधा घन्टामै उल्लंघन गरेको बताएका हुन् ।

सत्ता साझेदार एमालेले सहमतिबमोजिम प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालय आफूहरूलाई नदिएको भन्दै सरकारमा सहभागी हुन इन्कार गरेपछि पार्टीबाटै केहीलाई मन्त्रिमण्डलमा राख्ने निष्कर्षमा कोइराला पुगेका थिए । नेता देउवाको सिफारिसमा तीनजनालाई मन्त्री बनाउने भनी उनीसँग शुक्रबार सहमति गरेका कोइरालाले करिब २० मिनेटपछि नै धोका दिएको दाबी गरिएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति कोइरालासँग सरकार विस्तारको सम्बन्धमा शुक्रबार भएको वार्ता र सहमतिको विषयमा शनिबार आपूनिकटका केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफलमा देउवाले यस्तो जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री कोइरालाले नेता देउवालाई पहिले नौजना कांग्रेसबाट मन्त्री थपिने र त्यसमा चारजनाको नाम दिनोस् भन्नुभयो,’ नेता देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘पछि सातजना मात्र थपिने भएकाले तीनजनाको मात्र नाम माग्नुभयोे र मैलै सहमति गरें, तर त्यो सहमति कार्यान्वयन गर्न सक्दिनँ भनेर २० मिनेटमै धोका भयो ।’

नेता देउवाले हालको मन्त्रिमण्डलमा कांग्रेसबाट थपिने सातजनामा तीनजना आङ्खना सिफारिसमा परेकालाई राख्ने भनेर बालुवाटारमा सहमति गरेर निवास बूढानीलकण्ठ फर्किएको २० मिनेटमै तोडिएको गुनासो गरेका थिए ।

प्रधानमन्त्री कोइरालाले मन्त्रिमण्डलमा थपिने सात मन्त्रीमा देउवाको सिफारिसमा तीनजनालाई राख्न नसकिने भन्दै दुईजनाको मात्र नाम सिफारिस गर्न आग्रह गरेका थिए ।

देउवाले एमालेले सरकारलाई असहयोग ग-यो भन्ने देखेर आफूले सरकारलाई सहयोग गरे पनि प्रधानमन्त्री कोइरालाले कमजोर ठानेर पेल्ने गरेको गुनासो गरेका थिए । उनले मन्त्रिमण्डलमा कति मन्त्री हुने, कुन–कुन दल सहभागी हुने, कांग्रेसले कति र कुन–कुन मन्त्रालय पाउने भनेर जिज्ञासा राख्दासमेत सभापतिले सबै विषय गुपचुप राखेको दाबी गरेका थिए । आपूले सिफारिस गरेकालाई कुन मन्त्रालय दिने भन्ने विषयमा कोइरालाले जानकारी नदिएको भन्दै देउवाले अब कोइरालालाई मन्त्री हुनेहरूको नाम सिफारिस नगर्ने विचार राखेका थिए ।

प्रधानमन्त्री कोइरालाको व्यवहारबाट आक्रोशित बनेका देउवाले ‘पार्टीभित्रै भएको सहमतिलाई कार्यान्वयन गर्न नसक्ने कोइरालाले सत्ता साझेदार दल एमालेसँग गरेको सहमति कार्यान्वयन हुन्छ भन्नेमा आफूलाई विश्वास छैन’ भनेर टिप्पणी गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको हालैको बैठकले सरकारमा सहभागी हुने पार्टी प्रतिनिधिको नाम चयन गर्दा संसदीय बोर्डमा सहमतिको आधारमा चयन गर्ने मापदण्ड तय गरेको थियो ।

केन्द्रीय कार्यसमितिको मापदण्डबमोजिम संसदीय बोर्डले सरकारमा जाने पार्टी प्रतिनिधिको नाम चयन गर्ने अधिकार पार्टी सभापति कोइराला, नेता देउवा र उपसभापति रामचन्द्र पौडेललाई दिएको थियो । शुक्रबारसम्ममा एमाले सरकारमा सहभागी नभए कांग्रेसबाट केही प्रतिनिधि राखेर भए पनि सरकार विस्तार गर्ने निष्कर्षमा पुगेका कोइरालाले संसदीय बोर्डको बैठकमा समेत सहमति जुटाउन नसकेपछि सरकार विस्तारको योजना असफल भएको थियो ।

शुक्रबार गर्ने भनिएको सरकार विस्तार गर्न नसकेका कोइरालाले सत्ता साझेदार दल एमालेको केन्द्रीय समितिको शनिबारको बैठकसम्म पर्खने भन्दै मन्त्रिमण्डल विस्तार गर्ने योजनाबाट पछि हटेका थिए । शनिबार भएको एमाले बैठकले पनि गृह मन्त्रालय नपाए कोइराला नेतृत्वको सरकारमा सहभागी नहुने निष्कर्ष निकालेपछि सरकार विस्तारको योजना असफल भएको थियो ।

पार्टीभित्र देखिएको समस्यालाई सुल्झाउने उद्देश्यले प्रधानमन्त्री कोइरालाले उपसभापति पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि शनिबार परामर्श गरेका छन् । शनिबार साँझसम्म केही संख्यामा भए पनि सरकार विस्तार गर्ने भनेका कोइरालाले त्यस विषयमा थप निर्णय गर्न भने सकेनन् । सरकारमा पार्टीबाट जाने प्रतिनिधिको नाम तीन शीर्ष नेताले चयन गरे पनि संसदीय बोर्डबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।

‘आइतबार साँझसम्म मन्त्रिमण्डल विस्तार’

नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले आइतबार साँझसम्म मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

‘आइतबार साँझसम्म सकेसम्म सबै दललाई मिलाएर मन्त्रिमण्डल विस्तार हुन्छ,’ खड्काले राजधानीसँग भने । नेता खड्काले मन्त्रिमण्डल विस्तारको विषयमा नेकपा एमालेलगायतका अन्य साना दलसँग पनि कुराकानी भइरहेको जानकारी दिए । सत्ता साझेदार एमालेसहित राप्रपा, नेकपा मालेलगायतका पार्टी नेतृत्वसँग मन्त्रिमण्डल विस्तारको विषयमा शनिबार अबेर रातिसम्म कांग्रेस नेताहरूले विभिन्न चरणमा वार्ता र छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी